arrow

एकताले मात्रै संविधान कार्यान्वयन सम्भव छ : नेता सिटौला

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Krishna-prasad-sitoula-sitaula.jpg.jpeg
म्याग्दी । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकताले मात्रै नयाँ संविधानको कार्यान्वयन सम्भव रहेको बताउनुभएको छ । प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटमा उहाँले मुख्य दलहरुबीचको सहकार्यले मात्रै नयाँ संविधान जारी भएकाले संविधानको सहज कार्यान्वयनका लागि दलहरुबीच राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभयो । 
 
स्थानीय निकाय, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभालगायत निर्वाचन सम्पन्न गरेमा मात्रै मुलुकमा राजनीतिक पद्धति स्थापित हुने भएकाले पहिलो चरणको संविधानको कार्यान्वयनसम्म दलहरुबीचको सहकार्य र एकता आवश्यक हुने उहाँको भनाइ थियो । “संविधानमा जहाँ त्रुटि छन्, त्यहाँ आवश्यकताअनुसार संशोधन गरी अगाडि बढ्ने हो, ऐन कानुनदेखि प्रदेशको संरचना निर्माणमा सबै दल मिलेरै अगाडि बढ्नुपर्छ, कुनै पार्टी विशेषबाट मात्रै यी काम सम्भव छैन”– महामन्त्री सिटौलाले भन्नुभयो । 
 
संविधान संशोधनको लागि व्यवस्थापिका–संसद्मा प्रस्ताव दर्ता भएको बताउँदै उहाँले मधेस केन्द्रित दलले उठाएका माग संवादबाटै सम्बोधन हुने बताउनुभयो । सरकारका कामकारबाही प्रभावकारी नभएपनि काँग्रेस सरकार गिराउने खेलमा नलागेको बताउँदै उहाँले भूकम्पपछि राहत र पुनर्निर्माणमा सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभयो । “चिसोबाट भूकम्पपीडितले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद हो, सहमतिमै पुनर्निर्माण प्राधिकरणको विधेयक पास भएको छ, पीडितलाई राहत पुग्ने गरी राहत र पुनर्निर्माणका कामलाई अगाडि बढाउनुपर्छ”– महामन्त्री सिटौलाले भन्नुभयो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ