प्राध्यापक नियुक्तिको विषय अख्तियारमा, नियुक्ति कार्यान्वयन नगरिने
ईश्वर दत्त बडू
प्रकाशित २०७४ साउन १० मंगलबार
761
Shares
कञ्चनपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा प्राध्यापक नियुक्तिमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी परेको हो । नियुक्ति खारेजीको र दोषीलाई कार्बाहीको माघ राख्दै अख्तियारमा उजुरी परेको छ ।
प्राध्यापक नियुक्तिमा अनियमितता भएको विषयमा छानबिन गरिने अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय कञ्चनपुरले जनाएको छ ।
विद्यार्थी संघ र अखिल क्रान्तिकारीले अवैधानिक नियुक्ति खारेजीको माग राख्दै आइतबार गरेको ताला समेत खोलिएको नेवि संघका गोरख रौलेले बताए ।
यसैबीच क्याम्पसमा नियुक्त गरिएका प्राध्यापक डिल्ली प्रशाद खरेलको नियुक्ति तत्काललाई कार्यान्वयन नगर्ने विज्ञान क्याम्पसले जनाएको छ ।
सोमबार विज्ञानका निमित्त प्रमुख बिमला शाक्यको अध्यक्षतामा बसेको बैठकले क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनले नियुक्तिको बिरोध गरेको तथा प्राध्यापकमा नियुक्ति पाएका खरेलले नियुक्ति नबुझेकाले उक्त नियुक्ति कार्यान्वयन नगर्ने क्याम्पसले निर्णय गरेको हो ।
यसैगरी विभिन्न विद्यार्थी संघ संगठनले प्रकृया मिचेर पा्रध्यापक नियुक्त गरिएको भन्दै विरोध जनाएका छन् । उनीहरुले विज्ञापन नै नगरी प्रकृया मिचेर मनपरी गरेको आरोप लगाएका छन् ।
खरेलाई मिति २०७४ साउन ८ मा रसायन विज्ञान विषयको आंशिक प्राध्यापकमा नियुक्त गरेको बिरोधमा आइतबार नेवि संघ र अखिल क्रान्तिकारीले आईतबार तालाबन्दी गरेका थिए ।