काठमाडौं। नेपाल प्रेस युनियनले यसअघि सरकारले गठन गरेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानलाई यथाशीघ्र पूर्णता दिई कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
सञ्चारकर्मीलाई दक्ष र सीपयुक्त बनाउन आवश्यक प्रतिष्ठान गठन भएको लामो समय भइसक्दा पनि कार्यान्वयनमा नआएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै युनियनको आज बसेको सचिवालय बैठकले प्रतिष्ठान कार्यान्वयनको माग गरेको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।
बैठकले युनियनका केन्द्रीय सदस्य अवधेश झामाथि समाचार सङ्कलनका क्रममा भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गर्दै सञ्चारकर्मीका लागि निर्बाध रुपमा समाचार सङ्कलनको वातावरण बनाउन सबै पक्षसँग माग गरेको छ ।बैठकले युनियनको आगामी केन्द्रीय समितिको बैठक यही पुस २९ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।