arrow

दुर्बल शासकको घातक अवगुण : छिमेकीलाई ढुंगा

परराष्ट्र सम्बन्धको प्राकृतिक शुत्र ‘जाइ कटक नगर्नु झिकी कटक गर्नु’

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
PrithviNarayan-Shah.JPG.jpeg
काठमाडौं । संविधान जारी गर्ने वातावरण तयार भए देखि असोज ३ सम्मको राजनीतिक विकास क्रम र असोज ३ पछी धमिलिएको राजनीति तथा परराष्ट्र सम्बन्धबारे निकै तर्क वितर्क भइरहेका छन् । स्वभाविक तर्ककाबीच नेपालको परराष्ट्र सम्बन्ध अस्वभाविक बन्ने खतरा बढेको छ । संविधान जारीपछी असन्तुष्ट बनेको छिमेकी भारत नेपालको पछिल्लो व्यवहार ठिक नभएको प्रतिक्रिया दिइरहेको छ। छिमेकी भारतले नेपालमा भारतविरोधी गतिविधि बढेकोमा चिन्ता जनाउँदै आएको छ । परनिर्भर नेपाल आत्मनिर्भर बन्नुपर्ने स्वर उठ्दै गएपछि भारतविरोधी गतिविधि बढेका हुन् । जसले परराष्ट्र सम्बन्धमा असर गरिरहेको बाहिरी विश्लेषण छ ।
 
भित्रि रुपमा भारतीय प्रधानमन्त्रीले तीन पटक सम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बन्ध सुधारका लागि भारत भ्रमणको निम्तो दिइसकेका छन् । ओलीको औपचारिक भ्रमण भारतबाटै हुने भन्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा बारम्बार कुर्लिरहेका छन् । भित्रभित्रै ओलीको चिन भ्रमणको तयारी समेत भइरहेको छ । संविधान निर्माणपछि भारतले असहयोग गरेको भन्दै आत्मनिर्णयको मसला बेचिरहेका प्रधानमन्त्री ओली नेपाल–भारत सीमाको समस्या हटाउन सकिरहेका छैनन् । जो असफल प्रधानमन्त्रीको सूचीमा पर्ने खतरा बढिसकेको छ । सरकारको आन्तरिक किचलोमा फसेका ओलीले सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री थापालाई दौडाइरहेका छन् । आफु तत्काल भ्रमणमा नजाने अडान राखिरहेका छन् । उनलाई भ्रमण महंगो परिरहेको छ । हाल सम्म न भ्रमण तय भएको छ । न समस्या समाधान । ओलीले छिमेकी समकक्षीलाई समस्या समाधानपछी मात्रै भ्रमणमा आउने बचन दिएका छन् । सत्तागठबन्धनको भित्रि दबाब झेलिरहेका ओलीलाई दुई छिमेकीसंगको सम्बन्ध जिस्तारका लागि निकै अफ्ठ्यारो परेको छ ।
 
परराष्ट्रमन्त्री हरेक कार्यक्रममा प्रधानमन्त्रीको भ्रमणबारे जोड–तोडले बोलिरहेका छन् । जसले भ्रमण नै सम्बन्ध सुधार गर्ने मूल शुत्र हो भन्ने जनाउ दिन्छ । तर, व्यवहारतः त्यसो हुन सकेको छैन । सरकार प्रमुख अर्थात् सत्ताधारीहरुले छिमेकीलाई चिडाउने खालका अभिव्यक्ति प्रहार गरिरहेकै छन् । जो राष्ट्र निर्माता एवं नेपाली दिव्य दर्शनका प्रवर्तक पृथ्वीनारायण शाहको ‘जाइ कटक नगर्नु झिकी कटक गर्नु’ को विदेश नीति विपरित हो । परराष्ट्र सम्बन्धमा उत्पन्न हुन लागेको दरार हटाउन पृथ्वीविचार महत्वपूर्ण मार्ग निर्देश हो । 
 
संयुक्त राष्ट्रसंघले दर्शाएको मानविय संकट  
विश्व शान्तिका लागि आवश्यक अनाक्रमणको नीति 
संयुक्त राष्ट्रसंघले लामो समयको मधेस आन्दोलन र नाकाअवरोधले राष्ट्रलाई निकै घाटा भएको र असज परिस्थितिले मानवीय संकट निम्तिने खतरा रहेको बारम्बार औंल्यायो । मानवीय संकट उत्पन्न हुनेबारे राष्ट्रसंघले सम्झाउनु पर्ने तथा आन्तरिक समस्या समाधानका लागि आत्मनिर्णयको अभ्यास हुन नसक्नु नेपाली दर्शन विर्सनुको चरम उदाहरण हो । नेपाली राजनीतिज्ञ र राज्यका हरेक निकाय पृथ्वीविचारलाई विश्वव्यापीकरण गर्ने तर्फ गम्भिर बन्न सकेका छैनन् । जसको महत्व बुझ्न नसकेको नेपाली समाज बारम्बार विकास लक्ष्यमा चुकिरहेको छ । त्यति मात्र होइन, राष्ट्र गरिब मूलुकको सुचीको अग्रपंक्तिमा देखिन थालेको छ । विकासशील राष्ट्र सामू पृथ्वीविचारको ‘सीप र प्रविधि सिकाऊ दक्ष नागरिक बनाऊ’ भन्ने सदुउक्तिको उपहास भइरहेको छ । विश्वभर पछिल्लो समय हिंसा भड्किएका छन् । अतिवादी र आतंकवादी संगठनहरु विश्व शान्तिको प्रमुख चुनौती बनिरहेका बेला पृथ्वीविचार विश्व जगतमा पुग्नु पर्दछ । पृथ्वीविचार विश्वमा युद्ध भड्किन नदिन शान्तिको बलियो वैचारिक अस्त्र हो ।
 
पृथ्वीविचारले अघि सारेको परराष्ट्रनीतिलाई हरेक राष्ट्रले पालना गर्ने हो भने विश्वमा कँही कतैपनि अनावश्यक युद्ध भड्किन पाउँदैन । नागरिक स्वतन्त्रताका लागि आवश्यक युद्ध गरेका पृथ्वीनारायण शान्तिका प्रवर्तक पनि हुन् । पृथ्वीनारायणको झिकी कटकको नीति नेपालले छिमेकी देशप्रति लिनुपर्ने विदेश नीतिसम्बन्धि निर्देशक विचार हो । यो नेपाल मात्र नभई हरेक राष्ट्रले पालन गर्नुपर्ने विदेश–नीति र सहसम्बन्धको मेरुदण्ड हो । यति सम्म कि यो नीति अख्तियार गर्ने हो भने संयुक्त राष्ट्रसंघले युद्ध सम्बन्धि कुनै पनि प्रस्ताव पारित गर्नु पर्ने परिस्थिति नआउन सक्छ । जहाँ पृथ्वीविचार संयुक्त राष्ट्रसंघको परिकल्पना भन्दा कयौं जेठो र महान् छ–भन्ने प्रस्ट हुन्छ । अनाक्रमणको परराष्ट्रनीति युद्धविरोधी अनाक्रमण परराष्ट्र सिद्धान्त हो । जसले छिमेकीमाथि जाइलाग्ने र गाली गर्ने प्रवृति अपराजित मानसिकता होइन, पराजित मानसिकता हो भन्ने प्रष्ट्याएको छ । नेपाली वौद्धिक जमात अनाक्रमणको नीति उन्मुख हुनु पर्दछ । युद्धविरोधी आत्मरक्षाको अनाक्रमण पराराष्ट्र सिद्धान्त अवलम्बन गर्नै पर्दछ । यो आक्रमण निषेध र आक्रमणकारीलाई धपाउने उपयुक्त विश्व शान्तिको सर्वमान्य सिद्धान्त हो । जाइ कटक नगर्नुको महत्व बुझेर नै पञ्चशीलको सिद्धान्त पारित गर्ने इन्डोनेसियाको वाङडुङ सम्मेलनमा अनाक्रमण र अहस्तक्षेपका सिद्धान्त समेत पारित भए । पञ्चशीलका महत्वपूर्ण पाँचवटा बुदाँ मध्ये दुई बुँदा अहस्तक्षेप र अनाक्रमण थिए । पञ्चशीलमा फल झार्न छिमेकीलाई ढुंगा हान्ने सिद्धान्त थिएन । बलियाले बलमिच्याईको रजाइँ गर्ने विषय समेत छैन । जो अहिले नेपाली समाजमा मौलाउँदो क्रममा छ ।
 
यसर्थ, कुनै राष्ट्रले अर्को राष्ट्रलाई आक्रमण र हस्तक्षेप नगर्ने हो भने युद्धको परिस्थिति सिर्जना हुँदैन । नेपाल जस्ता निर्बल मूलुकहरुले जाइ कटक नगरी झिकी कटकको नीति अख्तियार गर्नु पर्ने र बलिया राष्ट्रले समेत सहिष्णु गुमाउन नहुने पृथ्वीविचारको अचुक उपदेश हो । अझ संयुक्त राज्य अमेरिकाले पृथ्वीविचारको मर्म बुझेर पालन गर्नु पर्ने र सबै खाले आन्तरिक तथा बाह्य अन्याय समाप्त पारिने वा हुन नदिने परिस्थिति सिर्जना गर्न सके कुनै पनि बहानामा बाह्य आक्रमण कहीं कतै नहुने हो भने द्वन्द्व र युद्व नियन्त्रणमा आउन सक्ने तर्क–लेखक खगेन्द्रराज सिटौलाको पृथ्वीविचार र व्यवहार पुष्तकमा उल्लेख छ ।  संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्र नेपालमा जन्मिएको अनाक्रमणको नीति अर्थात् जाइ कटक नगर्नु भन्ने पृथ्वीविचारलाई संयुक्त राष्ट्रसंघको बडापत्रम समावेश गर्न सक्नु पर्दछ । नेपाल संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रमध्ये सबै भन्दा पुराना र जेठा राष्ट्रको समूहमा छ । जेठो सदस्य राष्ट्रमध्यका जेठा नेताले अघि सारेको विचार समय र प्रभावकारीताको हिसाबले समेत जेठो छ । बिडम्पना राष्ट्रसंघका पछिल्ला आँकडामा नेपाल गरिब र अशान्त मुलुकको सुचीमा छ । जसले आत्मनिर्णयको अभ्यासमाथि अप्रत्यक्ष राजनीति गरिरहेको छ । नेपाली दर्शन किनारा लागेको छ । आत्मनिर्णयको अभ्यास शून्य सिद्ध भएको छ । राष्ट्र परनिर्भर बन्दै गएको छ । नेपाली मौलिकता खोक्रो हुँदै गएको छ । शासकहरु प्रभू इसाराका उपासक बन्दै गएका छन् । समुदाय जुट्नुको साटो फुट्ने दिशामा लम्किसकेको छ । जसकारण आन्तरिक द्वन्द्वको भयानक विष्फोटको खतरा बढ्दै गएको छ । खै नेपाली दर्शन ? झगडाको आगो निभाउने प्राकृतिक उपाय हो पृथ्वीविचार ।  –ब्यूरो सामग्री 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ