arrow

जनचेतनाको अभावमा विषादीयुक्त तरकारी खान बाध्य  छन् उपभोक्ता

logo
प्रकाशित २०७४ साउन १४ शनिबार
tarkari.jpg

दाङ । खानयोग्य छ वा छैन भन्ने जानकारीको अभावमा दाङका  उपभोक्ता विषादीयुक्त तरकारी खान बाध्य भएका छन् । 

किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, कीरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि  बढेको छ । जसकारण उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य भएको जानकार बताउँछन् । तरकारीको गुणस्तर परीक्षण नहुँदा उपभोक्ताले मन्द विषसेवन गरिरहेको कृषि प्राविधिक माधव केसीले बताए । 

अत्यधिक विषादी प्रयोग भएका हरियो तरकारी खाँदा अल्पकालीन र दीर्घकालीन रोग निम्त्याउनसक्ने भएकाले यसतर्फ उपभोक्त र किसानलाई सचेत गराउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

तरकारीको नियमन गर्ने निकाय कृषि विकास कार्यालय रहेको र हालसम्म ती कार्यालयले बजारमा विषादीयुक्त तरकारी बिक्री बितरण भइरहेको छ, छैन् भन्ने सम्बन्धमा कुनै अनुगमन गर्न नसकेको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले बताए । 

“स्थानीय निकायसँग सहकार्य गरी सो कार्यालयले तरकारीको गुणस्तर परीक्षण र बजार अनुगमन गर्नुपर्ने हो, यस सम्बन्धी बेला बेलामा कुरा उठने त गर्छ तर यसको कार्यान्वयन हुन सकेको छैन्,” उनले भने “जसले गर्दा सर्वसाधारणले कस्तो खाले तरकारी प्रयोग गर्ने र कस्तो नगर्ने भन्ने जानकारी नै हुन सकेको छैन् ।” 

कृषि विकास कार्यालय दाङले तरकारीको गुणस्तर परीक्षण गर्न नसकिएको स्वीकार गरेको छ । कार्यालयका बालीसंरक्षण अधिकृत पिताम्बर बस्नेतले तरकारीको गुणस्तर परीक्षण गर्ने उपकरण र जनशक्ति नभएका कारण यसको परीक्षण हुन नसकेको बताएका छन् । 

अहिले नेपालगञ्जमा तरकारीको गुणस्तर परीक्षणका लागि प्रयोगशाला निर्माण हुन लागेको छ। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ