यादव आचार्य, बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका लोपोन्मुख अवस्थामा रहेका एकसिंगे गैंडाको सुरक्षा नेपाली सेनाले गर्ने भएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आईरहेको पहिचानमा आधारित गैडा अनुगमन कार्यलाई दीगो बनाउन अत्याधुनिक प्रविधि सहित सेनालाई थप जिम्मेवारी दिएपछि सेनाले गैडाको सुरक्षा गर्ने भएको हो।
बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणशार्दुल गणका सुरक्षाकर्मीले गैंडाको अनुगमन गर्ने बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले वताए। जसका लागि ४० जना सुरक्षाकर्मीलाई तालिम दिईएको छ भने अनुगमनका लागि आवश्यक जीपीएस, बाईनाकुलर, क्यामरा, ब्याट्री लगायतका प्राविधिक सामाग्री समेत दिईएको निकुञ्जले जनाएको छ।
सन् २०१५ को गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पोथी ९, भाले ६ र लिंग नछुट्टिएका १४ गरी २९ वटा गैडा रहेका छन्। गैंडा अनुगमन कार्यका लागि डव्लु डव्लु एफ, तराई भुपरिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका संस्थाहरुले सहयोग गरेका छन्।