arrow

डा गोविन्द केसीको माग सम्बोधन गर्न सोमबार पुनः वार्ता

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
govinda-kc-kabadi-bed-ma-sutdai.jpeg.jpeg

काठमाडौँ । अनशनरत प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्तता प्रदान गर्ने भन्ने सम्बन्धमा गृहकार्य सुरु भएको छ । 

शिक्षा मन्त्रालयका सचिव तथा वार्ता समितिका संयोजक शान्तबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा डा केसीको सम्बन्धमा सोमबार हुने वार्ता संस्थानका डिनले स्वायत्तताको खाका ल्याउने आइतबारको वार्तामा सहमति भएको उल्लेख छ । 

चिकित्सा शिक्षामा एकरुपता ल्याउन तथा गुणस्तर कायम गर्न वर्तमान जल्दाबल्दा मुद्दालाई समेट्दै माथेमा आयोगको प्रतिवेदनको मर्म र भावनाको प्रतिकूल नहुने गरी विचाराधीन चिकित्सा शिक्षा विधेयक छिटो संसद्बाट पारित गर्न सरकारका तर्फबाट गरेको आग्रहलाई व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापतिले सकारात्मक रुपमा लिएको विज्ञप्तिमा जनाइएको छ । 

वार्ताका क्रममा भएको हालसम्मका प्रगतिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई अवगत गराइएको समेत विज्ञप्तिमा उल्लेख छ । 

प्रा डा केसीले तत्काल माथेमा प्रतिवेदनको सुझावसहित चिकित्सा शिक्षा ऐन पारित, विगतका सम्झौताअनुसार थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट आइओएममा फिर्तालगायत माग गर्दै यही साउन ९ गतेदेखि ११औँ पटक अनशनमा छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ