चितवन । भरतपुर महानगरपालिकामा मेयरका लागि एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्र–काँग्रेस गठबन्धनकी रेणु दाहालबीच कडा टक्कर देखिएको छ ।
अब केवल २० नम्बर वडाकोमात्र मत गन्न बाँकी छँदा कसले जित्ला भन्ने यकीन गर्न कठिन छ । तर बैशाख ३१ गते नै निर्वाचन भएकाले काँग्रेसको पकड भएको वडा भए पनि भोट क्रस भएको अनुमान गरिएको छ । भोट क्रस नभएको भए दाहाल स्वतः विजयी हुने निश्चित छ ।
तर पहिलो चरणको निर्वाचनमा निकै मत क्रस भएकाले पनि काँग्रेसका मत एमाले उम्मेदवारलाई गएको आँकलन गरिएको छ ।
१९ नम्वर वडामा भने साउन २० गतेमात्र पुनः मतदान भएकाले दाहालले बाजी मारेकी छिन् । उनले २८७० मतमध्ये १५२९ मत ल्याइन् ।
त्यसैगरी ज्ञवालीले ९६६ मतमात्र ल्याए । १९ नम्बरमा ५६३ मतले अग्रता लिएकी दाहालले समग्रमा ४१७२५ मत पाएकी छिन् ।
ज्ञवालीले ४१९४६ मत पाउँदा २२१ मतलेमात्र अगाडि छन् ।
१९ नम्बर वडामा दाहाललाई एक सय मत कम आएको आँकलन गरिएको छ ।
अब २० नम्बरको भरोसामा रहेको छ । दिउँसोदेखि वडा नम्बर २० को मतगणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २९ वडामध्ये अब २० नम्बर वडाकोमात्र मतगणना गर्न बाँकी रहेको हो ।
उप मेयरमा नेपाली काँग्रेसकी पार्वती शाहले जित्ने निश्चित भइसकेको छ । एमालेकी दिव्या शर्मा निकै पछाडि छिन् । २० नम्बरमा खसेको मतभन्दा बढी अन्तर अहिल्यै शाहले बनाइसकेकी छिन् ।
भरतपुर महानगरपालिका वडा नं १९ को वडाध्यक्षमा नेपाली काँग्रेसका कर्णबहादुर गुरुङ विजयी भएका छन् । काँग्रेसले गुरुङसहित प्यानल नै जितेको छ ।