arrow

लाप्राक र बारपाकमा असिना पानीपछि हिमपात

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
barpak.jpg.jpeg
गोरखा । गोरखाको लाप्राक, बारपाक र घ्याच्चोकलगायत क्षेत्रमा गएराति भीषण असिना पानी परेको छ । बारपाकमा बेलुकी ९ बजेदेखि असिनासहितको पानी परेको थियो भने लाप्राक र घ्याच्चोकमा बेलुकी ११ बजेदेखि असिनापानी परेको स्थानीयले टेलिफोनमा बताएका छन् । त्यस क्षेत्रमा रातभर सिमसिम पानी बर्सेको छ । 

“असिना पानी परेपछि अत्यधिक चिसो बढेको छ । बाहिर निस्कन सकेका छैनौँ” बारपाक–४ का तेजबहादुर घलेले भने, “अगेनाको छेउमा आगो तापेर बसेका छौँ ।” जस्तापाताले छाएको टहरोमा बसेका र त्रिपाल, टेन्टमुनि बसोबास गर्दै आएकालाई पानीले रुझाएको छ । बारपाकमा एक हजार ३७२ घरधुरीमध्ये स्नान गाउँका ३० घरधुरी अझै त्रिपालमुनि छन् । 

“हिउँ पर्न थालेपछि चिसो अलि कम भएजस्तो भएको छ” घलेले भने, “गाउँ नजिकै डाँडामा बाक्लो हिउँ परेको देखिन्छ ।” बारपाक, लाप्राकको गुप्सीपाखा र घ्याच्चोकको धन्सिरा गाउँमा हिमपात भएको हो । गाउँ नजिकैको डाँडामा बाक्लो हिउँ परे पनि गाउँमा हल्का हिउँ झरेको लाप्राककी सुनिता गुरुङले जानकारी दिए । 

“टहरामा बसेका भूकम्पपीडितको विचल्ली भयो” उनले भने, “बख्खु, पछ्यौरा ओढ्ने र आगो तापेर भूकम्पपीडित बसिरहेका छन् ।” अहिले मौसम सफा हुँदै गएकाले दिउँसोपख घाम लाग्ने स्थानीयवासीको विश्वास छ । पानी र हिमपात नभएका बेला पनि स्याठँले गर्दा गुप्सीपाखामा बस्न सकिँदैन । गुप्सीपाखा दुई हजार ७०० मिटर उचाइमा पर्छ । गुप्सीमा ५९५ वटा टहरा छन् । चिसोले गर्दा वृद्धवृद्धा र बालबालिका समस्यामा छन् । 

गुम्दाको माथिल्लो क्षेत्र, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत र छेकम्पारका उपल्लो भेगमा पनि हिमपात भएको बताइएको छ । यस वर्ष हिमपात ढिला हुँदा आलुखेती गरिएका बारीमा धुलो उडेको थियो । आवश्यक चिस्यान नहुँदा आलु उम्रेको थिएन । डाडाँमा परेको हिउँ बारीसम्म नझरेसम्म खेती राम्रो नहुने स्थानीय बताउँछन् । 

हिमपात भएका क्षेत्रमा हालै न्यानो कपडा खरिदका लागि रु १० हजारका दरले राहत रकम वितरण गरिसकिएको छ । त्यस्तै विभिन्न सङ्घसंस्थाको सहयोगमा सिरक, कम्बल र ज्याकेट वितरण गरिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । 

अझै १२ गाविसमा बाँड्ने रकम निकासा नआएकाले समस्या भएको हो । ३८ गाविसमा भने राहत रकम वितरण गरिसकेको छ । १० हजार राहत रकम बुझेका भूकम्पपीडितले न्यानो कपडा किनेका छैनन् । केहीले घरखर्चमै सो रकम सिध्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ