arrow

सहिदको सोच साकार पार्न काँग्रेस एक हुन्छ : सभापति कोइराला

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
sushil_koirala.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले सहिदको सोच साकार बनाउन पार्टी एकढिक्का भएर लाग्ने बताउनुभएको छ ।नेपाल प्रजातन्त्र सेनानी सङ्घ र सहिद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘प्रजातन्त्र सेनानी’ नामक पुस्तक लोकार्पण एवम् ‘ओखलढुङ्गा प्रजातान्त्रिक क्रान्तिको इतिहास’ वृत्तचित्र सुभारम्भ समारोहलाई सम्बोधन गर्दै सभापति कोइरालाले सो कुरा बताउनुभएको हो ।
 
“सहिदको बलिदानीको इतिहासलाई काँग्रेसले बिर्सेको छैन, पार्टीलाई जोगाउन सहिदको योगदानको स्मरण गरेर काम गरिरहेका छौँ, १३औँ महाधिवेशनमा पदका लागि प्रजातान्त्रिक अभ्यास भए पनि समग्र विचारको नेतृत्व पार्टी एक भएर गर्छ”– उहाँले भन्नुभयो ।सहिद परिवारलाई योगदान गरेजतिको सम्मान दिन नसकिएको स्वीकार गर्दै सभापति कोइरालाले अब इतिहासको अभिलेख हेरेर कदर गरिने प्रतिबद्धता जनाउनुभयो । पार्टीको जिम्मा तीन नेतालाई मात्र दिन नहुने भन्दै उहाँले प्रजातान्त्रिक पद्धतिअनुसार संस्थागत तवरमा सञ्चालन गरिने बताउनुभयो ।
 
“बिपी हुँदा उहाँपछि पार्टी चल्न सक्दैन भन्ने थिए, अहिले तीन नेतापछि के हुन्छ भन्ने छन्, तर पार्टी उत्तराधिकारवाला संस्था भएकाले युवा पुस्ताबाट अझ प्रभावकारी ढङ्गले सञ्चालन हुनेछ”– उहाँले भन्नुभयो ।केन्द्रीय सदस्य एवम् सांसद डा शशाङ्क कोइरालाले समसामयिक राजनीतिक समस्या समाधानका लागि संसद्को ठूलो दल भएको नाताले एक भएर जुट्नुपर्नेमा जोड दिनुभएको थियो ।
 
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले ‘प्रजातन्त्र सेनानी’ नामक ग्रन्थ अनुसन्धानमूलक भएकाले क्याम्पसको पाठ्यक्रममा राख्न उपयुक्त भएको बताउनुभयो ।कार्यक्रममा सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्मा कँडेल, प्रतिष्ठानका अध्यक्ष एवम् सङ्घका प्रवक्ता बालकृष्ण दाहाल, प्रा सुरेन्द्र सिटौला र प्रतिष्ठानका महासचिव दुर्गाप्रसाद भट्टराईलगायत वक्ताले सहिद तथा प्रजातन्त्र सेनानीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो ।
 
सो अवसरमा लोकार्पण गरिएको ‘प्रजातन्त्र सेनानी’ पुस्तकको प्रकाशन सङ्घ र प्रतिष्ठानले संयुक्त रुपमा गरेका हुन् । अध्यक्ष दाहालले सम्पादन गर्नुभएको पुस्तकमा ८६० पृष्ठ रहेको छ । पुस्तकमा १० हजार प्रजातन्त्र सेनानीका विषयमा जानकारी समेटिएको सो अवसरमा जानकारी गराइएको थियो । पुस्तकको मूल्य रु ७५० छ ।
सुभारम्भ गरिएको वृत्तचित्र विसं २०३१ पुस १ गते सोलुखुम्बु जिल्लाको टिम्बुरबोटेमा प्रजातन्त्रका लागि सङ्घर्ष गर्दा मारिएका १० योद्धा, पछि मारिएका सात र नेपालको समग्र प्रजातान्त्रिक आन्दोलनमा केन्द्रित छ । यसको लेखन अध्यक्ष दाहाल र निर्देशन कमल फुयाँल एवम् पाश्र्वध्वनि नवीन दाहालले गर्नुभएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ