arrow

काँग्रेस बैठकमा दुवै पक्ष खरो रुपमा प्रस्तुत हुने

रस्साकस्सी पर्ने भएकाले आजै निर्णय हुने संभावना न्युन

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं । क्रियाशिल सदस्यता संवन्धी विवाद टुङग्याउने गरी छलफल हुन लागेको केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने भनेर काँग्रेसका दुवै पक्षका नेताहरुले तयारी गरेका छन् । 
 
संस्थापन पक्षका नेताहरुले सवै विवादित जिल्लाका सदस्यता स्थगित गरी १२औं महाधिवेशनको सदस्यताका आधारमा १३औ महाधिवेशन गर्नु पर्ने अडानलाई दोहोर्याउने भएका छन् भने बरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरुले सवै ठाउको सदस्यतालाई मान्यता दिनु पर्ने जिकिर गर्ने तयारी गरेका छन् । 
 
साथै सदस्यता विवाद मिलाउन भन्दै नेता नरहरि आचार्यको संयोजकत्वमा गठन भएको समितिको सिफारिसका बारेमा पनि दुवै पक्षले आ आफ्नो तर्क गर्ने भएका छन् । 
 
समितिको सिफारिसलाई केन्द्रीय समितिले पुर्णतः पारित गर्ने पुर्वसहमति बमोजिम पारित गर्नु पर्ने देउवा पक्षको भनाई छ भने संस्थापन पक्षले समितिको सिफारिसलाई केन्द्रीय समितिले संशोधन सहित पारित गर्नु पर्ने तर्क गरेको छ । 
 
क्रियाशिल सदस्यता संवन्धी विवाद मिलाउन बनेको समितिले सभापति सुशील कोईरालालाई केही दिन पहिले नै प्रतिवेदन बुझाई सकेको छ । 
 
सभापति कोईरालालाई बुझाईएको प्रतिवेदनमा अति विवाद भएका केही जिल्लाका निश्चित क्षेत्रमा १२औ महाधिवेशनलाई मात्रै आधार बनाएर १३औं महाधिवेशन गर्नु उपयुक्त हुने सिफारिस गरिएको छ । “अति विवाद भएका ५÷६ जिल्लाका केही क्षेत्र, गाविस वा नगरपालिकाको सदस्यतालाई स्थगित गर्न भनिएको छ भने अधिकाँशमा अहिलेको नयाँलाई नै कार्यान्वयन गर्नु राम्रो हुने हामीले सिफारिस गरेका छौं, ” समितिका सदस्य रामकृष्ण यादवले भने । 
 
दुवै पक्षका नेताहरुको रस्साकस्सी पर्ने भएकाले आजै निर्णय हुने संभावना भने न्युन रहेको नेताहरुको भनाई छ । 
 
काँग्रेसकै अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि क्रियाशिल सदस्यता संवन्धी विवाद चाडै टुङग्याउनु पर्ने अवस्था रहेपनि अझै केहीदिन लम्वीन सक्ने बताए । उनले यो विवादको अन्तीम निर्णय गर्ने अधिकार समितिलाई र समितिमा पनि विवाद भएमा समितिका संयोजक आचार्यलाई दिईसकिएकाले त्यसलाई मान्नु पर्ने स्पष्ट पारे । आफ्नो अनुकुलताका आधारमा मान्ने नमान्ने भन्ने प्रबृत्तिका कारण अहिलेको समस्या आएको भण्डारीको ठम्याई छ । 
 
स्थानियस्तरका अधिवेशन गर्ने २० दिन मात्रै वाँकी रहदा पनि केन्द्रीय नेताहरुले सदस्यता विवाद टुङग्याउन सकेका छैनन् । सदस्यता विवाद नटुङगीदा विवादित ठाउका कार्यकर्ताहरु अन्यौलमा परेका छन् । 
 
क्रियाशिल सदस्यता विवादकै विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपा र विभिन्न जिल्लाका पार्टी कार्यालयहरुमा दुवै पक्षका नेता तथा कार्यकर्ताहरु अनसनमा बसेका छन् । उनीहरु एक आपसमा ठिक विपरित माग राखेर अनसनमा बसेकाले थप समस्या सृजना भएको छ । 
 
काँग्रेस केन्द्रीय समितिको बैठक दिउसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ