प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच भेट, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे छलफल
प्रकाशित २०७४ साउन ३२ बुधबार
428
Shares
काठमाडौं । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच भेट भएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल रसुधीर कुमार शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटघाट गरेका हुन् ।
भेटघाटका अवसरमा प्रधानमन्त्रीबाट प्रदेश सभा तथा प्रतिनिधि सभा दुवै निर्वाचन एकै पटक गर्न सकिन्छ सकिदैन भन्ने जिज्ञासा राखेका थिए । सो अवसरमा आयोगका तर्फबाट निर्वाचनको लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभैसकेको अवस्थामा दुई वटै निर्वाचन सञ्चालन गर्न कठिनाई हुने कुरा अवगत गराइएको थियो ।
व्यवस्थापकीय हिसाबले मंसिरको पहिलो हप्तामा प्रतिनिधि सभाको निर्वाचन गर्न सम्भव रहेको कुरा समेत प्रधानमन्त्रीसमक्ष राखिएको थियो । साथै भेटमा प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन एकै पटक सञ्चालन गर्न व्यवस्थापकीय हिसावले कति सम्भव हुन्छ आयोगमा छलफल गरिने कुरा प्रधानमन्त्रीज्यूलाई अवगत गराइएको थियो ।
भेटघाटको अवसरमा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, नेपाल सरकारका मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव केदार बहादुर अधिकारी तथा निर्वाचन आयोगका सचिव महेश्वर न्यौपानेको उपस्थिति रहेको थियो । सो अवसरमा सम्माननीय प्रधानमन्त्रीबाट मुख्य तीन दलका शीर्ष नेताहरुसँग आजै छलफल गरी निर्वाचनको मिति सम्बन्धमा उचित निर्णय लिइने कुरा बताएका थिए ।