arrow

बाजुरामा दुई हजार बालबालिका कुपोषित

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
kuposan-e1450957600686.jpeg

बाजुरा । बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको एक तथ्यांकले देखाएको छ । 

जिल्लाका नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकामा रहेका दुई हजार बालबालिका अझै कुपोषित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी रमेश कुँवरले बताए । 

उनले जिल्लामा कुपोषणलाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालयले आइमाम कार्यक्रम सञ्चालन गरेको बताए । कुपोषण भएका बालबालिकाका आमालाई पोषिलो खानेकुरा खुवाउनेलगायतका आवश्यक सुझाव सल्लाह दिने गरिएको कुँवरले जानकारी दिए । 

कुँवरका अनुसार जिल्लाका छवटा स्वास्थ्य संस्थामा कुपोषित बालबालिकाको उपचार केन्द्र (ओसिटी सेन्टर) सञ्चालन गर्दैआएको बताइएको छ । उपचार केन्द्र जिल्ला स्वास्थ्य कार्यालय बाजुरा, टाँटे स्वास्थ्य चौकी, डोगडी, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, रुगिन स्वास्थ्य चौकी र गोत्री स्वास्थ्य चौकीमा ओसिटी सेन्टर सञ्चालन हुँदै आएको आइमाम कार्यक्रम जिल्ला संयोजक डा उदय प्रकाशले बताएका छन् । 

कुपोषित भएकामध्ये शीघ्र कुपोषण भएका ६०० जना मध्यम खालका एक हजार ४०० जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको जाँच गर्दा उक्त बालबालिका कुपोषित पाइएको हो । कुपोषित बालबालिकालाई उपचारार्थ खाना खुवाउने, नियमित जाँच गर्ने र कुपोषित भएका बालबालिकालाई पोषित गरेर घर फर्काउने गरेको जनस्वास्थ्य अधिकृत कुँवरको भनाइ छ । 

जिल्लामा बहुक्षेत्रीय पोषण योजना, आइमाम कार्यक्रम, सुआहारा दोस्रोले पोषणका लागि काम गर्दै आएका छन् । कार्यक्रम सञ्चालन भएपछि कुपोषणको अवस्था घट्दै गएको बहुक्षेत्रयीय पोषण योजनाका कार्यक्रम संयोजक गणेशप्रसाद जोशीले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ