arrow

‘प्रमकै कमेडियन पाराले पनि हाम्रो टेलिसिरियल बन्द भएको होला’

कमेडियनहरुको नजरमा ओली : हाँस्य कलाकारदेखि कमेडियन प्रधानमन्त्रीसम्म

logo
नेमिष गौतम
प्रकाशित २०७२ पुष २६ आइतबार
Comedy-KP.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिनेवित्तिकै धेरैले एउटा भनाई सम्झन्छन्, ‘बन्दुकको गोली र ओलीको बोली कहिल्यै फर्किदैन ।’ झापा विद्रोह देखि कडा रुपमा प्रस्तुत हुँदै आएका ओली जेल जीवनपछि भाषणमा अझ खारिए । ओलीले जेल जीवनमा नेपाली र हिन्दी भाषाका थुप्रै उखान टुक्काका किताब पढेको सहयात्रीहरु बताउँछन् । उखान टुक्काको चोटिलो प्रहार नै ओलीको मत बटुल्ने गतिलो हतियार हो । तर, उनको फरक विशेषता, पदमा भए पनि नभएपनि उखानले झोस्न भने नछाड्ने ।
 
लामो राजनीतिक संघर्षपछि सरकार प्रमुख बनेका ओलीले सत्ता बाहिर रहे जस्तै विभिन्न ठट्यौली गर्दा अहिले आफैमाथि नैतिक प्रश्न तेर्सिएको छ । सिलशीलेदार भाषण र प्रासंङ्गिक उखान टुक्काको समिश्रण गर्न माहिर ओलीका पछिल्ला अभिव्यक्तिहरु चर्चा जत्तिकै विवादित छन् । संविधान जारीताका राष्ट्रिय एकता र राष्ट्रियताको काफी चर्चा कमाएका ओलीले अन्ततः जनमतको उपहास गर्न उद्दत रहेका टिप्पणी भइसक्दा समेत बोली सुधारेका छैनन् । महत्वकाक्षी काम गर्ने भाषणमात्रै गरिरहेका ओलीले जटिलतालाई बेल्कुलै नजरअन्दाज नगरेको विश्लेषण भइरहेको छ । काम गर्छु भन्नु नराम्रो होईन, तर त्यसका तौर तरिका र जटिलतालाई ख्याल गरेर अघि बोल्नु मात्रै योग्य नेतृत्वकर्ताको विशेषता हो । यीनै घुम्तिमा ओलीको बोलीमा ब्रेक लागेको छैन । 
 
भूकम्पको पीडा, लामो नाकाबन्दी, चर्को इन्धन अभावले जनजीवन कष्टकर भइरहेका बेला ओलीले एक पछि अर्को अभिव्यक्ति दिइरहेका छन् । जसको सर्वत्र आलोचना भइरहेको छ । ओलीले हावाबाट विद्युत् उत्पादन गरी लोडसेडिङ मुक्त गर्ने अभिव्यक्तिपछी घर–घरमा ग्याँसको पाइपलाइन जोड्ने अभिव्यक्ति दिन समेत भ्याइसकेका छन् । जसले तरंग फैलाएको छ । पछिल्ला अभिव्यक्तिले प्रधानमन्त्री ओलीलाई अधिकांशले राजनेता नभई अभिनेता अर्थात् कमेडियन भन्न थालेका छन् । हास्य कलाकारको लागि मसला बन्ने गरेका ओली अभिव्यक्ति अब ब्राण्ड बिनै, सोझै बजारमा जान थालेका छन् । 
 
चर्चित हाँस्यकलाकार दीपाश्री निरौला प्रधानमन्त्री ओलीलाई ‘हाँस्य कलाकार’को उपमा दिन्छिन् । ‘उहाँ पहिला पनि जनता हँसाउनु हुन्थ्यो, अहिले पनि हँसाइरहनु भएकोछ,’ दीपाश्रीले हाँस्दै भनिन्,‘हामी स्टेज परफरमेन्स गर्न जाँदा कसरी दर्शकलाई हँसाउने भनेर गम्भीर सोच्छौं, तर उहाँ त फ्याट्ट फ्याट्ट हँसाइरहनु भएकोछ । सायद उहाँकै कमेडियन पाराले पनि हाम्रो टेलिसिरियल पनि बन्द भएको होला ।’
 
दीपाश्रीलाई ओली पहिले निकै मन पर्ने नेता । उनले भनिन्, ‘उहाँ प्रष्ट वक्ता, काम गर्न सक्ने किसिमको नेता जस्तो लाग्थ्यो, प्रधानमन्त्री भएपछि अझ राम्रो हुन्छ जस्तो लागिरहेको थियो, प्रतिपक्षमा बस्दा समेत उहाँको बोल्ने शैली राम्रै थियो, तर अहिले त, खै के ? खै के ? जस्तै भयो ।’ 
दीपाकै सहकर्मी दीपकराज गिरीको भनाई पनि दीपासँग झण्डै मिल्यो । ‘उहाँ यस्तो शासक हो, जो जनता हँसाउन सक्षम हुनुहुन्छ, एक किसिमले भन्ने हो भने कुशल इन्टरटेनर’दीपक भन्छन्,‘गर्छु पनि भन्ने तर के गर्छु भन्ने थाहा पनि नहुने किसिमको रमाइलो मान्छे हुनुहुन्छ । हामी राती सुत्दा आँखा चिम्म गरेर भोलि यसो गर्छु, उसो गर्छु भनेर सोच्छौं, तर कसरी गर्छौ भन्ने योजना हुँदैन, उहाँको अहिलेको व्यवहार पनि त्यस्तै छ ।’ सानो उमेरमा आमाले घरमा खानेकुरा केही नहुँदा पनि ‘बाबा खाऊ’ भनेर फकाएर खुवाएको स्मरण गर्दै दीपक प्रधानमन्त्री ओलीलाई पनि त्यही कुरामा तुलना गर्छन् । तर, ओलीको पढ्ने शक्ति र कडा तर्क शक्तिको भने दीपक फ्यान ठहरिए । ‘उहाँको बोलीमा ठेट नेपालीपन देख्छु ।’ दीपकले भने । 
 
हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ होस् या स्टेज कार्यक्रममा । केपी ओलीकै रुपमा प्रस्तुत हुने कलाकार सीताराम कट्टेल ‘धुमुर्स’ ओलीलाई विश्वास र कन्फिडेन्स पावर धेरै भएको प्रधानमन्त्रीका रुपमा चिन्छन् । ‘उहाँले अहिलेसम्म जति घोषणा गर्नुभयो, त्यो असम्भव कुरा होईन् तर कसरी गर्ने भन्ने कुरा मुख्य हो,’ धुर्मुस भन्छन्,‘ उहाँको योजना हावादारी किसिमको पनि होइन, तर काम गरेर घोषणा गरिदिएको भए झन राम्रो हुने थियो ।’ सरकारको सफाइ दूत समेत रहेका धुर्मुसले ओलीको बचाउन नै गरे । मान्छे बुढो भए पछि स्वभाव पनि केटाकेटीकै जस्तो हुने उखान सम्झिदैं धुर्मुसले प्रधानमन्त्री ओली पनि त्यस्तै खालका हुन भन्ने लागिरहेको बताए । 
 
अर्का हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ओलीलाई ‘कमेडियन प्रधानमन्त्री’ भन्न रुचाउँछन् । ‘उहाँ राम्रो हुनुहुन्छ, जनतालाई हँसाईरहनु हुन्छ, सेन्स अफ ह्युमर भएको मान्छे,  उखान टुक्का प्रयोग गरेर अरुलाई आकर्षण गर्न सक्ने मान्छे हुनुहुन्छ,’जितुले भने,‘पहिला त उहाँ अडान राख्ने मान्छे हुनुहुन्थ्यो, तर पछिल्ला अभिव्यक्तिले भने उहाँको अडानमा प्रश्नचिन्ह नै खडा गरिदिएको छ ।’ दीर्घकालिन योजनाहरुलाई कसरी कार्यान्वयन गर्न गरेर लैजान सकिन्छ भन्ने बारेमा सोचेर बोल्नुपर्ने बेलामा केही नसोची बोल्नाले ओलीले जनता हँसाईरहेको मुन्द्रेको बुझाई छ ।
 
हास्य कलाकारले केन्द्रमा राखेर नक्कल उतारेका प्रधानमन्त्री ओलीले हँसाउन छोडेर राज्यका अफ्ठ्यारा चिर्नतर्फ लाग्नु पर्ने कलाकारहरुको जोड छ । ओलीका टुक्काले नागरिक एक छिन् हाँसेपनि जीवनभर हास्ने वातावरण बनाउन ओली अभिनेता नभई राजनेता नै हुनुपर्ने उनीहरुको तर्क छ । ओलीले उद्घोष गरेका काम गरेर देखाएमात्र नागरिक जीवनभर हाँस्ने धेरैको बुझाई छ । नागरिकलाई जीवनभर हँसाउन उखान चरितार्थ गर्न सक्लान् त ओली ?  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ