arrow

सत्ताधारीहरु प्रदेश संख्या बढाउने मानसिकतामा, पूर्वका ६ जिल्लाको छुट्टै प्रदेश

पश्चिमको कैलाली चोइट्याएर बर्दियासंग जोड्नु पर्छ : गच्छदार

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
Gachhadar.jpg.jpeg
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छदारले अहिलेको सात प्रदेशलाई बढाएर आठ प्रदेश बनाउने र मधेसमा तीन प्रदेश निर्माण गरिए अहिलको समस्या समाधान हुने बताएका छन् ।  मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका मन्त्री गच्छदारले  मन्त्रालयमै रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुरको छुट्टै प्रदेश निर्माण गरिनुपर्ने र पश्चिममा कैलालीको केही भाग टुक्र्याएर बर्दियासँगको प्रदेशमा जोड्नुपर्ने बताए ।  
 
गच्छदारले भने,‘मैले संविधान निर्माणअघि नै ल्याएको आठ प्रदेशको अवधारणा स्वीकार नगरिएकै कारण अहिले समस्या आएकोे छ, प्रमुख दलका नेता अहिले तपाइँले त्यो बेला ल्याएको प्रस्ताव ठीक रहेछ भन्न थाल्नुभएको छ ।’ गच्छदारले थपे,‘म पनि मोरङ, सुनसरीको मान्छे हो, ती जिल्लाका जनताले दुई नम्बर प्रदेशमा जान चाहेका छैनन्, ती जिल्ला चाहियो भनेर धनुषा र सर्लाहीले आन्दोलन गर्नुको अर्थ छैन ।’ गच्छदारले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले बोलिरहेकै ८ प्रदेशको भाषा बोलेका हुन् । 
 
मन्त्री गच्छदारले देश विकासमा सबै पक्षको सहकार्य र एकता आवश्यक रहेको बताउँदै वार्ता र सहमतिबाटै तराई–मधेसको आन्दोलन सम्बोधन गरिनुपर्नेमा जोड दिए । आफूले सधैँ मध्यमार्गी भूमिका खेलिरहेको जिकिर गर्दै गच्छदारले त्यसो गर्दा आफ्नो आलोचना भए पनि नडराउने प्रष्ट पारे । सरकार निर्माणका क्रममा सत्तारुढ दलसँग आफ्नो पार्टीका तर्फबाट भएका आठबुँदे सम्झौतामध्ये सीमाङ्कनबाहेक अन्य बुँदा कार्यान्वयनका क्रममा गइसकेकोे बताए । अहिलको समस्या यो सरकार निर्माणपछिको समस्या नभएर पहिलेकै समस्या भएको बताउँदै गच्छदार आफ्नो पार्टी सरकारबाट बाहिरिने कुनै सम्भावना नभएको प्रस्ट्याए ।  
 
मोदीलाई ऋषि मन बनाउन आग्रह 
 
उपप्रधानमन्त्री गच्छदारले अहिले भारतबाट आपूर्तिमा देखिएको असहजताका कारण नेपालीले कठिनाइ भोग्नुपरेको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ऋषि मन बनाएर नेपाललाई सहयोग गर्न आग्रह गरे ।  गच्छदारले भने,‘नेपालमा मोदी आउँदा नेताहरुलाई ऋषि मन बनाउनुपर्छ भन्नुभएको थियो, अहिले मोदीजीलाई ऋषि मन बनाउन मेरो आग्रह छ ।’ उपप्रधानमन्त्री गच्छदारले भारतजस्तो ठूलो देशले छिमेकी देशलाई ठूलै हृदय बनाएर सहयोग गर्नुपर्ने धारणा राखे । चीन र भारतसँग नेपालले समदुरीको सम्बन्ध राखेर अगाडि बढ्नुको विकल्प नभएको गच्छदारको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ