arrow

संविधान फेरि बन्ला देश टुक्रीय कस्ले जोड्छ?

मधेसी दलहरु भारतीय उक्साहटमा लागे

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
विशन क्षेत्री, पर्वत। नेकपा क्रान्तिकारी माओवादीका नेता एवम् सचिवालय सदस्य देव गुरुङ्गले संविधानका कारणले देश टुक्रिए आत्मघाती हुने बताएका छन्। छ/सात पटक निर्माण भइसकेको संविधान फेरि बनाउन सकिन्छ तर एकपटक देश टुक्रिएमा त्यसलाई कस्ले जोड्छ गुरुङको प्रश्न थियो। उनले संविधानका कारण देश टुक्रिन नहुने बताए।
 
‘संविधान संशोधन गरेर राम्रो बनाउन सकिन्छ, तर देश टुक्रिएमा राष्ट्रियता फिर्ता ल्याउन सकिँदैन्,’ आईतबार पर्वत सदरमुकाम कुश्मामा पत्रकार भेटघाटको क्रममा गुरुङ्गले भने, ' संविधानको तुलना देशसँग हुनै नसक्ने हुँदा अहिले संविधान थाती राखेर सहमति गर्नु आवश्यक छ।'
 
उनले मधेसी दलहरुले भारतीय उक्साहटमा लागेर आन्दोलन गरिरहेको र सरकारले समाधानको सट्टा द्वन्द्वतर्फ लल्कारिरहेको आरोप लगाए। ‘सरकार र मधेसी दलहरु दुवै वास्तविक मुद्धाभन्दा बाहिर गई विवाद चर्काउने मात्र काम गरेर देशलाई सिद्धाउनेतर्फ लागेका छन्, यस्तो काम तत्काल रोकिनुपर्छ’ उनले भने ।
 
भारतले अहिले टु वे को नीति अपनाएर नेपालमा अस्थिरता कायम गर्न खोजिरहेको अवस्थामा राजनीतिक दलहरु आफैँले भारतलाई सजिलो बनाईदिएको उनको आरोप छ। 
 
‘भारतले अहिले पनि अङ्ग्रेजको पालाको जस्तो नीति अपनाएको छ, फुटाउने र राज गर्ने । कहिले राजतन्त्र फिर्ता दिन्छु भनेर राजावादीलाई उचाल्छ, अनि कहिले सिके राउतलाई लिएर मधेसीलाई छुट्टै देश आवश्यक छ भनेर सैन्य बल गठन गर्न लगाउँछ, गुरुङ्गले आरोप लगाए, नेपाली राजनीतिक दलहरु पनि भारतलाई सजिलो पारिदिन भारतीय दूतावासमा शरण लिन धाउँछन्, अनि राष्ट्रियतामा हस्तक्षेप गर्दा चुप लागेर बस्छन् ।’
 
राजनीतिक दलहरु भारतप्रति आशक्त हुँदा देशको अस्तित्व नै खतरामा परेको गुरुङ्गले बताए। ‘घरमा दाजुभाईको अंशबण्डामा झै–झैगडा हुनु स्वाभाविक हो, तर घरको सम्पत्ति नै सकिएपछि के का लागि झगडा गर्ने ?’
 
अहिले सीमांकनको विषयमा समाधान हुन नसक्ने समस्या नरहेको उनले दाबी गरे । ‘पहिले पाँच विकास क्षेत्र थियो, अहिले सात प्रदेश छ, देशका प्राकृतिक सम्पदाहरु कतै गएका छैनन्, नेपाल टुक्रिएको छैन्, ठुला दलहरु एमाले विरोधमा र कांग्रेस दोधारमा रहँदा समस्याको समाधान हुन नसकेको हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ