arrow

मुसहर बस्तीमा पोखियो धुर्मुस सुन्तलीको आँशु

उनीहरुले मुसहर समुदायका मानिसहरुसंग उनीहरुका दिनचर्याका बारेमा करिब २ घण्टासम्म कुराकानी गरेका थिए

logo
राजकरण महतो,
प्रकाशित २०७२ पुष २७ सोमबार
dhurmuss.jpeg
महोत्तरी। महोत्तरीको बर्दिवास नगरपालिका २ का ३५ बर्षीय रामपृत सदा मुसहरको एउटा सानो झुपडी छ। जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात बिताउँछन्। पुस माघको कापने कठ्याङग्रीदो जाडोमा न्यानो ओढ्ने औछ्याउनेको अभावमा सदाका परिवारका सदस्यहरु महिनौ दिनदेखि आरामले निदाउन सकेका छैन। उनले परिवारका सदस्यलाई आर्थिक अभावले बढ्दो जाडोमा न्यानो लुगा किनिदिन सकेका छैनन्।
 
उनको झुपडी बाहेकको अरु जग्गा जमिन छैन। दिनभरी जंगल गएर ल्याएको दाउरा बिक्री गरेर आएको रुपैंयाले रामपृतको चुलोमा राति आगो बल्छ। जुन दिन जंगलबाट दाउरा ल्याउन सक्दैन वा जंगलबाट ल्याएको दाउरा बिक्री हुदैंन त्यो दिने दिन राति चुल्हो बल्न मुसकिल नै पर्छ । मधेशी दलित समुदायका सदा मुसहर बस्तिको एउटा प्रतिनीधि पात्र मात्र हुन्। उनी जस्ता त्यस बस्तिका करीब ६० घरधुरीका ४२० जना मानिसहरु चिसोसँगै चलेको शितलको कारणले रातभरी जाग्राम बसेर भगवान्को भरमा रात बिताउदै आएका छन्। 
 
मुसहरहरुको जीवन नियाल्न केही दिन अघि चर्चित हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुश’ र कुञ्जना घिमिरे‘सुन्तली’ त्यहाँ पुगेका थिए। मुसहरहरुको घर–घर पसेर उनीहरुको जीवन नियाल्दा धुर्मुश र सुन्तली भावुक बने। कलाकारद्वयले मुसहर समुदायका मानिसहरुसंग उनीहरुका दिनचर्याका बारेमा करिब २ घण्टासम्म कुराकानी गरेका थिए। उनीहरु मुसहरका बालबालिकाहरुको अवस्था देखेर चिन्तित बने। मुसहर बस्तीमा हास्यकलाकार धुर्मुश र सुन्तली पुग्दा गाउँभरीका मानिसहरु जम्मा भएर आफुहरुलाई हँसाउने सोचेका थिए। तर त्यहाँ हास्यकलाकार नै भावुक बनेपछि गाउँका मानिसहरु कानेखुशी गर्न थाले।

घर छेउमै एक सय मिटरको दुरीमा जनता मावि छ । त्यहा अन्य ठाउँका बालबालिका पढ्न आउँछन् । तर मुसहर बस्तीका बालबालिका विद्यालय पढ्न जान सकेका छैनन् । मुसहर समुदायका केटाकेटीहरू घर छेउमै विद्यालय भए पनि थोरै बालबालिका मात्रै विद्यालय जान्छन् ।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास चोक भन्दा दुई किलोमिटर दक्षिण पर्ने  मुसहर बस्ति पर्दछ । करीब ४२० जना मुसहरहरुको बसोबास यस बस्तिमा छ ।  पुरुषको तुलनमा मुसहर बसितमा अलि महिलाहरुको संख्या बढि नै छ । महिला २१५, पुरुष २०५ र १देखि १५ बर्षका १५० जना बालबालिकाहरु यस बस्तिमा छन्। बस्तीकै छेउमा प्राथमिक तहदेखि स्नातकसम्मको अध्यापन गराइने जनता उच्च मावि तथा बहुमुखी क्याम्पस पनि छ। बस्तीबाट विद्यालय पुग्न दुई मिनेट पनि लाग्दैन। तर, मुसहर टोलका अधिकांश बालबालिका विद्यालय जाँदैनन्। यो टोलमा विद्यालय जाने उमेरका झण्डै १२० जना बालबालिका भए पनि मुस्किलले पाँच सात जना बच्चाबुची विद्यालय जाने गरेका छैन।
 
यो सिंगो बस्तीका एक किशोर बाहेक सबैलाई ‘कालो अक्षर भैँसी बराबर’ भने जस्तै छ । सिङ्गो मुसहर बस्तीमा १८  वर्षीय किशोर मञ्जय सदा मात्रै साक्षर छन् । लक्ष्मी सदाको छोरा मञ्जय आफ्नो घरनजिकैको जनता उच्च माविमा कक्षा ११ मा  वाणिज्य संकायमा पढै्छन्। मञ्जय बाहेक यो सिङ्गो बस्तीमा अक्षर चिन्ने धेरै कम छ । मञ्जयको प्रभावले बस्तीका पाँच–सात जना बालबालिका महिनामा दुई–चार दिन विद्यालय त जान्छन् तर, कसैले पनि साउँ अक्षर खुट्याउनसम्म जानेका छैनन्। धुर्मुश र सुन्तलीले मुसहर बस्तीको समस्या सुनेपछि मुसहर बस्तीका बालबालिकाहरु किन  गाउँ छेउमै रहेको स्कूलमा किन पढ्न गइरहेका छैन्न भनेर जनता उच्च मावि बर्दिवासमा पुगेका थिए। हास्यकालाकार धुर्मुश र सुन्तलीले विद्यालयका सहायक प्रधानाध्यापक दिलिप तिवारीसँग भेटे।

वार्तालापका क्रममा सहायक प्रअ तिवारीले आफूहरूले जति नै गर्दा पनि विद्यालय नजिकैको मुसहर बस्तीमा पढ्नुपर्छ भन्ने चेतनाको विकास हुन नसकेको बताए । ‘हामी वर्षेनी नयाँ शैक्षिक सत्रको शुरुमा मुसहर बस्तीलाई केन्द्रित गरेर विद्यार्थी भर्ना अभियान चलाउँछौ’, तिवारीले भने ’तर एउटा बालक मञ्जयबाहेक सिङ्गो मुसहर बस्तीमा अभियानको कुनै प्रभाव पर्न सकेको छैन ।’ धुर्मुश र सुन्तलीले एकै स्वरमा साहेक प्रअ तिवारीलाई भने, ‘मुसहर बस्तिको बालबालिकाहरुलाई कसरी शिक्षा प्रदान गर्ने तपाईहरुको पनि जिम्मेवारी हो । मुसहरका बालबालिकाहरु पनि पढ्न यो विद्यालय सञ्चालन गरिएको हो। त्यसैले भर्ना अभियानमा मात्र होइन अन्य समयमा बालबालिका अभिभावक र यिनका सरोकारवालाहरुलाई मुसहर बस्तिको सुधारको लागि के गर्नु पर्छ।’
 
बर्दिबास गाविसलाई दश महिना अघि नै खुल्ला दिशा मुक्तक्षेत्र घोषणा गरिए पनि साविकको बर्दिबास गाविस भित्रकै यो बस्तीका अधिकांश घरमा शौचालयको सुविधा छैन । कतिपय घरमा गाविस कार्यालय र विभिन्न गैरसरकारी संस्थाहरूले खुल्ला दिशा मुक्त क्षेत्र घोषणाताका काम चलाउ खालको शौचालय निर्माण गरिदिएका भए पनि सम्बन्धित परिवारले त्यसको प्रयोग नगरी खुल्ला ठाउँमा दिशा पिसाब गर्दै आएका छन्। पानीको अभावमा धेरैले चर्पि प्रयोग नगरेको बसितमा मनयज सदा बताउछन्।  मुसहर बस्ति अवलोकन गरेर फर्किएपछि हास्यकालाकार धुर्मुश र सुन्तलीले मुसहर बस्तिको एकिकृत विकासको लागि आफुहरु पनि लाग्ने बताए।  साथै यस बस्तिको विकासको लागि सरोकारावालाहरुलाई सहयोग गर्न सार्वजनीक रुपमा उनीहरुले अपिल गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ