arrow

विपी प्रतिष्ठानमा धेरै सुविधा थपिए : अब झण्झट झेल्नु पर्दैन विरामीले 

logo
प्रकाशित २०७४ भदौ १७ शनिबार
BPKISH.jpg

काठमाडौं । साढे दुई दशक लामो इतिहास बोकेको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय तीब्र गतिमा सुधारको बाटोमा लागिरहेको छ । प्रतिष्ठानको रुपमा वि सं. २०५० सालदेखि सञ्चालनमा आएको संस्था केही समय अघिसम्म सेवाग्राहीहरुको कडा अलोचनाको शिकार बन्दै आएको थियो । अस्पतालमा व्याप्त असुविधाको कारणले विरामी र विरामीका कुरुवाहरु आजित हुने गरेको प्रतिष्ठान भित्रको अस्पतालमा पछिल्लो ६ महिनादेखि देखिएको सुधारका कारण अहिले धेरैले राहतको महसुस गर्न थालेका छन् । 

यस अघि अस्पतालमा आउने विरामीका कुरुवाहरुले एउटा बस्ने कुर्सी समेत नपाउँदा विरामी सुत्ने बेडमा या त भुँईमा बस्नु पर्ने अवस्था रहेको थियो । अझ त्यो भन्दा पनि दुखद् कुरा त के थियो भने नेपालका पूर्बीक्षेत्रका सबै जिल्लादेखि मध्यतराई हुँदै भारतको विहारसम्मबाट विरामी आउने अस्पतालमा टिकट काट्नको लागि घन्टौंसम्म लाईन बस्नुपर्ने अवस्था थियो । प्रतिष्ठानका कर्मचारीहरु सम्झन्छन् ‘कहिलेकाहीँ त लाईनबस्ने विषयलाई लिएर सेवाग्राहीहरुबीच नै झगडा समेत पर्ने गथ्र्याै ।’

तर, त्यो समस्या अहिले सम्झनामा मात्रै सीमित भईसकेको छ । अहिले विरामीहरु आएर टिकटको लागि टोकन लिएर आफ्नो पालो नआएसम्म कुर्सीमा ढुक्कसँग बस्न सक्ने अवस्था रहेको छ । यसबाट दैनिक ३००० भन्दा बढी सेवाग्राहीहरुले सेवा पाईरहेको अस्पतालले जनाएको छ । इमर्जेन्सी वाडमा पनि अहिले धेरै सुधारका कामहरु भएका छन् । इमर्जेन्सी जस्तो संवेदनशील क्षेत्रमा विरामीका आफन्तहरुको बढी भीड हुँदा समस्या हुन थालेपछि अहिले अस्पतालले एक जना विरामी कुर्न बढीमा दुई जना कुरुवा मात्रै राख्न पाउने व्यवस्था गरिदिएको छ । अहिले उनीहरुलाई पनि बस्नको लागि पहिलेजस्तो समस्या नरहेको अस्पतालले जनाएको छ । जहाँसम्म इमर्जेन्सीमा विरामी कुर्नेहरुको लागि शौचालयको समेत समस्या थियो त्यो समस्या पनि अहिले हल भएको छ । 

टिकट काट्ने ठाउँ र इमर्जेन्सी वाडमा गत असार १ गतेदेखि यस्तो सुविधा थपिएको थियो भने छिट्टै नै अन्य धेरै सुधारका कामहरुको सुरुवात हुन लागिरहेको अस्पतालले जनाएको छ । 

६ महिनादेखि सुधारको सुरुवात, ३ महिनादेखि परिणाम 
केही महिना अघिदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको बाटोमा अघि बढीरहेको छ । नयाँ उपकूलपति बनेर आएका राजकुमार रौनियारले सुधार गर्ने क्रममा आफूले सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा देख्न सक्ने सुधार र अप्रत्यक्ष रुपमा हुने सुधारको पहिचान गरी सोही अनुसार काम गरिरहेको बताउनुभयो । उहाँले सेवाग्राहीहरुसँग प्रत्यक्ष रुपमा जोडिने अस्पताल भित्र रहेका समस्याहरुको पहिचान गरी सेवाग्राहीलाई महसुस हुनेगरी त्यस्ता समस्याको समाधान गर्ने तर्फ काम अघि बढिसकेको बताउनुभयो । अप्रत्यक्ष सुधारमा भने विद्यार्थी भर्ना प्रक्रियामा निष्पक्षता र पारदर्शीतासँगै प्रतिष्ठानको समग्र सुधारलाई पनि एकै पटक अघि बढाईएको उहाँले बताउनुभयो । 

पछिल्लो ३ महिनामा धेरै सुधारियो अस्पतालको सेवा 
स्वास्थ्य मन्त्रालयले गत जेठ १९ गते प्रतिष्ठान अन्तर्गत्को अस्पतालको निर्देशकमा वाल रोग विशेषज्ञ प्रा. डा. गौरीशंकर साहलाई नियुक्त गरिएकोे पत्र पठाएको थियो । चलानी नं २५९२ बाट पठाएको सो पत्र प्राप्त भएसँगै अस्पतालको कमाण्ड सम्हालेका साहले पनि छोटो समयमा नै उल्लेख्य मात्रामा सुधारका कामहरु गरेका छन् । उनको नेतृत्व आएपछि माथि उल्लेखित सुधारका कामहरु बाहेक पनि बृद्धबृद्धाहरुको लागि छुट्टै टोकनको व्यवस्था, पैसा तिर्न डिजिटल प्रविधिको व्यवस्था जस्ता सुधारका भईरहेको छ । 

अब अस्पतालमा मेसिनबाट नै पैसा तिर्न सकिने प्रणालीको सुरुवात गरिँदैछ । अस्पतालका निर्देशक साहका अनुसार यो प्रणालीपनि अबको केही दिनमा नै सुरु हुँदैछ । सो प्रणाली अनुसार सेवाग्राहीले अस्पतालमा राखिएको मेसिनमा गएर आफूलाई के सम्बन्धी समस्या हो र त्यसमा सामान्य उपचार गर्ने हो या त अप्रेसन नै गर्ने हो भन्ने मेसिनमा नै रहेको विकल्पमा क्लिक गरेपनि सोको लागि कति पैसा लाग्छ भन्ने जानकारी पनि त्यही मेसिनमा नै देख्न सकिन्छ । 

यसरी उपचारमा लाग्ने पैसा बुझाउन पनि अब घन्टौं लाईनमा बसेर काउन्टर धाईरहनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । तोकिए जति रकम मेसिनमा नै राखेपछि त्यहाँ एउटा कुपन आउँछ । सोही कुपनको आधारमा विरामीको उपचार गर्न सकिन्छ । यसो गर्दा काउन्टरमा गएर लाईन बस्ने जस्ता झण्झटबाट सेवाग्राहीहरु मुक्त हुने अपेक्षा अस्पतालले लिएको छ । यो प्रणालीको सुरुवात पनि केही दिनमा नै गरिने निर्देशक शाहले जानकारी दिए । 

त्यस्तै, तत्कालै रिपोर्ट चाहिने विरामीको लागि पनि विशेष सुविधा दिने उद्देश्यले फाष्ट ट्रयाकबाट रिपोर्ट पाईने प्रणालीको पनि सुरुवात गर्ने तयारी भईरहेको छ । तत्कालै रिपोर्ट लिएर अन्यत्रै जानुपर्ने र धेरै समय त्यहाँ बस्न सक्ने स्थिती नभएका सेवाग्रहीहरुका लागि १० प्रतिशत जति अतिरिक्त शुल्क लिएर तत्कालै रिपोर्ट दिन पनि अब केहीदिनदेखि सुरुवात गर्ने तयारी भईरहेको साहले जानकारी दिए । 

त्यस्तै, अस्पतालका शौचालयहरु फोहोर हुने गुनासो सुनेपछि अहिले अस्पतालले शौचालय सफा गर्नको लागि मोवाईल सफाई टोलीको सुरुवात गर्दैछ । उनीहरु दिनभरी नै शौचालय सफा गरिरहन्छन् । एकातिरबाट सफाई गर्दै जान्छन् र एकठाउँमा सकिएपछि फेरि सुरुदेखि नै सफाईका कामहरु गर्दे आउँछन् । यसो गर्दा सफाईको समस्या पनि समाधान हुने अस्पतालको अपेक्षा छ । 

लामो समयदेखि धरासायी बन्दै आएको विपी प्रतिष्ठान अहिले सुधारको बाटो तर्फ अघि बढिरहेको देखिन्छ । प्रतिष्ठानको अन्तिम लक्ष्य नै संस्थागत हित र सेवाग्राहीहरुको सुविधा रहेकोले पनि यी दुई क्षेत्रमा भईरहेको सुधारले अझै निरन्तरता पाउँदै जाने हो भने प्रतिष्ठान नेपालकै एउटा उत्कृष्ट स्वायत्त स्वास्थ्य शिक्षण संस्थाको रुपमा पहिचान हुन गाह्रो छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ