arrow

सन्दर्भ राष्ट्रिय शिक्षा दिवसः सामुदायिक विद्यालयमा विद्यार्थीको पातलो उपस्थिति

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
School-students.jpg.jpeg

जनकपुर । राष्ट्रिय आधारभूत विद्यालय हाँसपट्टीमा कक्षा ४ मा २७ जना विद्यार्थी भएकामा भदौ १९ गते सातजना मात्र विद्यालय आए । सोही दिन २८ जना विद्यार्थी भएको कक्षा ३ मा १६ जना विद्यार्थीको हाजिरी देखिन्छ । 

मुलुकले यही भदौ २३ गते ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने नाराका साथ ३८ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तरराष्ट्रिय साक्षरता दिवस मनाउँदै गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति निराशाजनक देखिनु चिन्ताको विषय हो । 

भदौ २० गते पनि उक्त विद्यालयमा कुल विद्यार्थी १९० मध्ये करिब ५० प्रतिशत विद्यार्थी मात्र उपस्थित थिए । पाँच शिक्षक रहेको विद्यालयमा स्थानीय निर्वाचनको पूर्व तयारीका साथै बाढीको प्रभावका कारण केही विद्यालय अझै अस्तव्यस्त भएकाले विद्यार्थी कम आएको मानिएको छ । सामान्य अवस्थामा पनि शतप्रतिशत विद्यार्थी उपस्थित हुने वातावरण नमिल्ने विद्यालयका शिक्षक बताउँछन् । 

विद्यालयका निमित्त प्रधानाध्यापक सुरेन्द्रलाल कर्ण विद्यार्थी बोलाएमा बिदाको दिन पनि आउन तयार हुने तर सबै विद्यार्थीको उपस्थिति कठिन हुने बताउँछन् । साउनमा वर्षे बिदा, त्यसअघि र पछि पनि विभिन्न राष्ट्रिय तथा स्थानीय बिदाले यो शैक्षिक सत्रमा वैशाख यता मुस्किलले दुई महिना पढाइ भएको छ । 

शिक्षा नियमावलीमा वार्षिक २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन विद्यार्थीको हाजिर हुनुपर्ने उल्लेख छ । 

राष्ट्रिय आधारभूत विद्यालय, देवडिहामा सोही दिन कक्षा ६ मा ४२ जना विद्यार्थी भर्ना भएकामध्ये २२ जनामात्र उपस्थित भएका छन् । अधिकांश दलित विद्यार्थी रहेको यस विद्यालयमा विद्यार्थीको नियमित उपस्थितिका लागि अभिभावक सक्रिय हुनुपर्ने देखिन्छ । प्रधानाध्यापक प्रेमलाल पासवानका अनुसार विगत पाँच वर्षदेखि विद्यालयको व्यवस्थापन समितिको निर्वाचन हुन सकेको छैन । 

स्थानीय तहको निर्वाचन भएपछि सम्बन्धित क्षेत्रमा पर्ने विद्यालयमा जनप्रतिनिधिले विशेष चासो नदिएसम्म विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति र गुणस्तरीय पढाइमा सुधार नआउने देखिन्छ । 

जिल्ला शिक्षा अधिकारी यामबहादुर खड्का तराई मधेशका विद्यालयमा सुशासन कायम र गुणस्तरीय शिक्षा चुनौतीपूर्ण रहेको बताउँदै आफूले सबै सरोकारवालासँग छलफल गरेर गुणस्तर र सुशासन सुधारका लागि कार्ययोजना ल्याउने तयारी गरिएको जनाउँछन् ।  

उनले जिल्लामा माध्यमिक तहको शिक्षक दरबन्दी मिलान भइसकेकाले अब आधारभूत ९विगतको प्राथमिक र निमावि० तहको शिक्षक दरबन्दी मिलानको योजना रहेको बताए । 

सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादवले जिल्लामा ९० प्रतिशत विद्यालयका व्यवस्थापन समिति रिक्त रहेकाले पनि विद्यालय सुशासनमा समस्या उत्पन्न भएको जनाए । 

जिल्लामा हाल सामुदायिक विद्यालय ४२८, मदरसा ९१, प्रारम्भिक बाल विकास ३१३, प्राविधिक विद्यालय सात र निजी विद्यालय १२८ छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ