arrow

सुआहारा कार्यक्रममा जनप्रतिनिधि र गैसस बाधक

हजार दिनका बच्चाको स्वास्थ्यमा खेलवाड

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ भदौ २६ सोमबार
suaahara.JPG

स्याङ्जा । स्याङजामा सञ्चालन हुन लागेको सुआहारा दोस्रो चरणको कार्यक्रम लागु गर्नमा जिल्लाका ११ स्थानीय तह मध्ये ७ स्थानीय तहका एमाले निकटका प्रमुख तथा प्रतिनिधिहरुले गैर सरकारी महासंघ जिल्ला शाखाको उक्साहटबाट सृजना गरेको विवाद कारण सञ्चालनमा ढिलाई भईरहेको छ ।

 एक हजार दिनका वच्चा र आमाको सुरक्षाका लागि आएको दोस्रो चरणको कार्यक्रम सुआहारा जनप्रतिनिधि र गैर सरकारी महासंघ बाधक बनेको खुल्न आएको छ । सुआहारा कार्यक्रम सञ्चालनका लागि हेलेन केलर इन्टरनेशनलले प्रस्तावना माग गरेको थियो । करिव एक बर्ष अगाडी कार्यक्रम संचालनका लागि जिल्लामा रहेका इच्छुक गैर सरकारी संस्थालाई माग गरे बमोजिम ७ ओटा संस्थाले आवेदन दिएका थिए ।

७ संस्था मध्ये दियालो, अन्धाअन्धी र अभियान परामर्स सेवा केन्द्र संस्थाहरु प्रारम्भिक छनोटमा परेका थिए । तिन संस्था मध्ये सुआहारा कार्यक्रम संचालनका लागि दियालो गैर सरकारी संस्था छनोट भएपछि जिल्लामा विवाद शुरु भएको छ । पहिलो चरणको कार्यक्रम गरेको आपसी सहयोग केन्द्र(आक्स) लाई दोस्रो चरणको कार्यक्रम नपाएपछि विवाद शुरु भएको हो । आक्सले गैर सरकारी महासंघमा स्याङ्जामा छनोट प्रक्रियामा अनियमितता भएको भन्दै छानविनको माग गर्दै निवेदन दिएपछि यसको विवाद चरम उत्कर्समा पुगेको छ ।

गैसस महासंघ स्याङ्जाले जिल्लाका ११ ओटा स्थानीय तहमा सुआहारा कार्यक्रम लागु नगरिदिन आग्रह गरेपछि एमाले समर्थक स्थानीय तहमा कार्यक्रम रोक लगाईएको छ । ११ स्थानीय तहमा ४ नेपाली काँग्रेस र ७ एमाले विजयी भएको छ । एमालेले पत्र नै पठाएर सुआहारा कार्यक्रम लागु नगर्न र नगराउन निर्देशन दिएपछि यो कार्यक्रममा अहिले आएर राजनीति हावी भएको छ ।  बच्चा र आमाको पोषण तथा स्वास्थ्य सम्वन्धी कार्यक्रम संचालन गर्दै आएको सुआहारा कार्यक्रमलाई गैसस महासंघको गैह्र जिम्मेवारी र जनप्रतिनिधिले कार्यन्वयनमा रोक लगाउनु दुःखद भएको सरोकारवालाहरुले बताएका छन् ।

 आफु निकटको संस्थाले कार्यक्रम नपाएपछि गैसस महासंघले कार्यक्रम संचालनमा बाधा पुर्‍याई १ हजार दिनका वच्चा र आमाको स्वास्थ्य माथी खेलवाड गरेको आरोप लागेको छ । यता एमाले समर्थक विजयी भएको नगरपालिका र गाँउपालिकामा यो कार्यक्रमलाई रोक लगाउनुले भोलिका दिनमा स्थानीय तहमा हुने विकासमा समेत शंका उत्पन्न गरेको छ ।

जिल्लामा आमा र बच्चाको पोषण सम्वन्धी कार्यक्रमले सुधार ल्याइरहेका बेला दोस्रो चरणको सुआहारा कार्यक्रम संचालनमा विवाद उत्पन्न गरेर पुन आमा र बच्चाको स्वास्थ्य पुरानो ढुङ्गे युगमा फर्काउन खोजीएको भन्दै केही गैर सरकारी संस्थाले गैसस प्रति चर्को आलोचना गर्न थालेका छन् ।

गैसस महासंघले विवाद बढाएपछि कार्यक्रम अगाडी नबढेको चर्चा बाहिर आएपछि आइतवार गैर सरकारी सस्था महासंघ स्याङजाले पत्रकार सम्मेलन गरेर सुआहारा कार्यक्रम सञ्चलनमा महासंघ बाधक नभएको वताएको छ । पत्रकार सम्मेलन गरेर स्याङजा शाखाका अध्यक्ष कमल प्रसाद पौडेलले जिल्लाको जुन सुकै संस्थाले कार्यक्रम सञ्चालनको जिम्मेवारी पाए पनि आफूहरुले सहयोग गर्ने दावी गरे ।

अध्यक्ष पौडेलले भने “कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएको दियालो संस्था पनि हामीसँग आवद्ध छ उसले सञ्चालन गर्ने कार्यक्रम सफल पार्नु महासंघको दायित्व हो” ।  पत्रकार सम्मेलनमा विवाद शुरु गर्ने संस्था आक्स र अन्धाअन्धी गैर सरकारी संस्थालाई मात्रै वोलाएर महासंघले कार्यक्रम संचालन गरेको थियो । सुआहारा कार्यक्रम संचालनको जिम्मेवारी पाएको संस्था दियालोलाई पत्रकार सम्मेलनमा किन आमन्त्रण गरिएन भन्ने पत्रकारहरुको जिज्ञासामा वोलाउनु पर्नेमा नवोलाईएकोमा गल्ती भएको स्विकार अध्यक्ष पौडेलले गरे ।

गैसस महासंघले आयोजना गरेको पत्रकार भेटघाटमा एकलौटी ढंगले महासंघले आक्सलाई उचाल्ने काम गरिएको गुनासो आएको छ नी भन्ने पत्रकारहरुको जिज्ञासामा महासंघले समन्वय गर्ने भुमिका खेलेको तर कुनै संस्थालाई काखा र पाखा नगरिएको अध्यक्ष पौडेलले बताए । सुआहारा कार्यक्रम संचालन गर्न दिने वा नदिने भन्ने विषयमा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा दुई नगरपालिका र दुई गाँउपालिकाका प्रमुखहरुको समस्या समाधान समिति बनेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ