arrow

अन्तर्राष्ट्रिय सम्मेलन गरी २५६० औँ बुद्धजयन्ती मनाउने तयारीमा सरकार

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
काठमाडौँ । सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी २५६० औँ बुद्धजयन्ती मनाउने तयारी गरेको छ । सम्मेलन गर्न बौद्ध गुरुसँग आज मन्त्रालयमा गरिएको छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले एक हप्तासम्म चल्ने यो सम्मेलन धार्मिक र प्राज्ञिक दुवै हुने बताउनुभयो । मन्त्री पोखरेलले भन्नुभयो – “विश्व शान्तिको सन्देश लिएर गौतम बुद्ध नेपालमा जन्मिए । बुद्धत्व प्राप्त नगरी जन्मिएको भए एकैपटक परिवार, राजदरबार र श्रीपेच तीन कुरा त्याग गर्न कसरी सक्थे ? जन्मदै बुद्धत्व प्राप्त नगरेको भए यो कुरा सम्भव थिएन ।” 
 
नेपालमा बुद्ध जन्मिएको भन्ने सत्यलाई बिर्सिएर अहिले पनि कतिपय देशको पाठ्यपुस्तकमा भारत उल्लेख भएको पाइएको र त्यसबारे आफूले ती देशसँग दूतावासमार्फत पाठ्यपुस्तकमा परिमार्जन गर्न आग्रह गरेकोसमेत जानकारी उहाँले दिनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले बुद्ध दर्शनले विश्वलाई नेतृत्व दिनसक्ने विचार प्रकट गर्दै त्यसका लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न जरुरी भएको बताउनुभयो । 
 
बौद्ध गुरु तोक्वोचे मोनास्टी (औतारी लामा) ले गौतम बुद्धलाई संसारले दिएजस्तो महत्व जन्मथलो नेपालले दिन नसक्दा विभिन्न खालका भ्रम पैदा भएको बताउनुभयो । बौद्ध गुरु छुकिनिमा रिम्पोचे र ज्ञानपूर्णिक महास्थविरले बुद्धका सुरुका चेलाहरु नेपालकै हिन्दू गुरुहरु भएको र ताम्रपत्रमा अझै इतिहास सुरक्षित रहेको स्पष्ट पार्नुभयो । 
 
सरकारले २५६०औँ बुद्धजयन्तीका अवसर पारेर नेपालमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागेको हो । त्यसका लागि मूल आयोजक समिति बनाउन बौद्ध धर्म गुरुहरुसँग आज छलफलको आयोजना गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ