arrow

कार्यदल सदस्यको भागा–भाग‍‍

छलफलको गति र प्रगति गर्भमै

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
3-party-and-morcha-task-force.jpg.jpeg
काठमाडौं । मधेस समस्या समाधान र सीमाङ्कन हेरफेरका लागि कार्यविधि तयार पार्न गठित कार्यदल र सरकारबीच विहिबार गम्भीर छलफल हुने तयारी छ । विहिबार दिउँसो १ बजेलाई बैठक डाकिएको छ । यद्यपि, सत्ताधारी दलका कार्यदल सदस्यहरु बेपत्ता छन् । सवै विषय टुंगो लगाउने गरी बुधवार आफ्ना दलका शीर्ष नेताहरुसंग छलफल गर्ने बताएर मंगलबारको बैठक सक्काएका सत्ताधारीहरुको चालामालाले निर्णय तहको छलफल हुने सम्भावना न्यून छ । 
 
मंगलबार बैठकबाट निस्कँदा गृहमन्त्री शक्तिबहादुर बस्नेतले विहिबार निर्णय हुन सक्ने बताएका थिए । यस्तै, तमलोपा उपाध्यक्ष तथा कार्यदल सदस्य हृदयेश त्रिपाठीले विहिबारको छलफल गम्भीर हुने बताए । विपक्षी दल कांग्रेस सांसद एवं कार्यदल सदस्य महेश आचार्यले विहिबार सवै विषय टुंग्याउने तयारीमा आफुहरु रहेको बताएका थिए । बुधबार हाम्राकुरासंग आचार्यले भने,‘आ–आफ्नो दलभित्र छलफल भइरहेकै छ , उहाँहरुले छलफल गरे–नगरेकाबारे जानकारी छैन ।’ भोली के हुन्छ भन्नेबारे भोली नै भनौंला । 
 
कार्यदलमा मधेसी मोर्चासंगको सम्वादबारे बढी जानकार र जिम्मेवार मानिएका कार्यदल सदस्य एवं उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावलले टेलिफोन रिसिभ गरेनन् । रावलकै व्यस्तताले सोमबारको बैठक बस्न सकेन भने मंगलबारको बैठकमा अनुपस्थित रहे । सत्तागठबन्धनको अर्को ठूलो शक्ति एकिकृत माओवादी महासचिव तथा कार्यदल सदस्य कृष्णबहादुर महरा पहिलो दिनको बैठकयता देखिएकै छैनन् । बुधबार दिनभर महराको फोन स्वीच अफ थियो । 
 
अघिल्लो विहीबारबाट सुरु भएको कार्यदल बैठक मंगलबार दिउँसो पनि सिंहदरबारमा बस्यो । तर, सरकारी कार्यदल सदस्य उपप्रधानमन्त्री रावल पार्टीको आन्तरिक कार्यक्रम र स्वास्थ्य भवन उद्घाटनका लागि नेपालगन्ज पुगे । दिउँसो २ बजे बस्ने भनिएको बैठक एक घण्टा पछि सारिएपनि रावल फिर्ता हुन सकेनन् । ३ बजे पछी बैठक सुरु हुँदा रावल कार्यक्रममा थिए । उनका सहयोगीले तत्काल फर्किन नसक्ने बताए । सोमबार समेत रावल सैनिक अस्पताल छाउनीको निरीक्षण भ्रमणतिर लागे । अन्य सदस्यलाई सरकारी प्रतिनीधिले जानकारी दिएनन् । दिउँसो १ः३० बजे बस्ने भनेको बैठक साँझ सम्म पनि बस्न सकेन । निर्णायक छलफलमा बस्नु अघि सत्तारुढ दलका कार्यदल सदस्यले आफ्नो पार्टीका शीर्ष नेतासंग सीमांकन हेरफेरका लागि छलफल गर्ने प्रण गरेकामा प्रस्तावित राजनीतिक संयन्त्रबारे परामर्श गर्ने जमर्कोसम्म गरेका छैनन् । 
 
सरकारी कार्यदल सदस्यको भाग–भाग चलिरहँदा मंगलबारको बैठकमा उपप्रधानमन्त्री रावलको ठाउँमा कानुनमन्त्री अग्निप्रसाद खरेल देखिए । उनको उपस्थिति औपचारिकता मात्रै ठहरियो । खरेल प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधि, संवैधानिक वैधताबारे भइरहेको छलफलका सन्दर्भमा अनविज्ञ थिए । कार्यदल सदस्य महरा पार्टी संगठनकै दौडाहामा काठमाडौं बाहिरै छन् । मंगलबार पनि महरा अनुपस्थित भएपछि सट्टामा गृहमन्त्री शक्तिबहादुर बस्नेत बैठकको अन्तिम समयमा आत्तिदै भित्र छिरे । मन्त्री बस्नेत छिर्दा सम्म दुई घण्टा घर्किसकेको थियो । 
 
बस्नेतले आफुलाई बैठकबारे जानकारी नभएको र अकस्मात् फोन आएकाले आत्तिदै आएको सुनाए । कार्यदल सदस्य हृदयेश त्रिपाठीका अनुसार बैठक सवा दुई घण्टामात्रै चलेको थियो । दुई घण्टा ढिला गरी छिरेका गृहमन्त्रीले १५ मिनेटमा के छलफल गरे होलान् ? सोझै अनुमान गर्न सकिन्छ । यद्यपि, कार्यदल सदस्यहरुले लिखित सहमति नभए सम्म सुचना नचुहाउने रणनीति अपनाएकाले छलफलको गति र प्रगति गर्भमै छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ