arrow

मधेशमा मत कसलाई – राष्ट्रियताको परिभाषा आफूअनुकुल गर्नेलाई कि मध्यस्थकर्तालाई ?

logo
धर्मेन्द्र झा,
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
dharmendra_jha.jpg

काठमाडौं । मूल मधेशका रुपमा परिचित प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन आसन्न छ । तेस्रो चरणअन्तर्गत मधेशमा आजको तीन दिनपछि अर्थात् असोज दुई गते स्थानीय सरकार गठनका लागि निर्वाचन भइरहेको छ । यो स्वयंमा अत्यन्त महत्वपूर्ण सन्दर्भ हो । विगत दुई दशकदेखि कुनै न कुनै वाहानामा रिक्त रहेको स्थानीय सरकारले अब यो निर्वाचनपछि पूर्णता प्राप्त गर्नेछ । निर्वाचनपछि संविधान कार्यान्वयन्सँगै यस प्रदेशमा लोकतन्त्रको नयाँ ढंगले प्रारम्भ हुने विश्वास गर्न सकिन्छ । यस निर्वाचनको महत्वपूर्ण पक्ष हो, विगत लामो समयदेखि आन्दोलनमा रहेको जनाउ दिँदै दुई चरणमा सम्पन्न छ वटा प्रदेशको निर्वाचनमा सहभागी नभएको मधेशकेन्द्रित दलहरु (हालको राष्ट्रिय जनता पार्टी, राजपा) मधेशको यस निर्वाचनमा सहभागी हुनु हो । 

राजपाको सहभागिताले निर्वाचनलाई रोचक त बनाएको छ नै सँगै लोकतन्त्रको विजयको उद्घोष पनि गरेको छ । लामो समयको संघर्ष र आन्दोलनमा रहेको राजपालाई चुनावका माध्यमबाट लोकतन्त्रको मूल प्रवाहमा ल्याउनु आवश्यक थियो, जो पछिल्लो दिनमा सफलतापूर्वक सम्पन्न भएको छ । यस दृष्टिले हेर्ने हो भने चुनावले संवादको काम गरेको छ । चुनावी मैदानमा राजपाको प्रवेशले कसलाई फाइदा र कसलाई वेफाइदा हुन्छ भन्ने कुराको विश्लेषण पछि पनि गर्न सकिएला, अहिलेलाई हेर्ने हो भने मधेशमा आगामी दिन शान्तिपूर्वक व्यतित हुने विश्वास गर्न सकिन्छ ।  

मधेशकेन्द्रित दल खास गरी राजपाले विगतमा सञ्चालन गरेको आन्दोलनको स्वरुपमा अहिले परिवर्तन गरेको छ । राजपा र अन्य मधेशी दलका अनुसार निर्वाचन पनि संघर्षकै मोर्चा हो र निर्वाचनबाट भावी आन्दोलनका लागि शक्ति सञ्चय गर्न सकिन्छ । विगतमा मधेश—भूमीमा आन्दोलन हाँकेका नेताहरु पछिल्ला दिनमा मधेशका गाउँगाउँमा चुनावी आन्दोलन हाँकिरहेका छन्, यो खुसीको कुरा हो । विगतमा कहिले अनशनका नाममा त कहिले विविध प्रकारका प्रदर्शनका नाममा राजधानीका सडकहरुमा सीमित हुन खोजेको आन्दोलनको भविष्य—प्रभाव र औचित्यको मूल्यांकन अहिले चुनावका सन्दर्भमा विश्लेषकका लागि रुचीको विषय बन्न पुगेको छ । 

मधेशको आन्दोलन कुनै न कुनै रुपमा अस्तित्वमा रही जारी रहेको प्रमाणित गर्ने प्रयत्न भइरहेको वर्तमानमा नयाँ ढंगले पक्ष र विपक्षमा तर्क तयार गर्ने कार्य भइरहेको छ । तर्क—वितर्कको यो अवस्थाले समाज विभाजित हुने अवस्थामा पुगेको छ, जो दुखद छ । यसपटकको चुनावमा यही अवस्था मुखरित भएको छ । विगतमा आन्दोलनरत पक्षभित्रैबाट निर्वाचनमा सहभागी हुने या नहुनेबारे विद्यमान विवादको पृष्ठभूमीमा हुन गइरहेको यो निर्वाचन ती दुवै पक्षका लागि सहज भने छैन ।  

मधेशको आन्दोलन विगतमा जुन गतिमा क्रमशः उकालो लागेको थियो त्यही गतिमा यहाँको मनोविज्ञानमा पनि परिवर्तनको अनुभव गरिएको छ । यो आलेख तयार गर्ने सन्दर्भमा पंक्तिकारले प्रदेश नम्बर दुईका आठै जिल्लाको भ्रमण गर्ने अवसर प्राप्त गरेको थियो । मध्य तराईस्थित व्यापारिक सहर वीरगञ्जले विगतको मधेश आन्दोलनमा केन्द्रीय भूमीका रुपमा नयाँ परिचय स्थापित गरेको. हो । त्यसै गरी जनकपुर र राजविराजको भूमिका अत्यन्त महत्वपूर्ण थियो । त्यसबेलाको आन्दोलनको एक केन्द्र वीरगञ्ज पनि थियो । त्यसवेला वीरगञ्ज सहरको ‘मुड’ वेग्लै थियो, तर अहिलेको ‘मुड’ वेग्लै छ । कुरो वीरगञ्ज सहरको मात्र होइन अहिले निर्वाचनको रंगले रंगिएको पुरै मधेशकै ‘मुड’मा परिवर्तनको अनुभव गरिँदैछ । 

दिनगन्तीका हिसावले निर्वाचनको दुरी जति घटिरहेको छ अवस्था त्यसरी नै फेरिँदैछ । आज मधेशवासी मधेश आन्दोलनपहिलेको अवस्था, आन्दोलनकालीन अवस्था र आन्दोलनपछिको अवस्थाको तुलना गरिरहेका छन् र आफूहरुको अवस्थाको पुनर्मूल्यांकनको प्रयास गरिरहेका छन् । यसपटकको निर्वाचनमा यी विषय मुद्दा बनेका छन् र सम्भवतः मतदाताले मतदान गर्ने धेरै आधारमध्ये यो एक आधार हुनेछ । 

यस्तै मुद्दा नेपाली कांग्रेस (जसले यस देशमा प्रजातन्त्रप्राप्तिपछिका दिनमा सबभन्दा बढी शासन सञ्चालन गर्यो) का सन्दर्भमा पनि बनेका छन् । यसै गरी राष्ट्रियताको नयाँ परिभाषा कोर्ने एमालेका सन्दर्भमा पनि चुनावी मुद्दा बनेको छ । यतिमात्र होइन परिवर्तनको मुद्दा आफूहरुले उठाएको दावी गर्ने नेकपा माओवादी पनि जनताको कठघरामा उभिएर जवाफ दिन बाध्य छ, मुद्दा उसका सामु पनि छ ।  वास्तवमा  मूल्यांकनको मूख्य विषय यही नै हो । विगतको आन्दोलन र माथि उल्लेख गरिएका दलका नीतिका आधारमा स्थानीय र राष्ट्रिय राजनीतिक अवस्थामा कस्तो परिवर्तन आयो ? आर्थिक गतिविधिमा के प्रभाव पर्यो र समाज कुनरुपमा रुपान्तरित भयो ? आम मधेशवासीका लागि अहिले यी विषय विश्लेषणयोग्य छन् र निश्चय पनि यी विषयले मधेशका मतदाताको मनःस्थिति प्रभावित गर्नेछ । 

यी सबै परिदृश्यबीच एउटा भने मनन्योग्य अवस्थाको विकास भएको छ, त्यो के भने मधेशले नयाँ ढंगले परिचय स्थापित गर्ने र परिभाषित हुने अवसर प्राप्त गरेको छ । यसका साथै मधेशले एकपटक फेरि सम्बोधित हुन नसकेको पीडा सँगाल्न बाध्य हुनुपरेको छ । मधेशलाई अहिले लागेको छ— आन्दोलनका नाममा कसैले आफूलाई प्रयोग गरेको छ । अनुभव अर्को पनि छ— केहीले नेपाली राष्ट्रियतालाई आफूअनुकुल परिभाषित गरी भविष्यका लागि राजनीति सुरक्षित गर्ने प्रयत्न गरेका छन् । र केही भने मध्यमार्गी धार अँगाल्दै बाध्यात्मक अवस्थामा मधेशका मुद्दालाई सम्बोधनको रणनीतिमा रहेको अनुभव पनि छ । यथार्थ के हो भने यी तीनथरी मनोदशाले मधेशको शोषण गर्ने काममात्र गर्यो । यस्तो मनोदशाले मधेशलाई एक पाइला पछाडि धकेल्ने काम गरेको छ भन्दा अस्वाभाविक हुँदैन । अहिलेको परिप्रेक्ष्यमा मधेश र यहाँका मतदातासामु ठडिएको मुख्य मुद्दा यही नै हो । 

मधेशमा अहिलेको यथार्थ फरक छ र यसलाई यसै आधारमा विश्लेषण गरिनु उचित हुन्छ । मधेशको राजनीति नयाँ ढंगले परिवर्तित हुँदैछ । समाज फरक आधारमा रुपान्तरित हुँदैछ र मधेशवासीको मनोदशा खास आधारमा विकसित हुँदैछ । थुप्रै प्रश्न विद्यमान छन् जसका उत्तर अपेक्षित छन् । मधेशवासी एकपटक फेरि आफूहरुको पक्षमा कुन राजनीतिक दल क्रियाशील छन् भन्ने खोजी गर्ने अवस्थामा पुगेका छन् । यसको जवाफ मधेशले यसपटकको स्थानीय तहको निर्वाचनका माध्यमबाट दिनेछ । विगतको विश्लेषण गर्ने हो भने पछिल्लो दिनमा मधेशमा राजनीतिक नेतृत्वका दृष्टिले ठूलो रिक्तताको अवस्था सिर्जना भएको निष्कर्ष निकाल्न सकिन्छ । 

शायद यही रिक्त अवस्थाको मूल्यांकन गरेर होला, मधेशकेन्द्रितभन्दा बाहेकका राजनीतिक दलहरु मधेशबारे नयाँ रणनीति बनाउन सक्रिय देखिएका छन् र यसको प्रकटीकरण निर्वाचनमार्फत् हुँदैछ । सबैजसो राजनीतिक दलका शीर्ष नेतृत्व यतिखेर मधेशकेन्द्रित हुनुले पनि यसको पुष्टि गर्दछ ।  राजनीतिक दलका गतिविधिलाई स्थानीय जनताले बडो गम्भीरतापूर्वक नियालिरहेका छन् । अर्कोतिर मधेशकेन्द्रित दल (जसको आधार पहाड र हिमालमा छैन) हरु पनि आफ्नो मूल र एकमात्र आधारभूमीका सम्बन्धमा नयाँ रणनीति निर्माण गर्न तल्लीन छन् । मधेशका जानकारका अनुसार विगतको आन्दोलनले मधेशकेन्द्रित दललाई शक्ति प्रदान गरेको निश्चय पनि हो तर अहिले त्यही शक्तिको वितरणको विषय समस्या बनेको छ । मधेश आन्दोलनको यस र आन्दोलनबाट प्राप्त शक्ति सबैभन्दा बढी कसले लिने भन्ने मनोवैज्ञानिक दवावले सम्वद्ध दललाई थिलथिलो बनाएको सत्य हो । 

माथि उल्लेखित विषयको सन्दर्भमा आत्मपरीक्षण महत्वपूर्ण माध्यम हुन सक्छ, निर्वाचन । यसपटकको निर्वाचनमा सबैले आफूलाई परीक्षण गर्ने र जनमत प्राप्त गर्ने प्रयास गरिरहेका छन् । मधेशमा सक्रिय दलहरु निर्वाचनका माध्यमबाट आफ्नो संगठनलाई विस्तार गर्न र आन्दोलनको धङधङी कायम राखिरहन चाहन्छन् । मधेशकेन्द्रित दलहरु विगतको आन्दोलनको परिणामको लेखाजोखा गर्न पनि व्यस्त रहेको मत जानकारहरुको छ । यस विधिबाट उनीहरु परिवर्तित परिवेशमा आफ्नो जनमत परीक्षणका माध्यमबाट नयाँ रणनीति निर्माणको प्रयत्न गर्न चाहिरहेका छन् भनेर बुझियो भने अस्वाभाविक हुने छैन ।

मधेशवासीलाई माथि गरिएको विश्लेषणबारे राम्रै जानकारी छ । विगतको तुलनामा चेतनाको सार्थक विकास भएको छ । अब यहाँका वासिन्दा विगत र वर्तमानको तुलना गर्ने क्षमता राख्दछन् । यस आधारमा एक सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ—अब राजनीतिक दलले भनेकै भरमा र तिनले उठान गरेका मुद्दाका आधारमा मात्र मधेशको मत निर्देशित हुने अवस्था छैन । अब यहाँका जनताले जे मुद्दा उठान गर्छन् र तिनको समाधान जसरी चाहन्छन् त्यही आधारमा मधेश निर्देशित हुने पक्का छ ।
(यो लेख जनकपुर टुडेमा पनि प्रकाशित भएको छ)
 



नयाँ