arrow

पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा 

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
nepal-idol.png

काठमाडौं । नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन् । कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन् । 
 
 उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन् ।

यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । 

बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे ।

एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए । 

निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए ।

फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ