arrow

चुनाव अघि नै एमालेसँग पार्टी एकता गर्ने कुरा छ (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
dev-gurung_.jpg.jpg

माओवादी केन्द्रले एमाले लगायतका दलसँग प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्ने रणनीति लिएको छ । माओवादी केन्द्रको सचिवालय बैठकले निर्वाचनका लागि आवश्यक तालमेलदेखि पार्टी एकता गर्नेसम्मको निर्णय गरेको छ । दुवै निर्वाचनमा दुई पार्टीबीच सहमति जुटे एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने समेत छलफल भएको छ । यद्यपि, माओवादी केन्द्रका नेताहरुले चुनावी तालमेल भन्दा पनि पार्टी एकता नै अहिलेको मुख्य अभ्यास हो भनेका छन् । एमालेसँग पार्टी एकता गर्ने नै हो त, तत्काल एकता हुने आधार के ? हामीले माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य देव गुरुङसँग कुरा गरेका छौँ ।

एमालेसँग तालमेल वा पार्टी एकता भनेर छलफल गर्नु भएछ, निर्णय भयो भन्ने कुरा आयो, के निर्णय भएकै हो ?
–अहिले नै अन्तिम नै भइसकेको छैन । छलफलहरु चलिराखेको छ । पार्टी एकताकै बारेमा छलफल चलिराखेको छ । चुनावी तालमेलको कुरा त सामान्य नै हो नि । यो त हामी काँग्रेससँग पनि गर्दै आइरहेको हो । एमालेसँग भयो भने पार्टी एकताकै तहसम्म हुन सक्छ । यही विषयमा छलफल चलिरहेको छ ।

एकता वा तालमेल गर्ने निधो भइसकेको हो र ?
–निर्णय भइसकेको छैन ।

यो अल्पकालिन गर्ने हो कि दीर्घकालीन गर्ने हो ?
–पार्टी एकता भनेको त दीर्घकालीन विषय नै भइहाल्यो । तालमेल भन्ने कुरा अल्पकालीन हो । त्यो त हाम्रो काँग्रेससँग पनि हुँदै आइरहेको छ । भयो भने दीर्घकालीन रुपमै पार्टी एकताको कुरा हो । विचार मिले पार्टी एकता जो कोहीसँग हुन सक्ने भो । पहिले देखि हामीहरुले भन्दै आएको विषय नेपालमा कम्युष्टिहरुबीच एकीकरण र नयाँ ढंगको सहकार्य जरुरी छ भन्ने नै हो । वृहतरुपमा कम्युनिष्ट एकता गर्न जरुरी छ । यही कुरालाई मध्यनजर गरेर गएको वर्षबाटै हामीले यसको थालनी गरेका हौँ । ढिलो चाँडो यो एकिकरणको प्रक्रिया बढ्दै जान्छ ।

मैले जान्न खोजेको, चुनावसम्म मात्रै हो कि, त्यो भन्दा परसम्म जान्छ ?
–चुनाव त सामान्य कुरा भयो । चुनावमा त कैले कसैसँग तालमेल हुन्छ, कहिले कसैसँग सहकार्य हुन्छ । चुनाव मात्रै ठूलो कुरा भएन ।

त्यसो भए, सबै ठाउँमा तालमेल हुन्छ कि ठाउँ अनुसार फरक–फरक दलसँग तालमेल हुन्छ ?
–यो तालमेलको विषय भन्दा पनि पार्टी एकताको विषय पर्‍यो । हामी त्यसमा केन्द्रीत भएका छौँ ।

अहिलेको जोड नै पार्टी एकता हो ? हामीलाई झुक्याउनु भा त होइन ?
–पार्टी एकताकै अभ्यास हो । तालमेल त काँग्रेससँग भइराखेकै छ नि । पार्टी निर्माण र पार्टी एकताकै विषयमा कुरा गर्न खोजिएको हो ।

अहिले आएर किन पार्टी एकीकरण आवश्यक भो, किन खड्कियो यो विषय ?
–होइन कम्युनिष्टहरु एकिकरण हुने पार्टी एकता गर्ने क्रम त चलिराखेकै कुरा हो । गएको वर्षदेखि सुरु भएर अहिलेसम्म आइपुग्दा नयाँ शक्तिका धेरै जसो साथीहरुसँग पनि एकिकरण भयो । अन्यसँग पनि एकिकरण हुँदै गइराखेको छ । यही क्रममा एमालेसँग पनि एकीकरणमा जान सकिन्छ भन्नेमा हामी प्रष्ट छौँ । केही कुरा नमिलेका होलान् ति कुराहरुमा छलफल गर्न बाँकी छ । नमिलेका विषयमा समान र सकारात्मक धारणा बन्यो भने एकीकरण गर्न सकिन्छ भन्ने कुरा त भइराखेकै विषय हो । यो नौलो विषय होइन ।

यो कम्युनिष्ट पार्टीहरु धेरै भएर कि, अहिलेको निर्वाचन प्रणालीले दुःख दियो तपाईहरुलाई ? एकताको गर्न खोज्नुको कारण के ?
–निर्वाचन प्रणाली त एउटा पाटो भयो । त्यो एउटा पक्ष भयो । कम्युनिष्टहरुबीचमा एकता जरुरी छ । कम्युनिष्टहरु खण्ड–खण्ड र टुक्रा–टुक्रामा छन् । अब यो विखण्डित भएर त भएन । वैचारिक रुपमा छलफल गर्नु पर्ने कुराहरु एउटै थलोमा बसेर गर्न सकिहालिन्छ  । एउटै थलोमा छलफल गरौँ । सहमतिको बाटो खोजौँ । तत्कालको सहमतिले जे निधो गर्छ त्यो कार्यान्वयन हुन्छ । असहमति रहेका विषयहरु एउटै थलोमा बसेर छलफल गर्न सकिहालिन्छ । एउटै ठाउँमा बसेर छलफल गर्दा वृहत्तर रुपमा त्यसको फल आउँछ । त्यही भएर कम्युनिष्टहरु एकै थलोमा आउनु पर्छ भनेर हामीले अभियान नै चलाएका हौँ । कम्युनिष्टहरु अलगथलग भएर सिधिन आँटे । यही तरिकाले जानेहो भने, आफु आफै झगडा गर्ने, आफुआफै लडेर मर्ने दिशातिर गइराखेको छ भनेरै यो आवश्यक भएको हो । एमालेसँग धेरै पटक कुराकानी चलेको हो । सफल हुन सकेको थिएन । ०६३ सालमा पनि कुरा भएको थियो । ०६४ सालको चुनाव भन्दा अघि पनि कुरा चलेको थियो । ०६५ सालमा त नेतृत्व तहमै एकता गर्ने भनेर निर्णय भएको थियो । त्यपछि पनि पटक–पटक प्रयास भएको थियो । अब यो बस्तुगत आवश्यकता र परिस्थितिले यसलाई सफल पार्ने दिशामा जानुपर्छ । पटक–पटक सुरु हुने विफल हुने यस्तो नगरौँतर्फ कुरा चलिराखेको छ ।

यो कसको चाहाना हो, नागरिकले मागेका हुन् र ?
–मान्छेहरुले त, कम्युनिष्टहरु एकतावद्ध भएर मुलुकको सामाजिक रुपान्तरण, आर्थिक रुपान्तरण, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा गरिदिए हुन्थ्यो भनिरहेका छन् । जनमतको हिसाबले पनि बढी मत कम्युनिष्ट आन्दोलनकै पक्षमा छ । कम्युनिष्ट आन्दोलनको पक्षमा भएको जनमतलाई सम्मान र कदर गर्न पार्टी एकताको दिशामा जाँदा उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो ।

त्यसो भए, अब मुलुकमा एउटा कम्युनिष्ट धार र अर्को लोकतान्त्रिक धार प्रष्ट देखिन्छ ?
–लोकतान्त्रिक त संविधानले स्वीकार गरेको कुरा भयो । संविधानको मूल मर्मलाई त स्वीकारेरै आइरहेको कुरा भयो । यद्यपि, त्यसमा सिमाहरु छन् । कमिकमजोरीहरु छन् । अब त्यो जनताको लोकतन्त्र कति हुन सक्यो सकेन । अथवा जनताको गणतन्त्र कति हुन सक्यो सकेन । भन्ने कुरा हरु आ–आफ्ना छलफलका विषय भए । त्यो संविधानको पाटो भयो । कम्युनिष्टहरु पाटो भनेको के हो भने,, कार्यदिशा के हुने, तत्कालको राजनीतिक एजेण्डा के हुने , कसरी जाने भन्ने विषय हो । त्यसमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी, जनताको मौलिकहरुको सफल कार्यान्वयन लगायतका विषयहरु छन् । यी विषयमा समान धारणा बन्यो भने पनि पार्टी एकताको तहसम्म जान सक्छ ।

सिद्धान्ततः तपाईहरुको एजेण्डा केही केही मिल्लान् तर, अधिकांश मिल्दैनन् । अब कसरी मिल्लान् त त्यसो भए ?
–नमिल्ने विषयहरु थुप्रै हुन सक्छ । कम्युनिष्ट पार्टीभित्र सबै कुरा हुबहु मिल्छ भनेर भन्न सकिँदैन । नमिल्ने विषयहरुको बिचमा आपसी सहमति खोज्ने कुरा प्रमुख हो ।

अब, यो चुनाव अगाडि तपाईहरुको पार्टी एकता हुँदैन भन्नु बुझ्नु पर्‍यो किन भने, धेरै कुरा मिल्न बाँकी छ भनेर तपाईले नै भन्नु भो, समय त छोटो छ ?
–छलफल चलिराखेको छ । कुरा मिल्यो भने अगाडि पनि हुन सक्छ । चुनाव अगाडि भयो भने, चुनाव पछाडि एकता महाधिवेशनको तयारी हुन्छ ।

चुनाव अघि नै हुने आधार बताउन सक्नु हुन्छ ?
–मैल अघि नै भने, कुरा मिल्यो भने हुन्छ । अहिलेसम्मको छलफल सकारात्मक छ । केही कुराहरु अझै पनि बाँकी छन् । ति विषयहरुमा पनि सकारात्मक खालको धारणा बन्यो भने पार्टी एकता नै गर्ने भन्ने कुरा हो । कुरा मिल्यो भने हुनसक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ