काठमाडौं । प्रमुख तिन दलका नेताहरुले मधेशी मोर्चासंग भोली सम्ममा लिखित सहमति गर्ने तयारी गरेका छन् । मोर्चाका नेताहरुसंग बार्ता गर्न गठित कार्यदलका सदस्यहरु सहित तिन दलका शिर्ष नेताहरुको बैठकले भोली सम्ममा लिखित सहमति गर्ने निर्णय गरेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका नेताहरु कार्यदल तहमा भएको छलफलका आधारमा निचोडमा पुगीसकेका हुन् । उनीहरुले सहमतीका आधारहरु बारेमा भने सहमति भईसकेपछि मात्रै औपचारिक सार्वजनिक गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उच्चस्तरिय राजनितिक संयन्त्रको बैधता, स्वरुप, कार्यावधि र कार्यक्षेत्रका बारेमा फेरी मोर्चाको कार्यदलसंग छलफल गरेर निर्णयमा पुग्ने तयारी भएको नेपाली काँग्रेसका नेता महेश आचार्यले बैठकपछि पत्रकारहरुलाई जानकारी दिए ।
केही विषयहरु संविधान संशोधन प्रस्तावमा समेटिईसकेको र प्रदेशहरुको सिमाँकनको विषयलाई उच्चस्तयरिय राजनितिक संयन्त्र मार्फत टुङग्याउने भनिएपनि संयन्त्रको हैसियत र बैधताका बारेमा तिन दल र मोर्चाका नेताहरु सम्मीलित कार्यदलमा फेरी छलफल हुने भएको छ ।