arrow

"मधेशमा काँग्रेसको झण्डा मात्र बाँकी राख्नेकी, जनता पनि राख्ने"

मधेशको अध्ययन भ्रमणको प्रतिवेदन पार्टीलाई बुझाइयो

logo
काठमाडौं-
प्रकाशित २०७२ माघ २ शनिबार
Bishow-Prakash-sharma-NC-leader-terai-report.jpg.jpeg
मध्ये तराईका आठ जिल्लाको स्थलगत अध्ययन गरेर फर्केका नेपाली काँग्रेसका युवा नेताहरुको टोलीले शनिवार तीन शिर्ष नेताहरुलाई तराईको अवस्थाका बारेमा ब्रिफीङ गरेको छ। युवा नेता विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ९ सदस्यीय टोलीले तराई मधेशको अध्ययन भ्रमणको प्रतिवेदन बुझाउदै शिर्ष नेताहरुलाई तराईको अवस्थाका बारेमा जानकारी गराएको हो। पार्टीका सभापति सुशील कोईराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई बुझाईएको प्रतिवेदनमा गतिरोधमा पुगेको पार्टी र मधेशको संवाद र सम्बन्धलाई नयाँ ढंगले जिवन्त तुल्याउन पार्टीको ‘तराई मधेश विशेष’अभियान यथाशिघ्र शुरु गर्न सुझाव दिइएको छ। 
 
टोलीले प्रारम्भमा सबै जिल्लामा विशेष प्रतिनिधिहरु खटाउन पनि सुझाइएको छ। इतिहास देखि नै कांग्रेसको एक कदम पहाड बनेको छ त मधेशले अर्को कदम भएर साथ दिएको अवस्थालाई गम्भिरतापूर्वक लिन पनि टोली पार्टी नेतृत्वलाई सुझाएको छ। टोलीका संयोजक विश्वप्रकाश शर्माले मधेशको मुद्दा र भावना एकातिर अनि पार्टी संगठन अर्कातिर भईरह्यो भने मधेशमा हाम्रो हातमा झण्डा बाँकी रहने छ, साथमा जनता नहुने भन्दै पार्टी नेतृत्वलाई सचेत समेत गराइएको बताए। 
 
उनीहरुको प्रतिवेदन बुझेपछि शिर्ष नेताहरुले काँग्रेसको जन्म नै तराईमा भएकाले तराईको समस्या काँग्रेसकै नेतृत्व र सक्रियतामा समाधान हुने बताएका थिए। 
 
शर्मा नेतृत्वको टोलीमा देवराज चालिसे, बजरंग नेपाली, शम्भु चौहान, विष्णुमणी घिमिरे, मिथिलेश मिश्रा, लवराजा सिंह, दिल बहादुर बुढाथोकी र मोहन पाण्डे रहेका छन्। उनीहरुले मधेशमा भईरहेको आन्दोलनको सवैभन्दा बढी प्रभाव परेको प्रदेश नं. २ का ८ जिल्लामा काँग्रेसका स्थानीय नेताहरुसंग अन्तर्क्रिया तथा छलफलहरु गरेको बताएका छन्। 
 
उनीहरुको ब्रिफीङ सुन्न र प्रतिवेदन बुझ्नका लागि उपसभापति पौडेलले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन विहान ९ बजे दाङ जाने कार्यक्रम पनि पछाडी सारेका थिए।
 
शर्मा नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदन यसप्रकार छः 
नेपाल देशको संविधान नेपाली जनताको नेतृत्वमा बनाउने दशकौं पूरानो नेपाली सपनालाई बहुसंख्यक दलहरुको नेतृत्व गरेर हाम्रो पार्टीले पुरा गरेको छ र एक नविन युगको प्रारम्भ गराएको छ। यो इतिहास निर्माणको लागि हाम्रो नेतृत्व विशेष बधाईको पात्र छ तर सिंगो तराई मधेशको भूमि भने नयाँ संविधानको अपनत्वको दायरा भन्दा बाहिर करिब पाँच महिना देखी आन्दोलित रहिरहनु एक दुःखत उपकथाका रुपमा रहिरहेको यथार्थ सर्वविदितै छ। 
 
तराई मधेशमा संविधान किन जलाइयो ? किन वीपी, गिरिजावाबु र पुष्पलालहरुको सालिक ढालिए? हाम्रो पार्टी लगायत मुख्य राजनीतिक दलका पार्टी कार्यालयहरु किन जलाइए? काठमाडौं चुकेर यस्तो भएको हो कि मधेशले नबुझेर? किन मधेश हाम्रो विरुद्ध आन्दोलित भए झै देखियो ? हामीले कसो गरे मधेश मुद्दालाई उचित सम्वोधन हुनेछ  र पार्टीको साख र शक्तिलाई पुर्नस्थापित गर्न सकिने छ ? यिनै प्रश्नको धरातलीय उत्तर खोज्न हामी तराई मधेशको यात्रामा निक्लियौं । 
 
छलफलका लागि प्रस्तावित ४ बुँदा 
१.असोज ३ मा जारी गरिएको संविधानकाप्रति तपाई र तपाईको कार्य क्षेत्रका साथीहरुको अभिमत के छ ?  
२.दुई बुँदे संशोधन कति उपयुक्त कति पर्याप्त छ । यसले मधेशका नागरिक पंक्तिको भावनालाई कुन हदसम्म सम्वोधन गरेको छ । 
३.प्रस्तावित सिमांकन चित्त नबुझ्दो हुनुको कारण के हो ? हेरफेर कुन रुपमा गरे त्यो तुलनात्मकरुपले बढी उपयुक्त हुनेछ । 
४.मधेशमा रक्षात्मक अवस्थामा पुगेको पार्टीलाई कसरी नयाँ ढंगले उठाउन सकिन्छ?
 
साथीहरुको राय यस्तो रह्यो 
 
बुँदा नं. १ बारेः 
मधेश र मधेशी समुदायको हितमा निश्चयनै केही राम्रा प्रावधान नयाँ संविधानमा छन् तर थप केही दिनको समय लगाएर संविधान जारी गरेको भए विमतिका थप महत्वपूर्ण प्रश्नहरु हल गर्न सकिन्थ्यो। फास्ट ट्रयाकबाट संविधान जारी गरिरहँदा मधेशबाट विजयी हाम्रै पार्टीका सांसदहरुको आवाजलाई नजरअन्दाज गरिएको हाम्रो ठहर छ। नयाँ संविधान जारी गर्ने इतिहासको नेतृत्व त हाम्रो पार्टीले गर्‍यो तर एक तर्फ मैनवत्ति बाल्ने र अर्को तर्फ टायर जलाउने मनोवैज्ञानिक विभाजनको अवस्था उत्पन्न भयो। तराई मधेशमा रहेका हामी कांग्रेस कार्यकर्ता न मैनबत्ति बाल्ने उत्साहको नेतृत्वमा रह्यौ न टायर बालेर संविधान जलाउने अक्रोसको नेतृत्वमा। 
 
बुँदा नं. २ बारेः 
दुई बुँदे संशोधन अत्यन्तै उपयुक्त छ। हाम्रो सरकारको पालामा यसलाई अघि बढाईएको हुँदा हामी कांग्रेसजनलाई तराई मधेशमा उभिन यसले मुद्दा र आत्मवल दिएको छ । यदि यो दुई बुँदालाई शुरुमै समाहित गरेर संविधान जारी गरीएको भए सायद आन्दोलन उठ्नु पर्ने अवस्था नै सिर्जित हुने थिएन।  नयाँ सन्दर्भमा यसलाई केहि परिमार्जन गरेर थप समृद्ध बनाउनुपर्ने आवश्यकता साथीहरुले औंल्याउनुभएको छ। 
 
बुँदा नं. ३ बारेः 
प्रान्त नं. २ को सिमांकन विलकुलै अनुपयुक्त छ। संघीयतामा गईसकेपछि निश्चित भूगोललाई अखण्ड राख्ने भन्ने मनोविज्ञान हाम्रा नेताहरुले पनि राख्नु उचित भएन। पार्टीको त्रिवेणी महासमितिले तराईमा तीन प्रदेश भनेर पारित गरेरको अवधारणाबाट हाम्रो नेतृत्व पछि हट्न हुन्न थियो। सिमांकनमा हेरफेर गर्नै पर्ने अवस्था छ। पहिचानलाई प्रधान बनाइरहँदा प्रान्त नं. २ सामथ्र्यका दृष्टिले अनुपयुक्त बन्न पुगेको छ। चुरेको केही भाग र कोशीलाई यसमा गाँसिनु सम्वृद्धिका दृष्टिले व्यवहारिक र न्यायोचित हुनेछ। 
 
बुँदा नं. ४ बारेः 
तराई मधेशमा सबै भन्दा ठूलो दल नेपाली कांग्रेस हो, मधेश केन्द्रीत दलका कतिपय मुख्य नेतालाई समेत नागरिकले संविधानसभामा पठाएनन् तर हाम्रै दुरदर्शिता नपुग्दा आज तिनै नेताहरु पुरै मधेशको नायक बन्ने दिशा अघि बढेका छन्। ध्रुविकरण बढ्ने खतरा बढेको छ। र हामी भने आफ्नो झण्डा, पार्टी कार्यालय र स्वर्गीय अग्रज नेताहरुको शालिक ढालिएको वातावरणका वीच प्रतिरक्षात्मक अवस्थामा पुगेका छौं। 
 
मधेश मुद्दाको हल गर्न प्रतिपक्षमा रहेतापनि हाम्रो पार्टीले विषेश अग्रसरता निभाउनु पर्दछ। त्यसो गर्न सकियो भने मात्रै पार्टीलाई नयाँ ढंगले मधेशमा उठाउन सकिने छ। मधेशको मुद्दा र भावना एकातिर अनि पार्टी संगठन अर्कातिर भईरह्यो भने मधेशमा हाम्रो हातमा झण्डा बाँकी रहने छ, साथमा जनता हुने छैनन्। साथीहरुको राय यस्तै रह्यो। 
 
वातावरण यस्तो थियो हामी पुगेको समयः 
हामी मोटरसाईकलमा विरगञ्ज पुग्दै गर्दा परवानीपूरमा कान्तिपुर दैनिकको गाडी जलिरहेको थियो भने घण्टाघर चोकमा भिड्न्त भईरहेको थियो। सर्लाही पुगेको विहान हेमपुर गाविसमा एमाले पार्टीका एक जिल्ला सदस्यको रहस्यमय हत्या भएको थियो। गोइत समूहको गोलीबाट नेपाल प्रहरीको एक असइको हत्या भएको दुई दिन पछि हामी पुगेका थियौं सप्तरीको राजविराज। अध्ययन भ्रमणको क्रममा कतै पुरै बजार, खासगरी हाइवे क्षेत्रमा खुलेको देख्यौं त कतै यत्रतत्र टायर बालेका दृश्य सामान्य थिए। 
 
मधेशी मोर्चाका कार्यकर्ताले हाम्रो पार्टी कार्यालय तोडफोड गरेको भए पनि पहाडी समुदायको भएकै कारण कसैलाई प्रताडित गरिएको या अघिल्लो मधेश आन्दोलनको झैं कसैले थाकथलो छाड्नु परेको हामीले पाएनौं। बरु हाम्रै पार्टीका मधेशी समुदायका साथीहरुले झैं पहाडी सामुदायका साथीहरुले पनि आन्दोलनको मुद्दालाई स्पष्ट समर्थन गरेको र यसलाई सम्वोधन गरेर मात्र देश काँग्रेस र मधेश हित हुने मत व्यक्त (व्यक्त अवधारणाको खण्डमा नाम ओहदा सहित यो विवरण पढ्न सकिन्छ)  गरेको पायौं। तर दशजगामा धर्ना बसेर नाकाबन्दीलाई सघाएको विषय र एम्वुलेन्सबाट घाइते प्रहरी थुतेर मारिएका जस्ता अमानवीय घटनाप्रति साथीहरुको प्रष्ट विरोध पायौं। सँगैमा आन्दोलनलाई नियतन्त्रणमा लिने नाममा अन्धधुन्ध गोली चलाइएको घटनाप्रति साथीहरुको प्रशस्तै आक्रोस हामीले सुन्यौं।  
 
यसरी गरियो छलफलः 
स्थानीय पार्टी नेतृत्वको टेलिफोन सूचनाका आधारमानै सबै भेलाहरु सम्पन्न भए । प्रतिकुल राजनीतिक वातावरणका वावजुद पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय– नगर सभापति एवं भातृ संस्थाका अगुवाहरु र थप शुभ चिन्तकहरुको सहभागिता रहने गरेको थियो । कुनै जिल्लामा ६०–६५ त कतै २०० बढी साथीहरुको उपस्थिति रहने गरेको थियो । कतै ४ घण्टा लामो त कतै ७ घण्टा सम्म लामो एक ढंगको बन्द सत्र र गरमा–गरम बहस सम्पन्न भए । कुन जिल्लाको कुन तहको के नामको साथीले कस्तो राय दिनु भयो, निश्चित बुँदाहरु हामीले जो टिपोट गर्‍यौं त्यो ५४२ बुँदा यसै प्रतिवेदनका साथ संलग्न गरिएको छ।
 
२८ पौषमा काठमाडौंमा पार्टी निकटका उप–प्राध्यापक, चिकित्सक, इन्जिनियर, वकील तथा पार्टीका जिम्मेवार साथीहरुको करिब सवासयको भेलामा पनि तिनै चार बुँदा उपर छलफल गरियो । करीब ६ घण्टा चलेको सो भेलामा प्रस्तुत धारणापनि ‘व्यक्त अवधारणाको खण्डमा समाविष्ट गरिएको छ । 
 
निष्कर्षः   
" न केपी ओलीको राजपाठको नजरले न राजेन्द्र महतोको नजरले मधेशलाई पढौं, बुझौं, मधेशमा कांग्रेस जोगाएर जिताएर बसेका साथीहरुको नजरले" हाम्रो मधेश मिशनको ध्येय यो थियो । पर्सा बुझ्न पथलैया होइन–विरगञ्ज नै पुग्नुपर्छ, धनुषा बुझ्न ढल्केबर हैन जनकपुरधामनै पुग्नुपर्छ अनि बर्दिवास होइन जलेश्वर नै पुग्नु पर्छ ‘कोर मधेश’बुझ्न । त्यसैले आन्दोलन बढी प्रभावित तीनै स्थलहरु पुगेर साथीहरुको अध्ययनको जे सार (माथि उल्लेखित) लिएर आएका छौं त्यसमै केन्द्रित रहेर समाधानमा पुग्नु उचित हुने हाम्रो निष्कर्ष र सुझाव छ । 
 
कुनै वेला वी. पी कोइरालासँगसँगै हुनुन्थ्यो रामनरायण मिश्र, अघिल्ला नेता त्रयको सहयात्रा हुनुहुन्थ्यो महेन्द्रनरायण निधि। पहाडका भिमनारायण श्रेष्ठले गोली खाँदै गर्दा फाँसी झुल्दै हुनुहुन्थ्यो तराई मधेशका दुर्गानन्द झा अर्थात इतिहास देखि नै कांग्रेसको एक कदम पहाड बनेको छ त मधेशले अर्को कदम भएर साथ दिएको छ। आज त्यही मधेशसँग एक ढंगले संवाद टुटे झैं भएको छ हाम्रो पार्टीको। त्यसलाई पुर्नजिवित गर्न तत्कालै ६ कार्य गरिनु पर्दछ। 
 
१.मधेश हितका सन्दर्भमा संविधानमा रहेका प्रभावधान बारे स्थानीय पार्टी पंक्ती मार्फत व्यापक रुपमा नागरिक पंक्ति समक्ष पुर्‍याउने। 
२.कांग्रेसको अगुवाईमा आएको दुई बुँदे शंसोधनलाई पार्टीले जस लिने ढंगले तर मधेशी मोर्चालाई विश्वाशमै गाँसेरै अघि लैजाने। 
३.सिमांकन हेरफेर गर्ने सन्दर्भमा ‘सम्पूर्ण संघीयता’को मनोविज्ञानलाई केन्द्रमा राख्ने। राजनीति सहमति जुटाउदै गर्दा विज्ञहरुको परामर्शलाई समेत प्राथमिकतामा राख्ने। 
४.मधेशका सन्दर्भमा पार्टीका कतिपय नेताबाट व्यक्त हुने गरेका अप्रिय अभिव्यक्ति तत्कालै बन्द गराएर साझा धारणा मात्रै सार्वजनिक गर्ने। 
५.गतिरोधमा पुगेको पार्टी र मधेशको संवाद र सम्बन्धलाई नयाँ ढंगले जिवन्त तुल्याउन पार्टीको ‘तराई मधेश विशेष’अभियान यथाशिघ्र शुरु गर्न प्रारम्भमा सबै जिल्लामा विशेष प्रतिनिधिहरु खटाउने। 
६.संविधानको अंग बन्न लागेको ‘समानुपातिक सहभागिता’को स्पीरिट बमोजिम पार्टी भित्रको प्रतिनिधित्व प्रणालीलाई आगामी महाधिवेशनबाट अत्याधुनिक बनाउने। 
 
हामी विश्वस्त छौं–हाम्रो अध्ययन भ्रमणबाट प्राप्त अनुभव र सुझाव तराई– मधेशका नागरिक र पार्टी पंक्तिसँगको संवादलाई पुनताजर्गी गर्न पार्टी नेतृत्वका लागि एकहद सम्म साहयक सामग्री बन्न सक्नेछ र काँग्रेसको दुई हात एक पहाडको साथ आर्को मधेशको साथ बन्न सक्ने छ भन्ने विश्वास लिएका छौं।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ