arrow

माइकिङ सुविधा नहुँदा लुक्ला विमानस्थलका यात्रु मर्कामा

logo
प्रकाशित २०७२ माघ २ शनिबार
lukla.jpg.jpeg
सोलुखुम्बु । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय सिजनमा एकै दिनमा ८०-९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकै पटक तीन-चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्ने जस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका छन् । 
 
एकजना पर्यटन गाइड ल्हाक्पा नुरु शेर्पा भन्नुहुन्छ “दुई चारवटा जहाज बसेका हुन्छन्, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ, टर्मिनलमा पसेदेखि कर्मचारीलाई सोधिरहनुपर्छ, यताउति जाँदा पनि कतै जहाज छुटिहाल्छ कि भन्ने डर हुन्छ ।” आफूले यात्रा गर्ने विमानमा कतिबेला चढ्ने भन्ने कुराको जानकारी नदिँदा आफूले टिकट लिएको कम्पनीको काउन्टर अगाडि कुरेर बस्नुपर्ने बाध्यता रहेको अर्का पर्यटन गाइड एकवीर कुलुङले बताउनुभयो । उहाँका अनुसार पर्खेर बस्नुपर्दा विदेशी पर्यटकले दिक्क मान्नुपरेको र कतिपय अवस्थामा सामान छुट्ने समस्या रहन्छ । 
 
माइकिङ सुविधा नहुँदा उडान भर्ने विमान कम्पनीलाई पनि उस्तै समस्या पर्ने गरेकोछ । तारा एयरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्नुहुन्छ “यसले हामीलाई पनि समस्यामा पार्ने गरेकोछ, कुनै बेला विमान उड्ने बेलामा पनि यात्रु हराएको खोज्दा हैरान हुन्छ, विमान स्टार्ट भइसकेपछि यात्रु खोजेर ल्याउनु परेको थुप्रै घटना भएका छन्” केहीवर्ष अघि माइकिङ सेवा थियो तर पछि प्राविधिक समस्या आएकोे भन्दै नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले यो सेवा रोकेको हो । प्राधिकरणले समस्या समाधानको पहल भइरहेको बताएपनि वर्षौदेखि सो विमानस्थलमा यात्रुले समस्या भोगिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ