arrow

नेपाली काँग्रेस नीतिमुखीभन्दा पनि नेतामुखी : केसी

logo
प्रकाशित २०७२ माघ २ शनिबार
arjun.jpg.jpeg
बुटवल (खस्यौली)। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेस नीतिमुखीभन्दा पनि नेतामुखी भएकाले समस्या आएको बताउनुभएको छ । पार्टी नीतिबाट चल्नुपर्ने बताउँदै नेताले नीतिलाई आफ्नो खल्तीमा राख्ने र कार्यकर्ताहरु नेतामुखी बन्ने प्रवृत्तिले पार्टी बिग्रिँदै गएको बताउँदै उहाँले त्यसलाई चिर्नका लागि आम नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । प्रजातान्त्रिक विचार समाज रुपन्देहीको पहिलो साधारणसभा तथा अधिवेशनलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका नेता केसीले मुलुकको बृहत्तर हितका लागि बृहत् लोकतान्त्रिक शक्तिको आवश्यकता रहेको औँल्याउनुभयो । 
 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले संविधान आएसँगै मुलुक नयाँ संरचनामा प्रवेश गरेकाले नेपाली काँग्रेसको विधान पनि प्रादेशिक प्रणालीअनुसारकै बनाउन आवश्यक रहेको बताउनुभएको छ । वर्तमान नेतृत्वले पार्टीमा कार्यसम्पादन समिति तथा विभागहरु अहिलेसम्म पनि बनाउन नसकेको स्मरण गर्दै उहाँले त्यस्तो समस्या समाधानका लागि पनि कार्यकर्ताले नेता चुन्ने अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको बताउनुभएको हो । 
 
त्यस्तै समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले समाज गैरदलीय संस्था भएकाले गुट उपगुटबाट बाहिर राख्न आग्रह गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य प्रदीप पौडेलले विधानमा पदाधिकारीको सङ्ख्या वृद्धि गरिए पनि पदाधिकारीलाई जिम्मेवारी पनि प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो । 
 
समाजका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेका रुपन्देहीका सचिव रामकृष्ण खाँड र क्षेत्र नं ४ का सभापति हरिबहादुर आचार्य, प्राध्यापक सङ्घका केन्द्रीय सचिव डा बुद्धबहादुर थापा, नेपाल शिक्षक युनियन रुपन्देहीका अध्यक्ष सोमनाथ गिरी, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष हरि लम्साल, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव गोविन्द खनाल, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य रिजन श्रेष्ठले शुभकामना व्यक्त गर्नुभएको थियो । 
 
साधारणसभाले पुनः रामराज पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध चयन भएको समितिको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा, सचिवमा डिल्लीनारायण पाण्डेय, सहसचिवमा शिवलाल गौतम, कोषाध्यक्षमा कल्पना तिवारी रहनुभएको छ । 
 
त्यस्तै समितिका सदस्यहरुमा दीपकराज कार्की, गोविन्दप्रसाद मरासिनी, लीला पौडेल, विक्रम खड्का, विश्ववन्धु विनयी, गुणनिधि पोखरेल, नरेन्द्र क्षेत्री, गङ्गाराज सापकोटा, प्रकाशमणि खनाल र डा मोहनलाल तिवारी रहनुभएको निर्वाचन आयुक्त डा बुद्धबहादुर थापाले जानकारी दिनुभयो । 



नयाँ