काठमाडौं । उपचारका लागि दिल्ली गएका सद्भावना अध्यक्ष राजेन्द्र महतो काठमाडौं फर्किंदै छन् । दिउँसो १२ः ३० बजे नेपाल एयरलाइन्सको विमानमा महतो काठमाडौं पर्किन लागेका हुन् । यद्यपि, मोर्चाका केही नेताले एयर इन्डियाको विमानमार्फत आउने बताएका छन् । मधेस समस्या समाधान नभएसम्म काठमाडौं नआउने बताएका महतो दुई दिन काठमाडौंमै बस्ने बताइएको छ । यसअघि महतोले मधेसको समस्या समाधान नभए सम्म काठमाडौंमा पाइला नटेक्ने बताउँदै आएका थिए ।
प्रधानमन्त्री केपी ओलीले नै बोलाएकाले काठमाडौं आउन लागेको सद्भावना नेता देवेन्द्र यादवले हाम्राकुरालाई जानकारी दिए । उनले भने,‘प्रधानमन्त्रीले बोलाउनु भा हो, नेताहरुसंग पनि भेटघाट छ ।’ उपचार सकियो । सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने आउने जानकारी भएपनि काठमाडौं बस्ने–नबस्नेबारे आफुलाई थाह नभएको जानकारी दिए । कर्णले असन्तुष्ट भाषामा बसाईको कार्यक्रम होला, राजनीतिक भेटघाट गर्नुहोला–भने ।
सद्भावना महामन्त्री मनीष सुमनले काठमाडौं आए लगत्तै महतो आइतबार साँझ प्रधानमन्त्रीसंग भेटघाट गर्ने र सोमबार अन्य राजनीतिक भेटघाटमा व्यस्त हुने बताए । मंगलबार महतो सिरहाको लहानमा हुने बलीदानी दिवसको प्रमुख अतिथि बन्न जाने छन् । २०६३ माघ ५ गते रमेश महतोको मृत्युको सम्झनामा आफुहरुले हरेक वर्ष बलीदानी दिवस मनाउने गरेकाले ५ गतेको कार्यक्रममा महतो जाने महामन्त्री सुमले जानकारी दिए । यता, ५ गते दलहरुले संसदबाट मधेस समस्याको टुंगो लगाउने तयारी गरेका छन् ।
क कस्लाई भेट्दै छन् महतोले ?
आइतबार साँझ सरकारी निवासमै प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता ।
सोमबार विहान ८ः३० बजे कांग्रेस सभापति सुशील कोइरालासंग भेटवार्ता ।
सोमबार दिउँसो एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता ।
लगत्तै बाबुराम भट्टराई, कांग्रेस नेता शेरबहादुर देउवालगायतसंग भेट गर्ने कार्यक्रम छ ।