arrow

काँग्रेस नेता वीरेन्द्र दाहाल रहेनन्

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका नेता वीरेन्द्र दाहालको उपचारका क्रममा शनिबार राति ६७ वर्षको उमेरमा निधन भएको छ । पार्टीमा सधैँ पद बाहिर रहेर निरन्तर सक्रिय रहनुभएका नेता दाहालको त्रिभुवन शिक्षण अस्पतालमा मृगौला रोगको उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ ।  
 
काँग्रेसका सभापति सुशील कोइरालालगायत काँग्रेस नेता कार्यकर्ताले शिक्षण अस्पताल पुगी स्वर्गीय नेता दाहालको पार्थिव शरिरमा श्रद्धाञ्जली दिएका छन् ।  विसं. २००५ मा तेह्थुममा जन्मनुभएका नेता दाहालपरिवारले प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण २०१८ सालमा तत्कालीन सरकारले सर्वस्वहरण गरेपछि परिवारसहित भारत प्रवासमा जानु परेको थियो ।  
 
भारत प्रवासमा रहदा काँग्रेस नेता विपी कोइराला, गिरिजाप्रसाद कोइरालालगायतसँग भेट भएपछि त्यसयता निरन्तर कोइराला परिवारको निकट सहयोगीका रुपमा दाहालले काम गरेको भाई पिताम्बर दाहालले बताए । काँग्रेस नेता गिरिजाप्रसाद कोइरालासँगै नेपाल फर्कनुभएका दाहाल त्यसयता कोइरालाको निकट सहयोगीका रुपमा रहेर राजनीतिमा सक्रिय रहे । दाहाल अविवाहित थिए । दाहालका पाँच दाजुभाई र तीन दिदिबहिनी छन् । दाहालको आइतबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ