arrow

लोकप्रिय बन्दै स्वास्थ्य बीमा कार्यक्रम

logo
नारायण रिजाल,
प्रकाशित २०७४ असोज २७ शुक्रबार
Health_Inssurence_Photo.jpg

बागलुङ । बागलुङ नगरपालिका ४ का विश्वनाथ आचार्य एउटा कार्ड लिएर आफ्नो स्वास्थ्य जाँच गराउन अस्पताल पुगे । उनको हातमा स्वास्थ्य बिमाको कार्ड रहेको थियो । सरकारले ल्याएको सामाजिक स्वास्थ्य विकास कार्यक्रम अन्र्तगतको स्वास्थ्य बिमा कार्यक्रम विमित सदस्य हुन । गत साउन बाट सेवा प्राप्त गर्ने गरी उनि र उनको परिवार स्वास्थ्य बिमाबाट विमित सदस्य भएका थिए । उनको परिवार अस्पतालमा जाँदा ५० हजार बराबरको उपचारका लागि पैसा बोकेर जानु पर्दैन ।
 
सरकारले स्वास्थ्य बिमा गरे बापत ५० हजार बराबरको १ वर्ष सम्म निःशुल्क सेवा प्रदान गरेको छ । आचार्य जस्तै दैनिक धौलागिरी अंचल अस्पतालमा मात्र ५० देखी ६० जना विमित सदस्यले सेवा लिने गरेका छन । बागलुङमा यसको प्रभावकारीता बढदै गएको छ । नेपालमा नै पहिलो पटक बागलुङ, कैलाली र ईलाम बाट सुरु भएको कार्यक्रम बागलुङमा भने निकै प्रभावकारी देखिएको छ ।

जिल्लामा अहिले सम्म १८ हजार ५ सय भन्दा बढिले स्वास्थ्य बिमा गराएको सामाजिक स्वास्थ्य विकास समिति बागलुङका जिल्ला प्रवन्धक जिवलाल खरेलले जानकारी दिए । स्वास्थ्य बिमा गराएका मध्ये ९ हजार भन्दा बढिले बिमा बापतको उपचार सेवा पनि लिइसकेको खरेलको भनाई छ ।   
स्वास्थ्य बिमा गरेका बिरामीका लागि बागलुङमा बुर्तिबाङ, गल्कोट, कुश्मीसेरा प्राथमिक केन्द्र र धौलागिरी अंचल अस्पताल बागलुङ प्रथम सेवा विन्दुको रुपमा रहेर  बिमितहरूलाई उपचार सेवा दिइरहेको बताईएको छ ।  

खरेलका अनुसार बागलुङबाट रिफर गर्दा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल पोखरा, हिमालय आँखा अस्पताल पोखरा, गण्डकी मेडिकल कलेज पोखरा, लुम्बनी मेडिकल कलेज पाल्पा, युनाईटेड मिसन अस्पताल पाल्पा बाट पनि बिमितहरूको उपचार भइरहेको छ ।  

समितिले सम्झौता गरेका अस्पतालबाट उपचार सेवा दिन नसके थप उपचारका लागि काठमाडौँका केन्द्रीय अस्पतालमा समेत बिरामी पठाइएको उनले बताए । काठमाडौका लागि शहिद गंगालाल हृदय रोग निवारण केन्द्र बासबारी, कान्ती बाल अस्पताल काठमाडौं बिर अस्पताल, प्रसुती गृह थापथली, ट्रमा सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्र, पाटन मानसिक अस्पताल, शुक्रराज टर्फिकल, लगायतका झण्डै १ दर्जन अस्पतालमा रोगको प्रकृति हेरेर रेफर गर्ने व्यवस्था रहेको खरेलले बताए ।

स्वास्थ्य बिमा लागू भएका अरु जिल्लाको तुलनामा बागलुङमा धेरै जना सदस्य बनाउन सफल भएको उनले बताए । ५ जनाको परिवारले २५ सय रुपैयाँ तिरेमा १ वर्ष सम्मका लागि ५० हजार सम्मको उपचारका लागि कुनै रकम तिर्नु पर्दैन । यदी परिवारमा थप संख्या भए १ जना बराबर ४ सय २५ रुपैया लाग्नेछ ।

अहिले विमाले जिल्लाका ३ वटै प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन हस्तान्तरण गरिसकेको र आगामी दिनमा ईसीजी र अटोएलाईजर हस्तान्तरणको प्रक्रियामा रहेको समितिले जनाएको छ ।

बागलुङको धौलागिरी अंचल अस्पतालमा मात्रै दैनिक ४० प्रतिशत विरामी मात्र स्वास्थ्य बिमाका विमित सदस्य आउने गरेको अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट सागर कुमार राजभण्डारीले बताए । डाक्टर राजभण्डारीका अनुसार अहिले विमा कार्यक्रम लागु भए पश्चात अस्पतालमा दैनिक सेवा लिन आउने बिरामीको संख्यामा पनि बृद्धि भएको छ । स्वास्थ्य बिमाका लागि भनी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा समेत फार्मेसी संचालनमा ल्याईएको छ ।

बीमा दर्ता प्रक्रिया नियमित रुपमा सञ्चालन भइरहेको छ भने दर्ता सहयोगीका रुपमा अहिले जिल्लामा ५५ जना खटाईएको छ । स्थानीय तहको नयाँ संरचना अनुसार दर्ता सहयोगी प्रत्येक नगरपालिका र गाउँपालिकाको १ वडा १ सहयोगी बनाईने छ ।सरकारले निःशुल्क उपलब्ध गराउने भनिएको ५३० प्रकारका औषधिलाई वृद्धि गरी ९२७ पुर्‍याइएको छ । अहिले विमित गरेका सदस्यले यी औषधी उक्त सेवा मार्फत प्राप्त गर्दछन ।

जिल्लामा संचालित बिमा कार्यक्रममा मध्यमवर्गीय नागरिक बढी आकर्षित भएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारी बताउँछन । अहिले ३ वटै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकहरूको दरबन्दी समेत पदपुर्ति भएको छ । बुर्तिबाङ, कुश्मीसेरा र गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी र करारमा गरी ९ जना डाक्टरहरु कार्यरत रहेको तिवारीले जानकारी दिए ।
 
हालै मात्र संसदमा पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले अगाडि सारेको स्वास्थ्य बिमा विधयेक पनि पारित भएको छ । स्वास्थ्य बिमा विधेयक पारित भए सँगै अब कुनै नागरिकले मैले बाच्न पाउँदिन भन्ने डर मा बस्नु पर्दैन । विधेयकमा अब सबै नागरिक स्वास्थ्य विमामा विमित हुने प्रावधान रहेको छ ।

विमामा सहभागी  कार्यक्रममा परिचयपत्रका आधारमा गरिबलाई सरकारले नै बिमा बापत रकम उपलब्ध गराउने भनिएकोमा अब विधेयक पारित भएको छ यसले केही सहजता ल्याउने  बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ