यादव आचार्य,बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका पाटेवाघको आज देखि अनुगमन शुरु गरिएको छ । पछिल्लो समय पश्चिम नेपालमा पाटेबाघहरु मारिएको पुष्टि भएपछि बाघको अवस्था, संख्या, आहारा प्रजाती र वासस्थान अनुसन्धानका लागि अनुगमन गर्न लागिएको हो । नेपालका लागि वेलायती राजदुत रिचार्ड मोरिसले शुक्रवार क्यामरा जडान कार्यको शुभारम्भ गरेका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग लगायत आसपासका क्षेत्रहरुमा क्यामरा ट्रापिङ्ग प्रविधिबाट बाघको अनुगमन शुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । पश्चिम तराईमा बाघ मारिने क्रम बढेसँगै अनुगमनबाट बाघ संरक्षणका लागि थप रणनिति बनाउन सहज हुने बताईएको छ ।
अनुगमनका लागि आवस्यक क्यामरा, उपकरण लगायत फिल्ड सामाग्री र व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषले लिएको छ ।
अनुगमनका लागि दुई दिने तालिम सहित फिल्डमा कर्मचारी र प्राविधिकहरु खटाईएको निकुञ्जले जनाएको छ । सन् २०१३ को गणना अनुसार बर्दियामा ५० वटा वयस्क पाटेबाघ रहेको र यसको संख्या अझै वढ्न सक्ने सरकारी अधिकारी हरुको अनुमान छ । सन् २०२० सम्ममा पाटे बाघको संख्या दोब्बर गर्ने लक्ष्य छ ।