arrow

निर्वाचन आयोगले गरायो राजदूतहरुलाई निर्वाचनको तयारीबारे जानकारी  

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं। निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका सम्बन्धमा काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु र अन्तर्राष्ट्रिय सहयोग नियोगका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ। 

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजदूतहरुलगायत कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई स्वागत गर्दै मंसिरमा हुने निर्वाचनलाई यस अगाडिको स्थानीय तहको निर्वाचनमा जस्तै मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय जगत्बाट आवश्यक सहयोग तथा सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरे। यादवले निर्वाचनको तयारीका लागि आयोग अहोरात्र खटिरहेको र तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए। 

अन्तरक्रिया कार्यक्रममा भाग लिनुहुँदै कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू र अन्य सहभागीहरूले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन छोटो समयमा सफल गराएको भनी आयोगको प्रशंसा गरेका थिए। 

मङसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुले निर्वाचन पर्यवेक्षण गर्ने विषय र बदर मतपत्रको संख्या घटाउने र आयोगबाट गरिएको तयारीसम्बन्धमा कूटनीतिज्ञहरूले राख्नुभएका विभिन्न जिज्ञासाहरूको प्रमुख निर्वाचन आयुक्त डा. यादव र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जवाफ दिएका थिए ।

कार्यक्रममा आयोगले गरेको निर्वाचनको समग्र तयारीका बारेमा आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए। 

कार्यक्रममा निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगाना र गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेलगायतका पदाधिकारीहरू उपस्थित थिए । 

कार्यक्रममा जर्मनी, स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्क, श्रीलङ्का र बङ्गलादेशका महामहिम राजदूत, इयु लगायत काठमाडौंस्थित विभिन्न देशका दूतावासका प्रतिनिधिहरुको उपस्थिति थियो । साथै युएनडिपि, जाइकालगायतका सहयोग नियोगका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ