arrow

पाँचथरमा ६८ जना कुपोषित बालबालिका

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
kuposan-e1450957600686.jpeg

पाँचथर ।  पाँचथरमा दुई महिनाको अवधिमा ६८ जना कुपोषित बालबालिका भेटिएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयबाट सञ्चालित शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम शुरु भएकोे दुई महिनामा यतिका कुपोषित बालबालिका भेटिएका कार्यक्रमका सूचना व्यवस्थापन अधिकृत रोशन न्यौपानेले बताए । 
उक्त अबधिमा फिदिम नगरपालिकामा २१, याङ्वरक गाउँपालिकामा एक, फालेलुङमा चार, हिलिहाङमा नौ, तुम्बेवामा १८, कुम्मायकमा १०, मिक्लाजुङ गाउँपालिकामा पाँचजना कुपोषित बालबालिकाको पहिचान भएको थियो । 

फाल्गुनन्द गाउँपालिकामा भने हालसम्म कुपोषण भएका बालबालिका नभेटिए पनि विपन्न परिवार र राम्रो आर्थिक हैसियत भएका परिवारका बालबालिकामा समेत कुपोषणको समस्या देखिएको छ । हालै मात्र नेपाल सरकारले पिछडिएको क्षेत्रको सूचीमा राखेको दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकामा सबैभन्दा बढी कुपोषित बालबालिका भेटिएका छन् । 

छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकामा कुपोषण परीक्षण गरिएको थियो । कार्यक्रम शुरु भएको दुई महिनामै जिल्लामा झण्डै ७० जना कुपोषित बालबालिका भेटिएकाले यो संख्या अझ बढ्ने जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोले बताए । 

शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत परीक्षणका क्रममा कुपोषण भएको प्रमाणित भएका ६८ बालबालिकालाई अहिले तयार पारिएको पोषणयुक्त खाना निःशुल्क उपलब्ध गराई उपचार शुरु गरिएको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र र नौ वटा स्वास्थ्य केन्द्रमार्फत यो सेवाप्रवाह भइरहेको सूचना व्यवस्थापन अधिकृत न्यौपानेले बताए । 

त्यस्तै जिल्लाको साविक १० वटा गाविसमा सञ्चालन भइरहेको ‘सुनौलो हजार दिन’ सञ्चार अभियानअन्तर्गत अहिले १५५ आमासँग नियमित सञ्चार सम्पर्क भइरहेको अभियानका जिल्ला संयोजक युवराज चेम्जोङले बताए। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ