arrow

महतो भेट : ओलीसंग ठट्यौली, कोइरालासंग बटमलाइन

बालुवाटारमा भेटियो, ओली वाणको घाउ मेटियो

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
Bhet-mahato.jpg.jpeg
काठमाडौं । दिल्ली उपचारपछि काठमाडौं फर्किएका सद्भावना अध्यक्ष राजेन्द्र महतो राजनीतिक भेटघाटमा व्यस्त छन् । महतोले आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता शेरबहादुर देउवासंग छुट्टा–छुट्टै भेट गरेका छन् । महतोले प्रधानमन्त्री र शेरवहादुरसंग सुरुमै भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीले बोलाएर नै काठमाडौं आएको बताएका महतो प्रधानमन्त्रीसंगको छलफल मधेस समस्या समाधानका लागि महत्वपूर्ण ठहरिएको खुसी बोक्दै बालुवाटारबाट राति घर फर्किए । यसअघि मधेस समस्या समाधान नभए सम्म काठमाडौं नटेक्ने र आफुलाई लाठी वर्षाउन लगाउने सरकार प्रमुखले माफी नमागे सम्म भेट र सम्वाद नगर्ने महतोको अडान बालुवाटार भेटले भङ्ग गरिदिएको छ ।
 
त्यति मात्र नभई ओलीसंग एक वर्ष अघि परेको मनमुटाव समेत अन्त्य भएको छ । यस्तै, मधेस आन्दोलनका क्रममा मृत्यु भएका ५५ नागरिकको पीडाको आक्रोश एक मुस्कुराहटमा विलिन भएको छ । एक वर्ष १० दिन अघि सर्वदलीय बैठकबाटै ओली र महतोको दूरी बढेको थियो । महतोले बैठकमा कांग्रेस–एमालेले अघि सारेको सीमाङ्कनको खाका मान्य नहुने र तराई जति एउटै मधेस प्रदेशमा राख्नु पर्ने बताएपछि ओलीले कडा शब्दमा ‘उसो भए तपाईको घरको आँगन पनि युपी बिहारसंग मिलाउनुस् न त’ भनेका थिए । महतोले आइतबार उ वेला ओलीले प्रहार गरेको तीरको घाउ समे भुले ।
 
महतो विना कुनै हड्बडाहट मुस्कुराउँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरे । तर, ओलीले माफी माग्न परेन । महतो आफै प्रधानमन्त्रीलाई प्रणाम गर्न पुगेका हुन् । आश्चर्य त, ओलीले विराटनगर घटनाप्रति यसअघि नै टेलिफोन गरी दुःख प्रकट गरिसकेको सद्भावना नेताहरुले बालुवाटार भेटपछि मात्रै खोले । सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण यसअघि असन्तोषी भाषामा बोल्दै आएकामा महतोको बालुवाटार भेटपछि विराटनगर घटनाबारे प्रधानमन्त्रीले दुःख जनाएको झुट वा तीतो खोल्न बाध्य भए । महतोको काठमाडौं फिर्तिमा कार्यकर्ताले तामझाम गर्दा विमानस्थल छेवैमा युवासंघका कार्यकर्ताले कालो झण्डा देखाए । 
 
महतोले बालुवाटारमा भारत बसाईको वयान खोल्दा तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर खुट्टाको शल्यक्रिया भन्दै मेदान्त अस्पताल पुगेका छन् । सोमबार शल्यक्रियाको समय मागेका ठाकुरको भारत बसाइबारे एक दुई दिनमा थाहा हुने स्रोतले जनाएको छ । ओली र महतोबीच बालुवाटारमा दुई घण्टा घनिभूत छलफल भयो । महतोका गफ सुन्दै ओलीले पनि टेलिफोनमा भारतका थुप्रै सन्देश आउने गरेको ठट्यौली समेत गर्न भ्याए । 
 
ओलीसंग ठट्यौली, कोइरालासंग बटमलाइन 
सोमबार बिहान कांग्रेस सभापति सुशील कोइरालाई भेटेका सद्भावना अध्यक्ष महतो साँझ सम्म भेटघाटमा व्यस्त हुने भतिजा उपेन्द्र महतोले बताएका छन् ।  महतो बिहान सभापति कोइरालालाई भेट्न महाराजगन्जस्थित निवास पुगे । महतोले कोइरालासंगको भेटमा वर्तमान राजनीतिक गतिरोध र मधेस समस्याबारे छलफल भएको बाहिरिने क्रममा संचारकर्मीलाई जानकारी गराए । प्रधानमन्त्रीसंगको भेटले उत्साही भएका महतोले मधेस आन्दोलनको बटमलाइन सीमाङ्कन नै रहेको प्रस्ट्याएका छन् ।
 
महतोले अपरान्ह ४ बजे एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेट गर्ने कार्यक्रम छ । उनी मंगलबार सिरहाको लहानमा हुने बलीदानी दिवसको प्रमुख अतिथि बन्न जाँदै छन् । विराटनगरको जोगवनी नाकामा धर्ना बसेको समयमा प्रहरीको लाठी लागेर घाइते भएपछि उपचारका दिल्ली गएका महतो आइतबार मात्रै काठमाडौं फर्किएका हुन् ।     
     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ