arrow

समयमा उपचार नपाउदा अर्काको सहारामा गोपालशरण देवको जीवन

logo
सुशीला रेग्मी 
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
apangata.jpg

रामपुर, पाल्पा ।  नेपाल निम्वार्क पीठ केन्द्रीय कार्यालय, केलादीधामका महन्त गुरु गोपालशरण देव परिवारको सानो लापर्बाहीका कारण जीवनभर अपांग भएर बाँच्नुपरेको छ । 

स्याङ्जाको मग्याम चिसापानीमा जन्मीएका महन्त गोपाल दुई वर्षको उमेरदेखि नै सधैँ अर्काको सहारामा छन् । पोलियो माइलाइटिस अर्थात् गाउँघरमा चलनचल्तीको भाषामा सैनेपात नामक रोगले बिरामी परेका महन्त गोपाललाई परिवारले औषधि उपचारमा चासो नदिँदा उनी आफ्नो जीवनलाई अर्काको सहारामा व्यतीत गर्न बाध्य छन् । 

“दुई वर्षको उमेरमा बिरामी भइयो, त्यतिबेला परिवार, आफन्त कसैबाट पनि औषधि उपचारमा ध्यान पुगेन, अहिले जीवनभर अपांग बनेर बसिरहेको छु” उनले भने । बाल्यकालदेखि नै जीवनलाई आध्यात्मिक क्षेत्रमा बिताउने प्रण गर्दै उनले संस्कृत माध्यममा पठनपाठन पूरा गरेपछि अहिले नेपाल निम्वार्क पीठ अर्थात् वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय केलादिधामका महन्त गुरु भएका छन् । उनले संस्कृत भाषामा आचार्यसम्मको अध्ययन गरेका छन् । 

मृदुभाषी, शालिन स्वभावका, सबैसँगको सम्बन्ध र सहकार्यलाई आत्मीयताका साथ नजिक मान्ने सबैका प्रिय महन्त गुरु गोपाल शरण देवकै नेतृत्वमा केलादिधाम क्षेत्रको अस्तित्व अहिलेसम्म रहन सकेको छ । औषधि उपचारमा परिवारले सोधखोज नगरीदिँदा आफूलाई निकै दुःख लागेको गुनासो गर्छन । दुईवटा खुट्टा नचल्दा अर्काको सहारा लिनुपरेकोमा आफूलाई कहिलेकाहीँ दुःख लाग्ने गरेको उनी बताउछन् । 

उनी भन्छन्, “खुट्टाले हिँड्न नसके पनि बसेर सबै काम मिलाएको छु, मन्दिर संरक्षण समितिले पनि सबै जिम्मा मलाई सुम्पिएको छ ।” “मैले राम्रो सेवा पाएको छु, बाहिर पूजाआजा सप्ताह महायज्ञ लगाउन जान पर्यो भने पनि सबैले लैजाने, ल्याउने गर्नुहुन्छ” उनले भने । उनको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै केलादिधाम संरक्षण समितिले स्याहार सुसारका लागि हेरालुको व्यवस्था मिलाएको सचिव लेखनाथ बस्ताकोटीले बताए । 

यहाँका स्थानीयवासी र मन्दिर संरक्षण समितिको माया, ममता, सहयोग, सत्कार सेवाप्रति महन्त गोपाल सधैँ खुशी छन् । “सानै उमेरमा यहीँ आएँ, यहीँबाट बाहिर पढ्न गएँ, पढाइ सकिएपछि यहीँ आएर मन्दिरको सेवा गरिरहेको छु” महन्त गोपालशरण देवले भने । उनी अहिले उमेरले ६८ वर्ष पुगे । आध्यात्मिक भक्तिभावले मनलाई सधैँ सुखी र खुशी तुल्याउने हुँदा जीवनलाई भगवान्का नाममा एकाग्र भएर बिताउने उनको अठोट छ । पारिवारिक सांसारिक बन्धनबाट टाढा रहेर जीवनलाई धार्मिक क्रियाकलाप गरेर बिताउने चाहनाअनुरुप नै उनको दिनचर्या बितिरहेको छ । 

पोलियो माइलाइटिस नामक रोग पोलियो भाइरसका कारण पाँच वर्षमुनिका बालबालिकालाई लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए । महन्त गुरु गोपालशरण देव त एउटा प्रतिनिधि पात्र हो । उनी जस्ता कैयौँ व्यक्ति औषधि उपचारको अभावमा आफ्नो जीवनलाई सधैँ अर्काको सहारामा व्यतीत गर्न बाध्य छन् । आर्थिक अभाव, अशिक्षा, अन्धविश्वासका कारण धेरैले जीवनलाई अरुको सहाराको भरमा बिताइरहेका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ