arrow

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
Fuel_hamrakura.jpg.jpeg
काठमाडौँ । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 
 
इन्डियन आयल कर्पोरेसनले यही माघ २ गते पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोलमा रु पाँच र डिजेल र मट्टितेलमा रु ६ घटाएको छ । 
 
निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु ७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर रु १०४ र डिजेल र मट्टितेल रु ८१ मा बिक्री वितरण हुँदै आएको थियो । 
 
यस्तै, रु २३२ प्रतिलिटरमा बिक्री वितरण हुँदै आएको हवाई इन्धनको मूल्य पनि घटेको छ । नयाँ मूल्यसूचीअनुसार हवाई इन्धनको मूल्य रु १६४ हुनेछ । तर निगमले खाना पकाउने ग्यासको भने मूल्य घटाएको छैन । 
 
गत असोज ३ गतेदेखि मागअनुसार आयात गर्न नसकेको निगमले करिब चार महिनापछि मूल्य समायोजन गरेको हो । निगमले २०७१ भदौ १३ गते स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । 
 
स्वचालित मूल्य प्रणाली लागू गर्दै आएको निगमले मागअनुसार आपूर्ति गर्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि बिक्री मूल्यमा समायोजन गर्न सकेको थिएन । 
 
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल अमेरिकी डलर २८ रहेको छ । एक ब्यारेल बराबर १६२ लिटर हुन आउँछ । 
 
भारतको अघोषित नाकाबन्दीपछि रक्सौलबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ आयात भएपनि बजारको माग धान्न सकेको छैन । मुलुक भित्रने कुल परिणाममध्ये रक्सौल नाकाबाट मात्रै ७० प्रतिशत पेट्रोलियम पदार्थ आयात हुने गरेको थियो । सो नाका गत असोजदेखि ठप्प प्राय रहेको छ । 
 
अन्य नाकाबाट ३० प्रतिशत मात्रै आयात भएको अवस्थामा बजारमा अभाव भने कायम नै रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ