arrow

संयुक्त कार्यदलको बैठकमा 'खासै' छलफल नहुँदा वार्ता निष्कर्षबिहीन

व्यवस्थापिका–संसद्को बैठक बस्नु अगावै सहमति हुने सम्भावना भने क्षीण

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
barta-toli.jpg.jpeg
काठमाडौँ। प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको आजको वार्ता बिना निष्कर्ष सकिएको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलको बैठकपछि बसेको कार्यदलको बैठकमा आइतबार नै उठेका केही विषयमा सामान्य छलफल भए पनि अन्य विषयमा कुनै कुराकानी नै हुन नसकेको जनाइएको छ । 
 
कार्यदलका सदस्य एवम् सङ्घीय समाजवादी फोरम नेपालका नेता डा मङ्गलसिद्धी मानन्धरका अनुसार कार्यदलको बैठकमा आज खासै छलफल हुन सकेन । 
 
प्रमुख तीन दलका तर्फबाट शीर्ष नेतृत्व तहमा नै छलफल जारी रहेको विचार व्यक्त भएको भन्दै उहाँले वार्ता परिणाममुखी बनाउनेतर्फ भन्दा अल्मल्याउने ढङ्गले प्रस्तुत भएको आरोप लगाउनुभयो । 
 
मोर्चाले आइतबारको बैठकमा सहमतिको आधार भन्दै छबुँदे प्रस्ताव पेस गरेको थियो । सोही प्रस्तावमाथि आजै शीर्ष नेतृत्वले छलफल गरेको थियो ।
 
प्रमुख तीन दल र मोर्चा सम्बद्ध कार्यदलले व्यवस्थापिका–संसद्को बैठक बस्नु अगावै सहमति गर्ने बताउँदै आएका छन् । तर शीर्ष नेतृत्व र कार्यदलको बीचमा समेत सहमति नभएको खण्डमा भोलि नै सहमति हुने आधार भने तयार हुन नसकेको डा मानन्धरले बताउनुभयो । 
 
कार्यदलका अर्का सदस्य एवम् तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश रायले पनि आजको वार्तामा कुनै ठोस प्रगति हुन नसकेको प्रतिक्रिया दिनुभयो । 
 
प्रमुख तीन दल र आन्दोलनरत मोर्चाका तर्फबाट आजै सहमति हुने धारणा सार्वजनिक भइरहेका बेला कार्यदलको वार्तामा कुनै प्रगति हुन नसकेपछि व्यवस्थापिका–संसद्को बैठक बस्नु अगावै सहमति हुने सम्भावना भने क्षीण भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ