- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुदूरपश्चिममा शिक्षा, रोजगारी, यातायात, स्वास्थ्यको समास्याले जटिल अवस्थामा छ । तर धेरै कुरामा सम्भावना बोकेको छ ।
२०५६ मा निर्वाचित तत्कालिन प्रतिनिधि सभामा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचित भएको बेला विकराल समस्या थियो । बाढी र नदी कटान प्रमुख समस्या थियो । महाकाली नदीले दुबै तिर दुःख दिएको थियो । अहिले बाढी नियन्त्रण भएको छ । दुबै तर्फ बाँध छ । चुरेबाट आउने खोलाहरुको कटानका धेरै ठाउँमा नियन्त्रण र नियन्त्रणको काम हुँदैछ । खानेपानीको विकराल अवस्था थियो त्यो बेला । अहिले खानेपानीको ट्याङ्की ठाउँठाउँमा निर्माण गरिएको छ ।
आवत जावतको व्यवस्था थिएन महेन्द्रनगरबाट दोधारा–चाँदनी जान । २०५६ मा दक्षिण एशियाकै नमूना पुल, उतापट्टी पनि झेलुङ्गे पुलहरुले गाउँ–गाउँ जोडेका छन् । शिक्षाको अवस्था नाजुक थियो । विभिन्न विद्यालय, क्याम्पस खुले । सुप विश्वविद्यालय स्थापना भयो । विश्वविद्यालयले पहाडी जिल्लाका १५ क्याम्पसलाई आंङ्गिक क्याम्पसको मान्यता दिएको छ, सरकारले सञ्चालन गर्ने गरी ।
महाकाली अञ्चल अस्पतालको स्तरोन्नती हुँदैछ तर त्यो थोरै मात्रामा भएको छ । स्वास्थ्य चौकीहरु बनेका छन् । महाकालीमा पुल, दोधारा–चाँदनीलाई खुल्ला बन्दरगाह र कञ्चनपुरलाई नेपाल भारतको बीचमा यातायात र व्यापारका रुपमा ठूलो नाका बनाउने प्रयास जारी छ ।
एयरपोर्ट सञ्चालनको प्रयास गरेको छ । श्रममन्त्री हुँदा यातायातको क्षेत्रमा प्रदेश नम्वर ७ अर्थात सुपमा बढीभन्दा बढी बजेट गएको छ । महाकाली नदीको पक्की पुल शिलान्यासको काम सम्पन्न भइसकेको छ । आयोजनाको कार्यालय बसेर काम थालनी भएको छ। प्रधानमन्त्री शेर बहादुर देउवाले शिलान्यास गरिसक्नुभएको छ। ४ लेनको पुल बन्दै छ। पुलबाट ६ लेनको ८ किलोमिटर बाटो बन्दै छ।
भारतका ठूला शहर कञ्चनपुरबाट नजिक छन् । चीनको सीमाना पनि अन्य ठाउँभन्दा नजिक छ । सडक र पुलले जोड्न सकिए चीनको सीम नाकाबाट दिल्ली पुग्न महाकाली नाका सहज हुन सक्छ। यसलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्न सकिन्छ भन्ने हाम्रो सोच हो । ५–७ वर्षपछि त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्न सकिन्छ । त्यसका लागि महाकालीको पुल निर्माण हुन लागेको हो । यो काम समयमै सम्पन्न हुन्छ । एक अरब रुपैयाँ म भौतिक योजना तथा निर्माण मन्त्रीमन्त्री हुँदा विनियोजन गरिएको छ । ठेकेदार कम्पनीले काम अघि बढाइसक्यो । तर खबरदारी आवश्यक भने छ । निर्माणमा चाहिने सामग्री कम्पनीले अर्डर गरिसकेको छ । अबको केहि बर्षमा महाकाली नेपालकै सबैभन्दा ठूलो व्यापारिक नाकामा रुपान्तरित हुने छ। यसबा लागि हो हाम्रो पहल।
गड्डाचौकीबाट ८ किमी ठूलो राजमार्ग बन्छ । सुखा बन्दरगाह बन्छ । चार लेनको पुल बन्ने छ । नेपालको सीमासम्म नेपालले उता भरतले बनाउँछ । भारतको राजमार्गसँग जोडिन्छ । दिल्ली र दिल्ली आसपासका औद्योगिकीकरण भएको भारतसँग नेपाललाई जोड्न सकिन्छ ।
नेपालमा पनि औद्योगिकीकरणको ठूलो सम्भावना हुन्छ । कञ्चनपुर देशकै ठूलो नाका बन्छ । त्यसले ७ नम्बर प्रदेश र समग्र नेपालको आर्थिक समृद्धि गर्छ । रोजगारीको सम्भावना ल्याउँछ । उद्योगधन्दा स्थापना हुन्छन् । युवाहरु स्वरोजगार हुन्छन् ।
अर्को योजना महाकाली नदीको किनारै किनार महाकाली करिडोर बनाएर चीनको सीमा नाका ताक्लाकोट जोड्ने । यो गर्न सके नेपाल–भारत–चीनबीच त्रिदेशिय व्यापारिक नाकाका रुपमा भविष्यमा स्थापित गर्न सकिन्छ भन्ने हाम्रो सोच छ । दिल्लीबाट ताक्लाकोट ७ सय किमि छ । यो सबैभन्दा बढी सम्भावना रहेको अत्यन्तै महत्वपूर्ण त्रिदेशीय नाका हो ।
सबैकुरा आर्थिक समृद्धि हो । यो हुन राजनीतिक, सामाजिक वातावरण अनुकुल हुन आवश्यक छ । शान्ति प्रक्रिया टुंगिएको छ । संविधान बनेको छ, मुलुकमा शान्ति छाएको छ । राजनीतिक निष्कर्षमा मुलुक पुगेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको छ । संघीयता, लोकतन्त्र, गणतन्त्र हुने र समावेशी चरित्रको राज्य व्यवस्था हुने गरेर राजनीतिक विषय निष्कर्षमा पुगेको छ । शान्ति प्रक्रिया र संविधान निर्माण कांग्रेसको नेतृत्वमा भएको छ। अव कांग्रेस कै नेतृत्वमा देशमा सम्बृद्धितर्फ लैजान जरुरी छ । कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान भन्ने नाराका साथ । राजनीतिक निकासका लागि विकास, मुलुकको समृद्धिका लागि विकास ।
१० वर्ष शसस्त्र द्धन्द र ५–७ वर्ष संविधान बनाउन खर्च भयो दुई तीन वर्ष यता संविधान कार्यान्वयनका कामहरु भए । अव विकास र समृद्धिको समय आयो । जसबाट जनतालाई धनी बनाउने बेला भएको छ । केही राष्ट्रिय एजेण्डा सम्पादन गर्नु पर्दा विकासको गतिविधि द्रुत गतिमा अघि बढेको थिएन् तर भइरहेका थिए । अव त्यो विकास गर्ने अवसर अव जनताले कांग्रेसलाई दिनु पर्छ ।
(लेखकसँगको कुराकानीमा आधारित)