arrow

सहमति नभए माघ ९ पछि मतदान, सदनकै छलफलले तीन दलको टाइमलाइन तोड्ने

तत्काल समस्या समाधान हुने सम्भावना न्यून

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
sansad-@@@.jpg.jpeg.jpeg
काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गर्ने भन्दै शीर्ष तीन दलले व्यवस्थापिका संसदको जारी संविधान संशोधन प्रक्रिया रोकेका छन् । संसद भवन नयाँ बानेश्वरमै बसेको मुख्य तीन दलका शीर्ष नेता र प्रमुख सचेतकहरुको बैठकले माघ ७ गतेसम्म सहमति खोज्ने र सहमति नजुटे माघ ९ पछि संविधान संशोधन प्रक्रिया मतदानबाट टुंगो लगाउने निर्णय गरेको छ । ७ गते बस्ने संसद बैठकबाट दफावार छलफल सुरु हुन्छ ।
 
छलफल कति लामो जान्छ त्यस अनुसार संशोधन विधेयकको टुंगो लगाउने तयारी हुन्छ । संसद सचिवालयका उपसचिव सुदर्शन कुईंकेलले हाम्राकुरासंग भने,‘७ गतेको संसद बैठकबाट छलफल सुरु हुन्छ, छलफलको आधारले विधेयक निर्णयार्थ पेश गर्ने विषयको टुंगो लाग्छ ।’ कुईंकेलको भनाई अनुसार दलहरुले भने जस्तो माघ ९ को संसद बैठकबाटै संशोधन विधेयक निर्णयार्थ पेश गर्ने विषय अनिश्चत छ । मधेसी मोर्चासंगको सहमति र सम्वादका आधारमा आगामी वातावरण तय हुने भएकाले तत्काल समस्या समाधान हुने सम्भावना न्यून छ ।  
 
शीर्ष नेताहरु र प्रमुख सचेतकको छलफलपछि संचारकर्मीसंग एमाले उपाध्यक्ष एवं रक्षामन्त्री भीम रावलले माघ ७ सम्म सहमति खोज्ने निर्णय भएको बताए । रावलले भने,‘आफुहरुले प्रस्ताव गरेको उच्च स्तरीय राजनीतिक समितिलाई पूर्णता दिऊँ र समितिले तयार पारेको सुझाव प्रतिवेदन अनुसार अघि बढौँ भनेकामा मधेसी मोर्चाका नेताहरु तयार भएनन् ।’ रावलले दुवै पक्ष सहमति निकट सम्म पुगेको जस्तो लागेको सुनाए । दुरी बढाऊँ भन्ने पक्षमा अझै आफुहरु नरहेको रावलको भनाई छ । रावलले भने,‘मधेसका साथीहरुले भने जस्तो तत्काल यो क्षेत्र यो प्रदेशमा यो जिल्ला यो प्रदेशमा भन्ने अवस्था छैन ।’ 
 
दलहरुको आग्रहमा जारी संविधान संशोधन प्रक्रिया रोक्न सभामुख ओनसरी घर्तीले तत्काललाई प्रक्रिया रोक्ने घोषणा गरिन् । ढिलो गरी सुरु भएको संसद बैठकमा ७ गते संविधान संशोधन विधेयकमाथि परेका संशोधन प्रस्तावमाथि दफावार छलफल हुनेबारे सभामुख घर्तीले निर्णय सुनाउने कार्यतालिका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ