arrow

इलाममा पोलिटेक्निक इन्ष्टिच्युटमा पढाइ शुरु

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
ilam.png

इलाम । इलाम नगरपालिकाको साँखेजुङस्थित रत्नकुमार वान्तवा पोलिटेक्निक इन्ष्टिच्युटमा आइतबारबाट पढाइ शुरू भएको छ । 

पोलिटेक्निक इन्ष्टिच्युटमा तीन वर्षे आइएसीएजी पशु विज्ञान विषयमा पढाइ शुरू भएको हो । ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चार वर्षअघि निर्माण थालिएको उक्त शिक्षालयमा करिब २० करोड खर्च भइसकेको निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष अम्बिका गौतमले बताए । 

पहिलो वर्ष पशु विज्ञान, दोस्रो वर्ष कृषि र वन तथा तेस्रो वर्ष खाद्य तथा डेरी विषयको पढाइ शुरू गरिनेछ । छुट्टाछुट्टै तीन विषयमा प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गराइने शिक्षालय मेची अञ्चलमा पहिलोपल्ट निर्माण भइरहेको हो । आइतबार इलाम नगरपालिका १ का वडाध्यक्ष गौतम, शिक्षालय प्रमुख होमनाथ अधिकारीले पढाइ सुचारू भएको घोषणा गरे । 

पशु विज्ञान विषय अध्ययन गर्ने ४० जना विद्यार्थी छन् । पाँचजना प्रशिक्षक रहेका छन् । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटिइ)अन्तर्गत निर्माण गरेको उक्त शिक्षालयमा निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको गौतमले बताए । आगामी वर्षसम्ममा निर्माण सम्पन्न हुनेछ । 

एक सय ५८ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा प्रशासनिक भवन, शैक्षिक, छात्रावास, आवास भवन बनाइएको छ । शिक्षालय निर्माणका लागि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल एक्लैले ५० रोपनी जग्गादान गरेका थिए भने स्थानीयवासीले एकसय रोपनीभन्दा बढी जग्गादान गरेका थिए । 

एक शैक्षिक सत्रमा तीन सय ६० विद्यार्थी अध्ययन गर्नसक्ने क्षमताको शिक्षालय मेची अञ्चलमै पहिलो हो । मेची राजमार्गसँगै जोडिएको साँखेजुङको रूम्दाली डाँडामा शिक्षालय निर्माण भएपछि आसपासका क्षेत्रमा चहलपहल शुरू भएको छ । यसअघि धनकुटा, भक्तपुर, जुम्ला, दाङ, दोलखामा प्राविधिक शिक्षालय स्थापना भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ