काठमाडौं । दिल्ली उपचारपछी स्वदेश फर्किएका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो फेरि विरामी परेका छन् । विराटनगरको जोगवनी नाकामा धर्नामा बसेका महतो प्रहरीसंगको झडपमा घाइते भएपछि डेढ साता अघि मात्रै दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई आइतबार मात्र नेपाल फर्किएका थिए । महतोे विराटनगर र धरानमा उपचार गराउँदै गर्दा पुरानो रोग उच्च रक्तचाप र सुगर कन्ट्रोल नभएको भन्दै दिल्ली हानिएका थिए ।
मंगलबार विहान मात्रै जनकपुर हुँदै सिरहाको लहान पुगेका महतो लहानको माडरमा बुधवार मोर्चाले गरेको कार्यक्रममा सहभागि हुन नसकेपछि विरामी परेको थाहा भएको हो । महतो अहिले लहानमा आराम गरिरहेका छन् । महतोलाई सन्चो नभएको तर अस्पताल भर्ना भने नभएको संगै रहेका सहमहामन्त्री देवेन्द्र यादवले हाम्राकुरालाई जानकारी दिए । उनले भने,‘चिकित्सकले जाँच गर्दा आराम गर्नु पर्छ भनेका छन्, अस्पतालमै भर्ना हुनु पर्ने अवस्था छैन ।’ काउकोमा चोट लागेकैले आराम गर्नु भर्ने ठाउँमा गतिविधिमा बढी सक्रिय भएपछि चक्कर लाग्ने समस्या आएको हो । महतोको रक्तचाप र सुगर फेरि बढ्ने क्रममा रहेको चिकित्सकहरुले बताएका छन् ।
दिल्लीमा अस्पालबाट बाहिर आउने वित्तिकै राजनीतिक भेटघाटलाई तीब्रता दिएका महतोले आराम गर्न मानेनन् । यस्तै, आइतबार दिल्लीबाट काठमाडौं झर्नेवित्तिकै भेटघाटमा लागेका महतो सोमबार सम्म भेटघाटमा व्यस्त भए । राजनीतिक दलहरुसंग उधारोमा सम्झौता नहुने भन्दै महतो आन्दोलन अघि बढाउने गरी मंगलबार विहान मात्रै तराई फर्केका थिए । यता, दलहरुले माघ ९ अघि सहमति गर्ने र त्यसपछि प्रक्रियामा जाने निर्णय गरेका छन् । तर, मोर्चाका मुख्य हस्तीहरु बाहिर छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर समेत खुट्टाको शल्यक्रियाका लागि दिल्ली पुगेका छन् ।