arrow

चार विधामा गरीबी निवारण कोष पत्रकारिता पुरस्कार २०७२ प्रदान

logo
प्रकाशित २०७२ माघ ६ बुधबार
sejon.JPG.jpeg
काठमाडौं । विभिन्न सञ्चार माध्यमका चार जना पत्रकारलाई यस बर्षको गरीबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ प्रदान गरिएको छ । बुधबार गरीबी निवारण कोषको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई पुरस्कृत गरिएको हो ।पुरस्कृत हुनेहरुमा नेपाली राष्ट्रिय छापा माध्यम विधामा कारोबार दैनिकका गजेन्द्र बुढाथोकी, अङ्ग्रेजी राष्ट्रिय छापा माध्यममा दी राइजिङ नेपालका योगेश पोखरेल, विद्युतीय सञ्चार माध्यम विधामा इमेज टेलिभिजनकी प्रज्ञा तिमिल्सिना र मोफसलको छापा माध्यम विधामा न्यु विरगञ्ज दैनिकका छठु शाह हुनुहुन्छ । पुरस्कृत सबैलाई रु. ४० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । कोषका उपाध्यक्ष युवराज पाण्डे र कोषका कार्यकारी निर्देशक नहकुल केसीले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । 
 
गरिबी निवारण तथा विकासका क्षेत्रमा सञ्चार माध्यमबाट समाचार प्रकाशन प्रसारण गर्ने पत्रकारलाई विगत तीन बर्षदेखि कोषले नेपाल आर्थिक पत्रकार समाज(सेजन)को सहकार्यमा पुरस्कृत गर्दै आएको छ । यस बर्षको पुरस्कारको निर्णायक मण्डलमा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधान, वरिष्ठ अर्थशास्त्री तेजबहादुर केसी र कोषका प्रतिनिधि श्रीराम सुवेदी रहनुभएको थियो ।  नेपालको गरीबी निवारणमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकोले कोषले सेजनसँगको सहकार्यमा पुरस्कार प्रदान गर्दै आएको कोषका उपाध्यक्ष पाण्डेले बताउनुभयो । गत बर्षभन्दा यस बर्ष सबै किसिमका सञ्चार माध्यमलाई समे्ट्ने लक्ष्यसहित पुरस्कारको विधा थप गरिएको उहाँले जानकारी दिनुभयो । गरीबी निवारका क्षेत्रमा आवश्यक अध्ययनका लागि आगामी दिनमा सेजनसँग थप सहकार्य गर्न कोष ईच्छुक रहेको उहाँको भनाई थियो । 
 
कार्यक्रममा कोषका पदेन सदस्य समेत रहनुभएका राष्ट्रिय योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले गरीबी निवारणका क्षेत्रमा सञ्चार माध्यमले पुर्‍याएको योगदानको सराहना गर्नुभएको थियो । सञ्चार माध्यमले अबका दिनमा सकारात्मक विकासका समाचारलाई जोड दिनुपर्ने उहाँको सुझाव थियो । कोषका कार्यकारी निर्देशक नहकुल केसीले विकास पत्रकारितालाई प्रोत्साहन गर्न यस्तो पुरस्कारको थालनी गरिएको बताउनुभयो । कार्यक्रममा विश्व बैङ्ककी प्रतिनिधि मिओ टाकडाले गरीबी उन्मूलनका लागि सञ्चार माध्यमले निरन्तर सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । सेजन अध्यक्ष गोकर्ण अवस्थीले गरीबी निवारणका क्षेत्रमा अझै पनि पर्याप्त काम हुन नसकेकोले कोषले यस तर्फ ध्यान दिनुपर्ने समय आएको बताउनु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ