arrow

ललितपुरको विकास नै मेरो मूल एजेण्डा हो : उदय राणा

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
udaya-shamsher-rana.jpg.jpeg

काठमाडौं । उदय शम्शेर राणा नेपाली काँग्रेसका युवा नेता एवं अहिलेका अर्थराज्यमन्त्री समेत हुन् । २०७० सालको चुनावमा सोही क्षेत्रबाट उम्मेदवारी दिएका राणा यसपालीको निर्वाचनमा पनि आफ्नो पुरानै क्षेत्रबाट उम्मेदवारी दिएका छन् । विकासप्रेमी तथा मतदाताहरुमाझ लोकप्रिय नेताको रुपमा रहेका राणा ले यो चुनावलाई कसरी लिएका छन् र उनको चुनावी तयारी कस्तो छ भन्ने विषयमा गरिएको कुराकानी तल प्रस्तुत गरिएको छ । 

चुनावी दौडधुप कस्तो छ ?

म आफै उम्मेदवार भएकाले स्वभाविक रुपमा व्यस्तता बढेको छ। अब त एक महिना पनि बाँकी छैन। दिनहुँ तीन चार वटा कार्यक्रममा पुग्नुपर्छ भने संगसंगै घरदैलो कार्यक्रम पनि चलिरहेको छ।

तपाईका एजेण्डा के हुन्?

म राजनीतिमा लागेको अरु कुनै स्वार्थले होइन। राजनीतिमार्फत देश र जनताको सेवा गर्नु नै मेरो ध्येय हो र म त्यसैका लागि सधैं नै लागिपरेको छु। म सत्तामा हुँदा होस् या बाहिर, जहिले पनि विकासका लागि सक्रिय भएर लागेको छु। त्यसकारण विगतमा झैं यसपटक पनि विकास र समृद्धिको मूल नारा लिएर म मतदाताहरुमाझ गएको छु।

तपाई यसअघि पनि निर्वाचित सांसद हुनुहुन्छ । कसरी मूल्याकंन गर्नुभयो आफ्नो कार्यकाललाई ?

जनताका अपेक्षाहरु धेरै छन्। तर राज्यसंग सीमित स्रोत छ। त्यसकारण एकै पटक सबै जनताका मागहरुको सम्बोधन गर्न सकिन्छ भन्ने होइन तर मैले चार बर्षमा जे जति काम गरे, गर्न सके त्यसप्रति जनता निराश पक्कै छैनन। चार बर्षमा मैले आफ्नो व्यक्तिगत पहलमा होस् या अन्य विभिन्न सरकारी गैरसरकारी संघसंस्थाहरुमार्फत, धेरै कामहरु भएका छन्। कतिपय काम बहुबर्षीय हुन्छन्, आजको भोली सम्पन्न हुँदैनन्। त्यसकारण मैले चार बर्षमा जति काम गरे, यसबाट म सन्तुष्ट छु। अझै धेरै गर्नुछ, त्यसैले पनि म यति बेला जनताका बीच विकासका कामहरुलाई अझै तिब्रता दिन र थप विकास गर्न मलाई मतदान गर्नुहोस् भनेर गएको भनिरहेको छु।

मतदाताहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ?

म २०७० सालमा एउटा उम्मेदवारका रुपमा मतदाताहरुका बीचमा जाँदै गर्दा धेरैले मलाई आशिष या निर्देशन दिएका थिए कि तिमी संविधान समयमै बनाउनु भनेर। म सदस्य रहेको संविधान सभाले समयमै संविधान बनायौं। जनताको प्रमुख जनादेश हामीले पुरा गर्यौं। त्यतिबेला स्थानीय तह जनप्रतिनिधिविहीन भएकाले एउटा सांसदको काँधमा धेरै जिम्मेवारी थियो। त्यसमा पनि मैले आफूलाई सधैं सक्रिय बनाए। यो पटक पनि जनताका बीचमा जाँदा उहाँहरुले मलाई धन्यवाद दिनुभएको छ र भन्नुभएको छ कि तपाईलाई हामी फेरी जिताउँछौं। विकासका लागि उदय शम्शेर चाहिन्छ भनेर जनता भनिरहेका छन्।

तपाईले गरेका महत्वपूर्ण कामहरु भनिदिनुहोस् न?

पहिलो काम त संविधान लेखन नै हो। पहिलो संविधान सभा संविधान जारी गर्न नसकेर भंग भएको थियो तर हामीे संविधान जारी गर्न सफल भयौं। यो देशका लागि ऐतिहासिक सफलता थियो। म पनि त्यो संविधानको हस्ताक्षरकर्ताको हैसियतले त्यसमा गर्व महसुस गर्छु। जहाँसम्म मेरो निर्वाचन क्षेत्रमा के के विकास भए भन्ने विषय छ, पहिलो कुरा त करिव ६ दशक अघि सुरु भएको कान्तिलोक पथ अलपत्र अवस्थामा थियो। काठमाडौंलाई तराईसंग जोड्ने छोटो दूरीको यो मार्ग निर्माण कार्य अगाडि बढ्न सकेको थिएन। म निर्वाचित भएपछि कान्तिलोकपथ निर्माणले गति लिएको छ। करिव चार अर्बको यो सडक निर्माण सम्पन्न भयो भने दक्षिण ललितपुरको विकासमा यो कोशेढुंगाासावित हुनेछ। अब कान्तिलोक छिट्टै निर्माण सम्पन्न हुन्छ। म अर्थराज्यमन्त्री पनि भएकाले मैले स्पष्ट भनेको छु कि बजेटको अभाव वा कुनै पनि बहानामा अब यो लोकपथ निर्माण रोकिनुहुदैन। यस्तै एडिबीको सहयोगमा ललितघुम्ती निर्माण कार्य भइरहेको छ। यसमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ। यस्तै टुंगुन करिडोर(भट्टेडाँडा देखि गोटिखेलसम्म जोड्ने बोटो), चन्दनपुर, ठूलादुर्लुङ, गिम्दी, आश्राङ हुदै बगुवा जाने बाटो। अन्य साना विकासका धेरै कामहरु भएका छन्। मैले माथि भनेका विकासका कामहरु ललितपुरको विकासका लागि ठूलो महत्व राख्ने आयोजना हुन्। विभिन्न गैरसरकारी संस्थाहरुमार्फत पनि काम भएका छन्।

बामगठबन्धनले चुनावी परिणामलाई असर पार्दैन?

अन्त के छ मलाई थाहा भएन। मेरो क्षेत्रमा बामगठबन्धनले मेरो विजयलाई रोक्न सक्दैन। जनताले कसैको अनुहार हेरेर होइन, उसले गरेको काम र योगदानलाई हेरेर मतदान गर्ने भएकाले मतदाताहरुलाई मतदान गर्न आतुर छन्। उदयको विकल्प अरु हुनै सक्दैन भन्नेमा जनता विश्वस्त छन्। २०४८ सालदेखि २०७० सम्म निर्वाचित सांसदहरु नेता त बने तर हाम्राका लागि केही पनि गरेनन् भनेर त्यहाँका स्थानीयहरु भनिरहेका छन्।

बामगठबन्धनलाई तपाईले कसरी लिनुभएको छ?

संविधान कार्यान्वयनमा हामी जाँदै गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यलाई लिएर चासो र चिन्ता उत्पन्न हुन थालेको छ। चुनावको मुखैमा लोकतान्त्रिक शक्तिलाई कजमोर बनाउने र संविधानको मर्मविपरीत देशलाई अधिनायकवादतर्फ लैजाने सोचका साथ यति बेला बामगठबन्धन भएको छ। उनीहरुले बामगठबन्धनको जे जसरी बचाउ गरेपनि यसले देशलाई फेरी पनि एकदलीय अधिनायकबादतर्फ धकेल्ेन त होइन भन्ने हामीलाई चिन्ता उत्पन्न गराएको छ। अब फेरी पनि हाम्रो पुस्ताले लोकतन्त्रका लागि कतै संघर्ष त गर्नुपर्ने होइन भन्ने संशय छाएको छ। मैले त यो निर्वाचनलाई लोकतन्त्रपक्षधर र अधिनायकवादपक्षधरब्ीचको जनमतसंग्रहका रुपमा लिएको छु।

कांग्रेसलाई किन मतदान गर्ने मतदाताहरुले?

यो देशमा भएका सबै राजनीतिक आन्दोलनको नेतृत्वकर्ता हो कांग्रेस। कांग्रेसकै नेतृत्वमा तत्कालीन विद्रोही माओवादी शान्तिप्रक्रियामा आएको हो। पहिलो संविधान सभा निर्वाचनपछि यो देशमा चार बर्षको अन्तरमा चार जना कम्यूनिष्ट प्रधानमन्त्री बने, आलोपालो राज्य चलाए तर देशलाई संविधान दिन सकेनन्। तर दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेपछि तत्कालीन पार्टी सभापति एवम प्रधानमन्त्री स्व. सुशील कोइरालाको नेतृत्वमा देशले संविधान पायो। स्थानीय तहको निर्वाचन कांग्रेसकै नेतृत्वमा भयो भने अब प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा हुँदैछ। यस्ता ऐतिहासिक कामको नेतृत्व गरेको जनताले पत्याएको पार्टी भएकाले म सबै मतदाताहरुलाई लोकतन्त्र रक्षाक लागि कांग्रेसको विजय अनिवार्य छ। त्यसका लागि कांग्रेसलाई मतदान गर्न अपिल गर्दछु। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ