काठमाडौं । आगामी माघ २९ गतेबाट अल नेपाल रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म ‘क्लासिक’को जोडी अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ अहिले चर्चामा छन् । फिल्ममा पहिलोपटक दृष्टिविहिन भूमिकामा देखिएका यो जोडी आफ्नो अभिनयको बारेमा दर्शकको प्रतिक्रिया कस्तो होला भनेर रिलिज मिति कुरेर बसिरहेका छन् ।
कुनै समयमा रेखा थापासँग हिट जोडीका रुपमा चिनिएका आर्यन अहिले नम्रतासँगै त्यो भन्दा बढी चर्चामा छन् । फिल्म ‘मेरो एउटा साथी छ’बाट अनस्क्रिन रोमान्टिक जोडीको रुपमा पर्दामा आएका आर्यन र नम्रताको अनस्क्रिन रोमान्सको श्रृंखला फिल्म ‘क्लासिक’सम्म निरन्तर जारी छ । फिल्ममा रोमान्टिक जोडी भए पनि वास्तविक जीवनमा उनीहरु मिल्ने साथी पनि हुन् । आर्यन र नम्रता फिल्म क्षेत्रमा एउटै सोच राखेका कारण आफ्नो जोडी जमेको दाबी गर्छन् ।
‘मलाई नम्रतासँग काम गर्न सजिलो लाग्छ, उसको र मेरो काम गर्ने सोच र शैली मिल्छ, स्क्रिन बाहिर उसको प्रस्तुति जति राम्रो छ, स्क्रिनमा आउँदा त्यो भन्दा अब्बल पाउँछु,’ आर्यन भन्छन्,‘उसको सोच र प्रतिबद्धता आफैमा तारिफ गर्न लायक छ, जसकारण पनि फिल्ममा हाम्रो ट्युनिङ मिलेको छ ।’
नम्रता पनि आर्यनको कुरामा सहि थप्छिन् । ‘बाहिरी रुपमा आर्यनको व्यवहार म जस्तो पाउँछु, फिल्ममा अभिनय गर्दा त्यो भन्दा भिन्न छ, त्यसकारण पनि सायद हाम्रो क्यामेष्ट्री मिलेको छ,’नम्रताले भनिन्,‘म उसको अभिनयको फ्यान पनि हुँ, मलाई पनि उसले अभिनयको तरिका शेयर गर्छ, जसले गर्दा उसँग काम गर्न पनि सजिलो लाग्छ ।’
‘क्लासिक’मा यो जोडी दृष्टिविहिनको भूमिकामा देखिँदैछन् । त्यो भूमिकामा न्याय गरेको उनीहरुको दाबी गर्छन् । ‘शुरुमा दृष्टिविहिन चरित्रमा देखिँदा काम गर्न अप्ठ्यारो होला कि जस्तो लागेको थियो, तर फ्लोरमा जानु अघि गरेको वक्र्ससपले काममा केही सहजपन आयो,’आर्यनले खुलाए,‘दृष्टिविहिन र आँखा देख्ने मान्छेमा मलाई खासै भिन्नता लागेन, दृष्टिविहिनले आँखा नदेखे पनि उसको काम गर्ने सोच आँखा देख्ने भन्दा कम हुँदैन रहेछ ।’
फिल्मका निर्देशक दिनेश राउतले फिल्मको सुटिङ गर्दा आर्यन र नम्रता दृष्टिविहिनको भूमिकामा डुबिरहने खुलाए । ‘अरु फिल्ममा आर्यन आर्यनकै रुपमा देखिन्थ्यो, तर यो फिल्ममा आर्यन पात्रका रुपमा देखिन्छ, आर्यनका रुपमा देखिँदैन ।’ दिनेशले भने । फिल्मका निर्माता सुवास गिरी पनि फिल्मबाट सन्तुष्ट छन् । आर्यन र आफु मिलेर निर्माण गरेको अघिल्लो फिल्म ‘नोभेम्बर रेन’ भन्दा फिल्म ‘क्लासिक’ राम्रो बनेको उनले जिकिर गरे । ‘नोभेम्बर रेन बनाउँदा पक्कै केही कमि कमजोरी भएको थियो, फिल्ममा पैसा लगाउँदा पनि डराई डराई लगाएको थिएँ, तर फिल्मले सोचे भन्दा राम्रो व्यापार ग¥यो र मुनाफा पनि दियो,’उनले भने,‘तर क्लासिकमा भने मैले निस्फिक्री रुपमा लगानी गरेको छु, किनकी लगानी रिकभर गर्छ भन्ने कुरामा म ढुक्क छु ।’ सुवास इन्टरटेनमेन्ट र आर्यन सिग्देल इन्टरटेनमेन्टको व्यानरमा फिल्म निर्माण गरिएको हो ।