काठमाडौं । इमेज च्यानलले वर्षेनी आयोजना गर्दैै आएको ‘इमेज अवार्ड’को १७ औं संस्करण आगामी फागुन १ गते राजधानीको आर्मी अफिसर्स क्लबमा हुने भएको छ । राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले २३ विधाको मनोनयन सार्वजनिक गर्दै उत्कृष्ट पाँचमा पर्न सफल श्रष्टाहरुलाई प्रमाणपत्रसमेत वितरण गरेको थियो ।
कार्यक्रममा इमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले यस वर्ष ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट वरिष्ठ संगीतकार गणेश रसिकलाई सम्मान गरिने बताए । उनले इमेज अवार्डलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाउँदै इमेज अवार्डले इमेज च्यानलको गरिमा बचाई राख्न पनि सहयोग पु¥याएको दाबी गरे ।
लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुन लागेका वरिष्ठ संगीतकार रसिकले यस किसिमको कार्यक्रमले सांगितिक क्षेत्र तथा यसमा आवद्ध कलाकार तथा स्रष्टाहरुको सम्मान हुने बताए । अवार्डका लागि आयोजकले २०७१ असार १ गतेदेखी २०७२ साल जेठ मसान्तभित्र सार्वजनिक भई दर्ता भएका नेपाली गीत संगीतलाई मनोनयनमा समावेश गरी छनोट गरेको हो ।