arrow

सरकारको निर्णयविरुद्ध महासंघका पदाधिकारी पनि उत्रिए

महासंघको साझा चरित्र सहितको मर्यादित छवीमा गंम्भिर आघात पुगेकोमा चिन्ता

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
Krishna-Pradad.jpg.jpeg
काठमाडौं। कृष्णप्रसाद भट्टराईको नाममा स्थापित राष्ट्रिय आमसंचार प्रतिष्ठानको नामबाट कृष्ण प्रसाद भट्टराईको नाम हटाउने सरकारी निर्णयको नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले विरोध जनाएका छन्। महासंघको नेतृत्व प्रतिष्ठानको नाम हटाउन लागिपरेको बेलामा महासंघका पदाधिकारीहरुबाट यो वक्तव्य आएको हो। 
 
महासंघका उपाध्यक्ष अनिता विन्दु, सदस्यहरु माधव दुलाल, प्रकाश तिमिल्सिना, शितल महतो र रञ्जना पौडेलले एक संयुक्त वक्तव्य निकाली सरकारलाई यो निर्णय गराउनका लागि मद्धत पुर्याउने र प्रेरित गर्ने सन्दर्भमा नेपाल पत्रकार महासंघको नेतृत्वलाई समेत जोडेर आइरहेका समाचार तथा सार्वजनिक टिका टिप्पणीले महासंघको अहिलेसम्म जोगिएको साझा चरित्र सहितको मर्यादित छवीमा गंम्भिर आघात पुगेकोमा चिन्तित भएका उल्लेख छ। पत्रकार महासंघको विधानमा नै स्थापना दिवस २०१२ साल चैत्र १६ गते उल्लेख भएको र त्यस बखत महासंघका अध्यक्ष कृष्ण प्रसाद भट्टराई रहनु भएको सबैलाई अवगत भएको जान्दाजान्दै इतिहासलाई मेटाउने गरी अनावश्यक प्रचारवाजी हुनु दुखद भएको विज्ञप्तीमा जनाइएको छ।
 
विज्ञप्तीको पूर्ण पाठ यस प्रकार छः
 
मितिः २०७२।१०।०८
 
प्रेस बिज्ञप्ती
 
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्षहरु लगायत देशभरका पत्रकारहरुको आग्रहपछि यस अघिको सरकारले नेपाल पत्रकार महासंघको गौरवशाली इतिहाससँग जोडेर यसका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गर्ने निर्णय गरी बजेट बक्तव्यमा घोषणा भई सार्वभौम संसदले समेत पारित गरिसकेको अबस्थामा बर्तमान सरकारका सूचना तथा संचार मन्त्रीस्तरिय निर्णयबाट नाम परिवर्तन गर्दै राष्ट्रिय आमसंचार प्रतिष्ठान गठनको लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा सहमति लिन प्रस्ताव पठाएको बिषयप्रति हाम्रो गंम्भिर ध्यानाकर्षण भएको छ ।
 
कृष्णप्रसाद भट्टराई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष मात्रै नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पण गर्ने एक आर्दशबादी राजनेता हुनुहन्थ्यो । ब्रम्हलिन भइसकेका यस्ता व्यक्तित्वको नाम हटाउने निर्णयले नेपाल पत्रकार महासंघको गौरवशाली इतिहास र लोकतन्त्रका लागि जीवन समर्पण गर्ने एक राजनेताको अपमान समेत भएको छ । यस प्रकारको निर्णयको हामी घोर भत्र्सना गर्दै अविलम्व यस्तो प्रस्ताव फिर्ता लिन सरकारसँग जोडदार माग गर्दछौ ।
 
त्यस्तै सरकारलाई यो निर्णय गराउनका लागि मद्धत पुर्याउने र प्रेरित गर्ने सन्दर्भमा नेपाल पत्रकार महासंघको नेतृत्वलाई समेत जोडेर आइरहेका समाचार तथा सार्वजनिक टिका टिप्पणीले महासंघको अहिलेसम्म जोगिएको साझा चरित्र सहितको मर्यादित छवीमा गंम्भिर आघात पुगेकोमा हामी चिन्तित भएका छौ । पत्रकार महासंघको विधानमा नै स्थापना दिवस २०१२ साल चैत्र १६ गते उल्लेख छ । त्यस बखत महासंघका अध्यक्ष कृष्ण प्रसाद भट्टराई रहनु भएको सबैलाई अवगत भएकै बिषय हो । यो इतिहासलाई मेटाउने गरी अनावश्यक प्रचारवाजी हुनु दुखद पक्ष हो ।
 
महासंघको छवीमा आघात पुग्ने गरी संस्थापक अध्यक्षको नाम हटाउन मद्धत पुर्याएको वा भूमिका निर्वाह गरेको सन्दर्भलाई स्पष्ट पार्दै सरकारी गलत निर्णय बिरुद्ध सघर्षमा उत्रन र नेपाल पत्रकार महासंघको गौरवशाली इतिहास तथा साझा चरित्र सहितको छवी जोगाउन महासंघका केन्द्रीय अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु एवं देशभरका सबै पत्रकार साथीहरुलाई हार्दिक अपिल गर्दर्छौ ।
 
१. अनिता बिन्दु, उपाध्यक्ष नेपाल पत्रकार महासंघ
२. माधव दुलाल, सदस्य नेपाल पत्रकार महासंघ
३. प्रकाश तिमल्सिना, सदस्य नेपाल पत्रकार महासंघ
४. शितल महतो, सदस्य नेपाल पत्रकार महासंघ
५. रञ्जना पौडेल, सदस्य नेपाल पत्रकार महासंघ 
 



नयाँ