बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेद्वारीबाट पछि नहट्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाद्वारा आयोजित बृहद कार्यकर्ता भेलालाई शुक्रवार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले सुशिल कोइराला र शेरबहादुर देउवालाई पार्टी सभापतिका रुमा कार्यकर्ताले देखिसकेको हुँदा आफूले नयाँ योजना र कार्यक्रमकासाथ पार्टीलाई अघि बढाउन सभापतिमा उम्मेद्वारी दिने घोषणा गरे।
कांग्रेसले एमालेसँगको सत्ता गठबन्धनमा टाँस्सिएर आफ्नो लोकतान्त्रिक छवि र पहिचान गुमाउन नचाहेको भन्दै राष्ट्रपति गुमाएर पनि राष्ट्र बचाउने कार्यमा कांग्रेस अघि बढेको नेता पौडेलले स्पष्ट पारे। लोकतन्त्रमा प्रमुख पार्टी र दोस्रो पार्टी मिलेर सत्ता गठबन्धन गर्नुभन्दा लोकतान्त्रिक अभ्यास अन्तरगत सत्ता र प्रमुख प्रतिपक्षको भूमिकामा रहनु नै उत्तम हुने ठानेर कांग्रेसले स्वच्छ प्रतिष्पर्धाको राजनीति रोजेको पौडेलको भनाई थियो ।
मधेश समस्या र भूकम्पले देशलाई गम्भिर असर पारिरहेको अवस्थामा ओली सरकारले देशलाई निकास दिनेभन्दा समस्या बल्झाउने काम गरिरहेको बताउँदै मधेशलाई नेपाल देशबाट टाढा पार्ने भन्दा सकिनेसम्मका उनीहरुका माग पुरा गरेर देशलाई एकढिक्का बनाइराख्न कांग्रेसले अग्रसरता लिने नेता पौडेलले बताए। एमालेसँग संविधान र प्रधानमन्त्री पद साट्ने कुनै भद्र, अभद्र केही सहमति भएकै थिएन भन्नुहुँदै नेता पौडेलले प्रधानमन्त्री ओलीको रवैयाले देश भड्खालोमा जान लागेको भन्दै चिन्ता व्यक्त गरे।
मिल्न लागेको वार्ता पनि केपी ओलीको अनिच्छाका कारण भाँडिएको प्रष्ट पार्दै नेपाली कांग्रेसले हालेको संविधान संशोधनको प्रस्तावमा एमालेले साथ नदिदा नै दलीय सहमति ओझेलमा परेको र देशमा समस्या उत्पन्न भएको पौडेलको दावी थियो । तस्करीबाट पैसा कमाउन ओली सरकारका मन्त्रीहरु तल्लिन रहेको सूचनाहरु आफूलाई प्राप्त भएको बताउँदै नेता पौडेलले भने–‘तस्करी र भ्रष्टाचारलाई मौलाउन दिने हो भने यो सरकारलाई प्रचण्डहरुले टिकाइराख्छन् ।’
कांग्रेसको १२औं महाधिवेशन पश्चात् सरकार परिवर्तनको संकेत गर्दै प्रचण्डको समर्थनमा बनेको सरकार प्रचण्डकै असहयोगमा ढल्ने पौडेलले दावी गर्नुभयो । सरकार सञ्चालनका क्रममा प्रचण्डका असन्तुष्टिहरुले सरकारको आयु लामो छैन भन्नेपनि संकेत गरिरहेको पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पौडेलले बताए।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य नरेन्द्रविक्रम नेम्वाङ, केशवकुमार बुढाथोकी, सांसदहरु सुधिरकुमार शिवाकोटी, अमृतलाल राजवंशी, उषा गुरुङ, युवा नेता विश्वप्रकाश शर्मा, अग्रज नेता डिल्लीप्रसाद सिटौला, नेपाल महिला संघ झापाका अध्यक्ष सुशिला ढकाल लगायतले नेपालमा सदैव कांग्रेसको नीति र विचारले जित हाँसिल गर्दै रहेको हुँदा नीति अनुसारको कार्यक्रम लिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाली कांग्रेस झापाका उपसभापति देउमान थेवेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सह–सचिव लक्ष्मण खड्काले गर्नुभएको थियो ।