'भिष्म पितामहलाई ढाल्ने तेस्रो लिंगीका सामु दुर्योधन चरित्रका कम्युनिष्टहरु टिक्दैनन्' : भूमिका श्रेष्ठ
प्रकाशित २०७४ मंसिर १० आइतबार
682
Shares
काठमाडौ। चर्चित कलाकार तथा यौनिक अल्पसंख्यकको हितमा समर्पित ब्ल्यू डायमण्ड सोसाइटीकी भूमिका श्रेष्ठले नेपालभरका तेस्रो लिंगी नागरिकको समर्थन नेपाली कांग्रेसलाई भएकोले चुनावी मैदानमा अब भिष्मपितामह नै आएपनि ढल्ने र दुर्याधनहरुको त नासै हुने बताइन् ।
नेपाली कांग्रेसको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचारप्रसार समन्वय उपसमितिले आइतबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको बुद्धिजीवी तथा व्यवसायिक भेलामा कलाकार भूमिका श्रेष्ठले सो कुरा बताएकी हुन् ।
उनले महाभारतको एक प्रसंग उल्लेख गर्दै भनिन्,“ महाभारतको धर्म युद्धमा नारी वा पुरुष कसैले पनि परास्त गर्न नसक्ने वरदान प्राप्त भिष्मपितामहलाई तेस्रो लिंगी शिखण्डीले धराशायी बनाएर ढालेका थिए, हामी अल्पसंख्यक तेस्रो लिंगी सबै नेपाली कांग्रेसको पक्षमा लागेकोले चुनावी मैदानमा कम्युनिष्टहरुको हार निश्चित छ ।”
प्राध्यापक,शिक्षक, प्रशासक, योजनाविद्,अर्थशास्त्री, इञ्जिनियर, वकिल,पत्रकार,कलाकार लगायतका बुद्धिजीवी र व्यवसायीको बृहत् भेलामा कलाकार भूमिकाले ४० जिल्लामा संगठन रहेको र ६ देखि ७ लाख सदस्य रहेको ब्ल्यू डायमण्ड सोसाईटीले संस्थागत रुपमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको पनि बताइन् ।